aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
१२ औँ विश्वकप क्रिकेट फाइनल

इंग्ल्यान्ड विश्वविजेता, दुईपटक ‘टाइ’, न्युजिल्याण्ड बाउन्ड्रीमा चुक्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
इंग्ल्यान्ड विश्वविजेता, दुईपटक ‘टाइ’, न्युजिल्याण्ड बाउन्ड्रीमा चुक्यो

निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि इंग्ल्याण्डले बाउण्डीका आधारमा विश्वकप क्रिकेटको उपाधि हात पारेको छ ।

रोमाञ्चक फाइनलको निर्धारित ५० ओभर र सुपर ओभरमा दुबै टोलीले समान रन बनाएको थियो । त्यसपछि च्याम्पियनको छनोट बाउन्ड्रीका आधारमा लिइयो, जसमा इंग्ल्याण्डले बाजी मार्यो ।आइतबार लन्डनमा भएको उपाधि भिडन्तमा न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक च्याम्पियन बनेको हो। 

सुपर ओभरमा इङ्ल्यान्डले १६ रनको लक्ष्य दिएको थियो। न्युजिल्यान्डलाई अन्तिम बलमा दुई रन आवश्यक रहेपनि मार्टिन गुप्टिलले एक रनमात्र लिन सके। दोस्रो रन लिन खोज्दा रनआउट भएका थिए। त्यसअघि निर्धारित ५० ओभरको खेलमा दुई सय ४२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डलाई अन्तिम ओभरमा १५ रन आवश्यक थियो।

सन् १९७९, १९८७ र १९९२ को विश्वकपको फाइनल पुगे पनि इंग्लिस टिम उपविजेतामै सीमित बनेको थियो। न्युजिल्यान्ड भने सन् २०१५ को फाइनलमा पुगे पनि अस्ट्रेलियासँग पराजित भएको थियो।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १५ रन जोड्यो। इंग्ल्यान्डका लागि बेन स्टोक्स र जोस बटलरले ब्याटिङ गरेका थिए भने न्युजिल्यान्डका ट्रेन्ट बोल्टले बलिङ गरेका थिए। स्टोक्सले १ चौका सहित ८ रन र बटलरले १ चौकासहित ७ रन जोडे। 

न्युजिल्यान्डका लागि सुपर ‌ओभर मार्टिन गुपटिल र जीमी निसमले ब्याटिङ गरेका थिए भने इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले बलिङ गरेका थिए।

पहिलो बल बाइड भयो। दोस्रो बलमा छक्का हिर्काएका निसमले पाँच बलमा १३ रन जोडे। अन्तिम बलमा न्युजिल्यान्डलाई २ रन चाहिएको थियो। जसमा २ रन लिने क्रममा मार्टिन गुपटिल रनआउट हुँदा इंग्ल्यान्ड विजयी भयो।

त्यसअघि इंग्ल्यान्ड र न्युजिल्यान्डले समान स्कोर बनाउँदा सुपर ‌ओभरबाट विजेताको टुंगो लगाइएको थियो। पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन जोड्यो। जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले पनि सबै विकेट गुमाउँदा २४१ रन नै जोड्यो। 

अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको इंग्ल्यान्डका लागि बेन स्टोक्सले न्युजिल्यान्डका ट्रेन्ट बोल्टलाई तेस्रो बलमा छक्का प्रहार गरे। चौथो बल ओभर थ्रो हुँदा ६ रन भएको थियो। पाँचौ बलमा २ रन लिने क्रममा अदिल रसिद रन आउट भएका थिए। अन्तिम बलमा जितका लागि १ रन चाहिएको अवस्थामा २ रन लिने क्रममा मार्क उड रनआउट भए। रनआउट भएसँगै इंग्ल्यान्ड ५० ओभरमा २४१ रनमा अलआउट भयो। 

बेन स्टोक्सले इंग्ल्यान्डका लागि सबैभन्दा बढी स्टोक्सले नटआउट ८४ रन जोडेपनि जितका लागि १ रन पर्याप्त हुन सकेन। उनले ९८ बलमा ५ चौका र २ छक्का हिर्काए।

जोस बटलरले ५९ रनको योगदान दिए। उनले ६० बलमा ६ चौका हिर्काए। ओपनर जासन रोए १७ रन र उनका पार्टनर जोनी बायस्टो ३६ रनमा लकी फर्ग्युसनबाट बोल्ड भए। जोए रुट ३० बलमा ७ रन र कप्तान इयान मोर्गान २२ बलमा ९ रन जोडेर आउट भए।

क्रिस ओएक्स २ रन, लियाम प्लङ्केट १० रन र जोफ्रा आर्चर शून्यमा आउट भए। बलिङमा न्युजिल्यान्डका जिमी निसम र लकी फर्ग्युसनले ३-३ विकेट लिए। मार्ट हेनरी र ग्रान्ड डेहोमले १-१ विकेट लिए। अन्तिम ओभरमा २ ब्याट्सम्यान रन आउट भए। 

त्यसअघि लन्डनस्थित लर्डसमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन जोड्यो।

न्युजिल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान हेनरी निकोल्सले ५५ रनको योगदान दिए। उनले ७७ बलमा ४ चौका प्रहार गरे।

ओपनर मार्टिन गुपटिल १९ रनमा आउट भए। कप्तान केन विलियमसनले ३० रनको योगदान दिए। रोश टेलर १५ रन बनाएर खेलिरहदा जोन उडको एलबिडब्लुको धरापमा परे। जिमी निसमले २५ बलमा ३ चौकाको मद्दतमा १९ रन र कोलिन डे ग्रान्डहोमले १६ रन बटुले। टम लाथम ४७ रन बनाएर आउट भए। उनले ५६ बलमा २ चौका र १ छक्का हिर्काए।

बलिङमा इंग्ल्यान्डका क्रिए ओएक्स र लियाम प्लङ्केटले समान ३-३ विकेट लिए। जोफ्रा आर्चर र मार्क उडले १-१ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस