
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको कार्यकारी अध्यक्ष छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ । सिफारिस भएका व्यक्तिमा हाल प्राधिकरणको निमित्त अध्यक्ष पुरुषोत्तम खनाल, डा. नन्दविक्रम अधिकारी र दीपकराज जोशी रहेका छन् । यी तीनमध्ये मन्त्रिपरिषदले एकजनालाई प्राधिकरणको अध्यक्षमा चार वर्षका लागि नियुक्त गर्नेछ । सिफारिस भएका अधिकारी त्रिभुवन विश्वविद्यालयका कर्मचारी हुन् भने जोशी कांग्रेस नेता गोविन्दराज जोशीका छोरा हुन् ।
प्राधिकरणको अध्यक्षमा १२ जनाले प्रतिस्पर्धा गरेका थिए । तीमध्ये तीनजनालाई छनोट गरी सिफारिस गरिएको हो । प्रतिस्पर्धामा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक बुद्धि आचार्य, टेलिकमका पूर्वडीजीएम मधुसुदन कर्माचार्य, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की,गोविन्दप्रसाद दाहाल, डिल्लीप्रसाद चौधरी, देवनारायण यादव, रोहित रौनियार र प्रकाश बराल र अनिलकुमार झा रहेका थिए ।
प्रतिक्रिया दिनुहोस