aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

फेसबुकको नाम परिवर्तन गर्ने घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ कार्तिक २०७८
फेसबुकको नाम परिवर्तन गर्ने घोषणा

एजेन्सी । फेसबुकले आफ्नो मुख्य कम्पनीको नाम परिवर्तन गर्ने घोषणा गरेको छ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मार्क जुकरबर्गले बिहीबार कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरेका हुन् । 

सीईओ जुकरबर्गले नयाँ नामले कम्पनीको भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताएका छन् । कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने पनि उनले बताएका छन् । फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ ।

फेसबुकले अब सामाजिक सञ्जालभन्दा बाहिरका क्षेत्रमा पनि आफ्नो काम विस्तार गर्ने जनाएको छ । जसका लागि नयाँ नाम चाहिएको पनि उसले जनाएको छ । फेसबुकले केही समय अगाडि मात्रै भर्चुअल रियालिटीका क्षेत्रमा काम गर्ने गरी विकास गर्न लागेको ‘मेटाभर्स’ प्रोजेक्टका लागि युरोपमा १० हजार कर्मचारी नियुक्तिको तयारी गरेको घोषणा गरेको थियो ।

अहिले भर्चुअल रियालिटी प्राय गरेर गेम खेल्नका लागि प्रयोग हुने भए पनि मेटाभर्समा भने खेल, कार्यक्रम आयोजना, चलचित्र हेर्न वा गफगाफका लागि समेत सहज हुने बताइएको छ । मेटाभर्स अहिले एउटा सोच भएकाले ठ्याक्कै यही हो भनेर परिभाषित गर्न कठिन हुने पनि प्रविधि विश्लेषकहरूको भनाइ छ ।

मार्क जुकरबर्गले १७ वर्षअघि सन् २००४ मा फेसबुक स्थापना गरेका थिए । त्यतिबेला उनी हार्वर्डका विद्यार्थी थिए । शुरुमा उनले कलेज क्याम्पसका मानिसहरूलाई यससँग जोडे । सुरुमा यसको नाम द फेसबुक थियो । पछि यसको नाम फेसबूक राखियो । २००६ मा, फेसबुकमा केहि नयाँ सुविधाहरू थपियो । नयाँ फिडका साथसाथै साथीहरूले पोस्ट गरेका फोटोहरू, भिडियोहरू र स्टेटस अपडेटहरू महत्त्वपूर्ण सुविधाहरू थिए ।  २००९मा फेसबुकले लाइक बटन थप्यो । यो सानो औंला सामाजिक सञ्जालमा मानिसहरूको उपस्थितिको सबैभन्दा ठूलो प्रतीक बन्यो ।

प्रतिक्रिया दिनुहोस