aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

बाह्रकुने तालमा डुङ्गा सरर...

  • रासस
    रासस
  • विहीबार, ११ कार्तिक २०७८
बाह्रकुने तालमा डुङ्गा सरर...

देउखुरी । कोरोना महामारी कम हुँदै गएपछि दाङका पर्यटकीयस्थलमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । घोराही उपमहानगरपालिका–१३ सेवारमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाह्रकुने दह पर्यटकको रोजाइको क्षेत्र बनेको छ ।

तुलसीपुर–६ की सम्झना आचार्य बुधबार साथीसँग बाह्रकुने तालमा घुम्न आइन । “पुरानो डुङ्गाको ठाउँमा नयाँ डुङ्गा आएको रहेछ, साथीहरुसँग सेल्फी लिँदै जलविहार गर्दा मज्जा आयो”, उनले भने, “गाउँका अरु साथीलाई पनि बाह्रकुने जानु भन्छु । मन्दिर पुग्ने जोकोहीलाई डुङ्गाले झनै आकर्षक बनाएको छ ।”

घोराही–१४ का  विशाल पौडेल वनभोजका लागि साथीसँग बाह्रकुने पुगेका थिए । “वनभोजका लागि उपयुक्त स्थान छ । आधुनिक डुङ्गा देख्दा घुमौघुमौ लाग्योे, डुङ्गामा सरर ताल परिक्रमा गर्दा छुट्टै आनन्द आयो”, उनले भने ।

दाङसहित सल्यान, प्यूठान, रोल्पा, रुकुम र छिमेकी देश भारतबाट पनि उल्लेख्य मात्रामा भक्तजन आउने बाह्रकुने धार्मिक समितिका अध्यक्ष टेमन बुढाले जानकारी दिए । “धार्मिक र पर्यटकीय हिसाबमा मानिसको सहभागिता हुन्छ,  माघेसङ्क्रान्तिका दिनमा भक्तजनको ठूलो मेला लाग्ने गर्दछ”, उनले भने, “पुस महिनादेखि नै भक्तजनको उल्लेख्य सहभागिता हुने गर्दछ । दशैं, तिहारपछि वनभोज खानेहरुको भीडभाड नै हुने गर्छ ।” पछिल्लो समय विद्यार्थी, युवा र ज्येष्ठ नागरिकको बाह्रकुने ताल रोजाइको क्षेत्र बनेको छ ।

घोराही बजारबाट उत्तर–पश्चिम तीन किलोमिटरको दूरीमा रहेको दह पाँच हेक्टर जमिन छ । बाह्रवटा कुना रहेको सो ताल प्राकृतिकरूपमा निर्मित जानकार बताउँछन् ।  प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो ताल लुम्बिनी प्रदेशको नमूना तालमा पर्दछ । बजारबाट अटोरिक्सामा सजिलै यो ठाउँमा पुग्न सकिन्छ ।

सो तालमा काठका पुराना दुईवटा डुङ्गा थिए । पर्यटकको चाप भएको समयमा पालो कुरेर बस्नुपर्ने बाध्यता थियो । बाह्रकुने जल तथा यातायात प्रालिले आधुनिक चारवटा डुङ्गा सञ्चालनमा ल्याएको छ । एउटा डुङ्गामा चार जना बसेर शयर गर्न मिल्ने प्रालिका सचिव लीलाजीत नेपालीले जानकारी दिए ।

मन्दिर व्यवस्थापन समितिसँग पाँचवर्षे सम्झौता गरी तालमा आधुुनिक खालको फाइवरको डुङ्गा सञ्चालनमा ल्याएपछि पर्यटकलाई सजिलो भएको छ । प्रालिका अध्यक्ष जगत् दर्लामीले ताल घुम्न आउने पर्यटकलाई सेवा दिन आधुनिक डुङ्गा ल्याएको बताए।

स्थानीय चार युवाले  १२ लाख रुपैयाँ लगानी गरी डुङ्गा सञ्चालनमा ल्याइएको उनको भनाइ छ । डुङ्गामा सयर गदार्ए लगाउने लाइफ ज्याकेट र २० जनाको दुुर्घटना बिमासमेत गरिएको प्रालिले जनाएको छ । डुङ्गामा बसेर तालको एक फन्को लगाए ५० रुपैयाँ शुल्क तिर्नुपर्ने छ । ज्येष्ठ नागरिक र विद्यार्थीलाई २० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष दर्लामीले जानकारी दिए । यसअघि तालमा काठको डुङ्गा सञ्चालनमा रहेको थियो । वार्षिक ६० हजार रुपैयाँ प्रालिले मन्दिर संरक्षण समितिलाई बुुझाउने सम्झौता भएको छ । 

प्रतिक्रिया दिनुहोस