
काठमाडौं । आगामी असोज १ गतेदेखि काठमाडौं उपत्यकामा विद्यालय सञ्चालन गर्न दिने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले उपत्यकाका विद्यालय असोज १ गतेदेखि सञ्चालन गर्ने अनुमति दिने निर्णय गरिएको जानकारी दिए ।
उनले भने, ‘सोमबार दिउँसो उपत्यकाका स्थानीय तहहरूबिच बैठकले भएको छ । स्थानीय तहको समन्वयमा नगर विकास समितिको सिफारिसमा असोज १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालय सञ्चालन गर्न दिने अनुमति दिने निर्णय गरेका छौँ । उपत्यकाका स्थानीय तहहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर कोभिडको अवस्था मूल्याङ्कन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन हुन्छन् ।’
विद्यालय सञ्चालन गर्दा विद्यालयहरूले अनिवार्य सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना भए नभएको भनेर नगरपालिकाहरूले नियमित नियमन गर्नुपर्ने उनले बताए । जिल्ला प्रशासन कार्यालयले अघिल्लो साता नै उपत्यकामा विद्यालय सञ्चालन गर्न सक्ने गरी आदेश जारी गरेसँगै स्थानीय तहहरूले विद्यालय खोल्ने तयारी गरेका हुन् ।
तर, अहिले नै विद्यालय सञ्चालन गर्न हतार गर्न नहुने पूर्व स्वास्थ्य सचिव खगराज बराल बताउँछन् । उनी भन्छन्, ‘अहिले कोरोना सङ्क्रमितको सङ्ख्या घटे पनि संक्रमणदर घटेको छैन । अहिले नै विद्यालय सञ्चालन गर्न हतार गर्नु हुँदैन । बरु छठ पछि विद्यालय सञ्चालन गर्दा उत्तम हुन्छ ।’
अन्य देशहरूमा अहिले पनि विद्यालय सञ्चालन नगरेको बताउँदै बराल भन्छन्, ‘विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गराउन गाह्रो छ । साँघुरा कक्षाकोठाहरू छन् । एउटै सिटमा तीन चार जना विद्यार्थी राखेर पढाउनु पर्ने स्थिति छ । बालबालिकाको स्वभावमा अझै परिवर्तन आएको छैन । दिनभर मास्क लगाएर बस्न पनि सक्दैनन् । यसले गर्दा सङ्क्रमण फैलन खतरा हुन्छ ।’
अहिले विद्यालय सञ्चालन गरे पनि नियमित पढाई नहुने उनले बताए । उनले भने, ‘असोज १ गतेदेखि विद्यालय सञ्चालन गरे पनि एक महिना पनि राम्रोसँग पढाई हुँदैन । अहिले विद्यालय सञ्चालन गर्दा महिना गणना मात्र हुन्छ । नियमित पढाई हुँदैन । दसैँ, तिहार, छठ बिदा हुने भएकोले राम्रोसँग एक महिना पनि पढाई हुँदैन । यसले गर्दा छठ पछि नै विद्यालय सञ्चालन गर्ने उत्तम समय हो ।’
अझै पनि हामी नेपालीमा स्वास्थ्य मापदण्डको पालना गर्न राम्रोसँग बानी नबसेको उनले बताए । ‘विभिन्न ठाउँमा ठुला ठुला पानी ट्याङ्की राखिएको छ । तर, पानी छैन, रित्ता छन् ट्याङ्की । साबुन पानीले हात धुनुस् भनिएको छ त्यहाँ साबुन नै छैन’, उनले भने, ‘विद्यालयमा त झन् साना बालबालिकालाई दिनभर मास्क लगाएर राख्नै सकिँदैन । कति बेला मास्क खोलिदिन्छन् । यसले गर्दा बालबालिकामा सङ्क्रमणको खतरा झन् बढ्छ ।’
प्रतिक्रिया दिनुहोस