aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पोखरा म्याराथनको विजेतालाई चार लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ कार्तिक २०७८
पोखरा म्याराथनको विजेतालाई चार लाख

पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशिमा शत्प्रतिशत वृद्धि गरेको छ भने सुजल डेरीको उत्पादन सफल दूधले मुख्य प्रायोजनका लागि निरन्तरता दिने दिएको छ ।  

मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फका खुल्ला ४२.१९५ किमी म्याराथनतर्फ प्रथम पुरस्कार चार लाख नगद पुर्याइएको घोषणा गरिएको हो । यो पुरस्कार राशि गत वर्षको भन्दा दोब्बर हो । आगामी फागुन १९ गते पोखरामा आयोजना हुने १६औँ संस्करणको पोखरा म्याराथनतर्फ हुने सबै २१ किमी महिला हाफ म्याराथनबाहेक महिला पुरुष १० किमी र छात्रछात्रा पाँच किमी,  ह्विल चियर तथा दृष्टिविहीन दौडतर्फ गत वर्षको तुलनामा पाँच÷पाँच हजार रुपैयाँ राशिमा वृद्धि गरिएको हो । 

नेपालको म्याराथन इतिहासमा नै पोखरा म्याराथनमा पुरस्कार चार लाख पुर्याइएको दाबी गर्दै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले ४२.१९५ किमीतर्फको दोस्रो पुरस्कार दुई लाख, तेस्रो हुनेले एक लाख र सान्त्वनातर्फ ३० हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दिए ।

सबै विद्यातर्फ गरी कूल २८ जना पुरस्कृत हुनेछन् । पुरस्कार राशि वृद्धि गरिएको बताउँदै उनले भने, “गत वर्ष पुरस्कार राशि कूल आठ लाख रहेकामा यो वर्ष सबै विद्यागत रुपमा बढाउँदा १२ लाख ३० हजार पुर्याएका छौँ ।”

पुरस्कार राशिमा वृद्धिले दक्षिण एसियाली देशका धावकसँगै अन्य अन्तर्राष्ट्रिय धावकहरुलाई आकर्षण गर्न सहयोग पुग्ने धारणा अघि सार्दै मञ्चका अध्यक्ष पराजुलीले भने, “म्याराथनको माध्यमबाट पोखरालाई विश्वमा परिचित गराउन सफल हुने विश्वास लिएका छौँ ।”

आगामी तीन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता गराउने योजनासँगै प्रथम पुरस्कार राशि १० लाख पुर्याउने लक्ष्यका साथ अघि बढेको बताउँदै उनले अभियान पूरा गर्न सङ्घ, प्रदेश, स्थानीय सरकार र प्रायोजक सङ्घसंस्थाहरु र सरोकारवालाहरुको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस