aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

पर्यटकीय रामकोट संरक्षण गरिँदै

  • रासस
    रासस
  • मंगलबार, ०९ कार्तिक २०७८
पर्यटकीय रामकोट संरक्षण गरिँदै

बलेवा । धार्मिक गन्तव्य र पर्यटकीय क्षेत्रका रुपमा चिनिएको रामकोटमा पर्यटक भित्र्याउन आसपासका पूर्वाधार निर्माण गरिएको छ । बागलुङको काठेखोला गाउँपालिका–५ को बिहुँमा रहेको रामकोटमा त्रिपुरेश्वर महादेव मन्दिरसमेत छ । यो स्थानको संरक्षणका लागि स्तरीय सडक र होमस्टेमार्फत पाहुना राख्ने व्यवस्थापन गरिएको वडाध्यक्ष शिवप्रसाद कँडेलले बताए । 

देवघाटधामका सञ्चालक ज्ञानानन्द सरस्वतीको जन्मस्थल भएकाले यो क्षेत्र धार्मिक रुपमा बढी प्रसिद्धि छ । यहाँको त्रिपुरेश्वर मन्दिर गण्डकी प्रदेशकै अग्लो भएको दाबी गरिएको छ । यहाँ पाँच हजार ५५५ केजीको शिवलिङ्गसमेत स्थापित छ । सयौँ रोपनी जमिनको क्षेत्रमा रहेको यो मन्दिर र जङ्गल तथा जङ्गली जनावरसमेत संरक्षित छन् । 

रामकोटको जङ्गलमा चितुवा, मृगलगायत जनावर र कालिजलगायत पक्षी संरक्षित छन् । अहिले उक्त मन्दिर र आश्रम रहेको स्थानमा आवादि पातालो भएकाले चोरी–सिकारी बढेको छ । प्राकृतिक रुपमा बनेको जङ्गल र बीच भागमा निर्मित मन्दिरबाट दर्जनभन्दा बढी हिमाली चुचुराहरु देखिन्छ । 

त्यस्तै जङ्गलसहित काठेखोला गाउँपालिकाका आठवटै वडा, बागलुङ नगरपालिका तथा पर्वतका धेरै स्थान सजिलै देखिन्छ । “पर्यटकीय दृष्टिले यो क्षेत्र धेरै राम्रो छ तर आवश्यक पूर्वाधार र तारबार हुन आवश्यक छ”, वडाध्यक्ष कँडेलले भने, “अहिलेसम्म राज्यको केही लगानी नभएकाले भएका पूर्वाधारहरु जीर्ण भएका छन् ।” जङ्गल र जङ्गली जनावरहरु चोरी–सिकारमा परेको उनले टिप्पणी गरे । 

वडा तहको बजेटले सयौँ रोपनी जमिनलाई घेराबार लगाउन नसकिने भएकाले गाउँपालिका र प्रदेश सरकारसम्म माग गर्नुपर्ने उनले बताए। “कार्ययोजना बनाएर प्रदेश तहमा माग गर्नैपर्ने भएको छ,” कँडेलले भने, “धार्मिक आस्था र प्राकृतिक सौन्दर्य लोप भयो भने अर्बौंको सम्पत्ति नष्ट हुनेछ ।” यहाँ बसेका साधुसन्तले हातमै आहारा राखेर कालिज, परेवा र अन्य चराचुरुङ्गीलाई दिने गर्छन् । सयौँ चराहरु मानिसझैँ आएर आश्रममै बस्ने गरेकाले त्यही दृश्य हेर्न पनि धेरै पुग्ने गरेका छन् ।

“दस वर्षअघिको अनुभवमा धेरै सम्पदाहरु क्षयीकरण भएको पाइयो,” काठेखोला–८ का सूर्य कँडेलले भने, “समयमा संरक्षण गरिएन भने अथाह प्रकृति लोप भएर जानेछ ।” सडक निर्माणका क्रममा रूख बुट्यान काटिएको, पहिलो नियन्त्रण गर्न नसकिएको र बहुमूल्य जडीबुटीसमेत चोरी भइरहेकाले तत्काल रोक्ने अभियान थाल्नुपर्ने उनले सुझाव दिए । 

गाउँपालिकाले यो वडालाई पर्यटन प्रवद्र्धनको गन्तव्य बनाउने योजना अगाडि सारेको छ । चालु वर्ष बजेट नभईकनै कार्यक्रमका रुपमा मात्र सूचीकृत गरिएकाले आगामी वर्षदेखि सम्बोधन हुने गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । “वडावडाका गौरवका योजना बनाएका छौँ, क्रमशः लगानी पनि गर्छौं,” थापाले भने, “स्थानीय बजेटले नभ्याउने कार्यक्रमको हकमा सङ्घ र प्रदेश सरकारमा माग गर्ने सोचाइ छ ।”

पर्यटकीय क्षेत्र भएकाले नेपाल पर्यटन बोर्डको समेत लगानी ल्याउनका लागि प्रस्ताव लेखन गर्ने उनले बताए। यो क्षेत्रकै छेउमा शिवधुरी, घोडाबाँधे, गाजा दह र धम्जामा समेत पर्यटनका कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिकाको पहलमा यहाँ नजिकै दुईवटा होमस्टे प्रवद्र्धन गरिएको छ । शिवधुरी होमस्टेले शिव मन्दिरको प्रचारसमेत गरेको छ । “होमस्टे बसेका पाहुनालाई बिहान रामकोट शिवमन्दिर जाने सल्लाह दिन्छौँ,” स्थानीय दुर्गा गैरेले भन्नुभयो, “बिहानी दृश्यावलोकनका लागि पनि यो क्षेत्र आकर्षक छ ।” 

प्रतिक्रिया दिनुहोस