aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

‘प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता –२०७८’ हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ मंसिर २०७८
‘प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता –२०७८’ हुँदै

काठमाडौं । नेपाली सेनाले ‘प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता– २०७८’ सञ्चालन गर्न लागेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही मङ्सिर २७ देखि आगामी पुस ५ गतेसम्म सञ्चालन हुने जानकारी दिइयो ।

प्रतियोगिता आर्मी अफिसर्स क्लबका दुई कोर्ट र नेपाल लन टेलिस सङ्घको दशरथ रङ्गशालास्थित दुई कोर्टमा सञ्चालन गरिने सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले जानकारी दिए । खुलातर्फ पुरुष सिङ्गल र डबल, महिलातर्फ सिङ्गल र डबल तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्षमाथि समूहका सिङ्गल तथा डबल प्रतियोगिता हुनेछन् । 

मुलुकको टेनिस खेलको विकास र विस्तारमा सहयोग पुर्याउने हेतुले आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा नेपाल लन टेनिस सङ्घको प्राविधिक सहयोग रहनेछ । प्रतियोगितामा अन्तर सरकारीतर्फ पुरुष डबल खुल्ला हुने छ । तहगतरुपबाटै प्रभावकारी योजनासहित खेलाडीको सीप, कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको प्रतियोगितामा क्लबबाट खेलाडी सहभागी हुनुपर्नेछ । विजेता क्लबलाई नगद पुरस्कार, ट्रर्फी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा भाग लिने खेलाडीले सिङ्गलतर्फ रु एक हजार ५०० सय र डबलका लागि दुई हजार रुपैयाँ दर्ता शुल्क कायम गरिएको छ ।

प्रतियोगितामा मेन्स र विमन सिङ्गल्सतर्फ विजयी, रनर अप र सेकेन्ड रनरअपलाई क्रमश ५० हजार रुपैयाँ, २५ हजार रुपैयाँ र १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । मेन्स र ओमन डबलतर्फ विजयी, रनर अप तथा सेकेन्ड रनरअफ हुनेलाई क्रमश ४० हजार रुपैयाँ, २० हजार रुपैयाँ १० हजार रुपैयाँ नगदसहितको पुरस्कार प्रदान गरिने छ । 

भेट्रान्सतर्फ ३५ वर्ष समूहको सिङ्गलतर्फ विजयी, रनरअप र सेकेन्ड रनर अप हुनेले क्रमश ३० हजार रुपैयाँ, १५ हजार रुपैयाँ र १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । सङ्घका अध्यक्ष ज्योति रानाले ग्राउण्ड र कोर्ट नभएका कारण जताततै खेल्न नमिल्ने भए पनि बच्चादेखि नै धेरै संलग्न हुने खेलका रुपमा टेनिस रहँदै आएको बताए ।

महासचिव मनोहरदास मुलले एउटा कोर्ट बनाउन मिलेको जग्गा भएमा डेढ रोपनीमा बन्ने बताउनुभयो । कार्यक्रम चलाउन एउटा मात्र कोर्टबाट कठिन हुनेछ । मुलुकमा ३५÷४९ प्रशिक्षक र पाँच छ सयको व्यावसायिक खेलाडी रहेको जानकारी दिइएको छ । सङ्घका प्रशिक्षक कृष्णराम घलेले सन् १९५५ बाटै टेनिस खेल नेपालमा हँुदै आए पनि मुलुकका मुख्य–मुख्य सहरमा मात्रै सीमित रही आएको बताए ।

हरेक राष्ट्रिय खेलकूद प्रतियोगितामा टेनिस खेल सधैँजसो समावेश हुँदै आएको छ । गत दक्षिण एशियाली खेलकूद प्रतियोगितामा नेपालले टेनिसतर्फ वीमन सिङ्गल र डबलमा तेस्रो स्थानका साथ पदक प्राप्त गरेको थियो । टेनिस खेलको विकासका लागि बालबालिकादेखि नै खेल सिकाउन र निरन्तरता दिन आवश्यक रहेको प्रशिक्षक घलेले जानकारी दिनुभयो । विश्वमा फुटबल र टेनिस नखेल्ने मुलुक नै नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस