aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

हवाई क्षेत्रको दुर्घटना न्युनिकरण गर्न अध्ययन समिति गठन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असोज २०७८
हवाई क्षेत्रको दुर्घटना न्युनिकरण गर्न अध्ययन समिति गठन

काठमाडौं । पछिल्लो समय एकै दिन बुद्ध एअरको विमानमा समस्या देखिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  मन्त्रालयले एक अध्ययन समिति गठन गरेको छ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  मन्त्रालयका समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीको अध्यक्षतामा बुधबार बसेको बैंठकले आन्तरिक हवाई उड्डयन क्षेत्रमा देखा परेको समस्या तथा चुनौतीबारे छानविन गर्न सरकारले एक समिति गठन गरेको हो । 

नागरिक उड्डयन प्राधिकरणका सहसचिव बुद्धि सागर लामिछानेको संयोजक रहेको ५ सदस्यीय छानविन समितिको गठन गरेको छ  । जसको सदस्यमा प्राधिकरणका  पूर्व निर्देशक भेषराज सुवेदी, बरिष्ठ क्याप्टेन कृष्ण बहादुर पौडेल क्षेत्री, पर्यटन मन्त्रालयका सिएटिसिअका प्रमोद नेपाल र प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा रहेका छन् । 

उक्त समितिले हवाई क्षेत्रमा हुने सक्ने सम्भावित दुर्घटनाबाट जनधनको क्षतिलाई रोक्न प्राधिकरणले चाल्न पर्ने कदम र सम्बन्धीत विमान कम्पनीहरूबाट भईरहेको पिरियोडिक मेन्टेसेन्स, अन्तर्राष्ट्रिय हवाई सुरक्षा नियम (आइकाओ) को मापदण्डको परिपालना लगायतका विषयलाई आधार बनाएर अध्ययन बताइएको छ । 

नेपालको आकाश भएर हवाई उडान भर्ने आन्तरिक वा बाह्य दुबै विमान कम्पनीहरुको भौतिक, यान्त्रिक र अभिलेखिकरणको अध्ययन गर्ने प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

त्यस्तै, समितिले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) बाट स्वीकृत मापदण्ड वायुसेवा कम्पनीले पालना गरेको वा नगरेका बारेमा प्राधिकरणले गरेको परीक्षण प्रतिवेदनकोसमेत पुनरावलोकन गर्ने जिम्मेवारी समितिलाई छ । त्यस्तै वायुयान चालक दलका सदस्यसम्बन्धी मापदण्ड पालना भएको वा नभएका बारेमा पनि समितिले परीक्षण गर्नेछ ।
     
प्राधिकरणले पालना गर्नुपर्ने सुरक्षासम्बन्धी कामको अध्ययन गरी हवाइ सुरक्षाको गुणस्तर बढाउन समितिले सुझाव दिनेछ । नेपालको हवाई सेवालाई भरपर्दो र विश्वसनीय बनाई आम नागरिक र पर्यटकको सुरक्षा सुनिश्चित गर्नुपर्ने दायित्व हुन्छ । नेपालमा सञ्चालित हवाइजहाज र हेलिकप्टरमा विभिन्न समयमा समस्या देखिने गरेको छ । 

यही सोमबार काठमाडौँबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाजको ल्यान्डिङ गियरसँग सम्बन्धित समस्याका कारण विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि पुनःकाठमाडौँ फर्काएर सामान्य अवस्थामा अवतरण गराइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस