aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

आइफोन प्रयोगकर्तालाई टेलिकमको डाटा प्याकेज बण्डलिङ सेवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ कार्तिक २०७८
आइफोन प्रयोगकर्तालाई टेलिकमको डाटा प्याकेज बण्डलिङ सेवा

काठमाडौं । नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रा.लिको सहकार्यमा एप्पलको मोबाइल फोन (आइफोन) खरिदकर्ताहरुका लागि कम्पनीको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङ प्रालिका निर्देशक तरुण बज्राचार्यले हस्ताक्षर गरे । 

उल्लेखित सम्झौता अनुसार इभोलुसन ट्रेडिङका काठमाडौं उपत्यकामा रहेका ७ वटा र उपत्यका बाहिर सञ्चालन हुने आउटलेटहरुमार्फत आइफोन १३ वा सो भन्दा माथिल्लो भर्सनका आइफोन खरिद गर्ने ग्राहकलाई प्रतिमहिना ५ जीबी डाटा चलाउन मिल्ने प्याकेज १२ महिनाका लागि निःशुल्क उपलब्ध हुने टेलिकमले जनाएको छ । 

नेपाल टेलिकमका ग्राहकले हाल प्रयोग गरिरहेको नेपाल टेलिकमको पोस्टपेड वा प्रिपेड सिम नै नयाँ खरिद गर्ने आइफोन १३ मा प्रयोग गर्ने अवस्थामा उल्लिखित डाटा प्याकेज सोही सिममा उपलब्ध हुने छ । उक्त आइफोन १३ मा ग्राहकले नेपाल टेलिकमको नयाँ सिम लिई प्रयोग गर्न चाहेमा कम्पनीले नयाँ प्रिपेड सिम इभो स्टोर मार्फत निःशुल्क उपलब्ध गराउने जनाइएको छ ।

 यो सिममा मेन व्यालेन्स रु. १० र थप व्यालेन्स रु. ४० उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त थप व्यालेन्सबाट कम्पनीको नेटवर्क भित्र ४० मिनेट भ्वाइस कल र २० वटा सन्देशका साथै ६० एमबी डाटा एक महिनाभित्र उपयोग गर्न सकिनेछ । एप्लको नयाँ भर्सन आइफोन १३ प्रयोगकर्ताहरुलाई बण्डल गरिएको नेपाल टेलिकमको डाटा प्याकेज थप आकर्षण हुने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस