
काठमाडौँ। माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको आज राति फाइनल खेल हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे शुरू हुनेछ । फाइनलमा नेपालले भारतको सामना गर्नेछ । ७ पटकको विजेता भारतसँग नेपालले जितेर इतिहास रच्ने अवसर पाएको छ।
यसअघि नेपालले भारतसँग १–० को हार व्यहोरेको थियो । त्यसको बदला लिने अवसर पनि हो नेपालका लागि ।नेपाल साफ च्याम्पियनसिपमा पहिलोपटक फाइनलको यात्रा तय गरेको हो।
आजको फाइनलमा नेपाली टिमका प्रमुख स्ट्राइकर अञ्जन विष्ट अनुपस्थित रहने भएका छन् ।च्याम्पियनसीपका पछिल्ला दुई म्याचमा पहेँलो कार्ड खाएको हुँदा उनले फाइनल खेल्न नपाउने भएका हुन् । भारतविरुद्धको खेलको अन्तिम समयमा उनलाई रेफ्रीले पहेँलो कार्ड देखाएका थिए । यस्तै, बंगलादेशविरुद्धको अन्तिम खेलको ४४ औं मिनेटमा पनि उनले पहेँलो कार्ड पाएका थिए ।
यसै बीच साफले नेपालका प्रमूख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि आजको फाइनल खेलमा टचलाइनमा बस्न रोक लगाएको छ । अल्मुताइरीले पनि दुई म्याचमा पहेँला कार्ड खाएका थिए । यद्यपि साफको नियमावली अनुसार रेफ्रीलाई यस्तो कारवाही गर्न नमिल्ने भन्दै अल्मुताइरीले विरोध जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस