
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले शुक्रवार दक्षिण अफ्रिकाका सबै प्रान्तमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको जनायो । यो भेरिअन्ट नोभेम्बर ९ मा संकलित नमुनामा पहिलो पटक फेला परेको हो । सङ्गठनले पहिला यो भेरिअन्टलाई बी.१.१.१५९ को संकेतबाट चिनाएको थियो । कोरोनाको पछिल्लो भेरियन्टलाई ओमिक्रोन नामकरण गरिएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट अहिलेसम्म १० मुलुकमा फैलिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पछिल्लो विवरण अनुसार हालसम्म दक्षिण अफ्रिका लगायत १० वटा मुलुकमा ओमिक्रोनका संक्रमित फेला परिसकेका छन् । हालसम्म अष्ट्रेलिया, इटाली, जर्मनी, नेदरल्याण्ड, बेलायत, इजरायल, हङकङ, बेलिजयम लगायत विभिन्न देशमा फैलिसकेको छ ।
डब्ल्यूएचओले ओमिक्रोनलाई ‘चिन्ताको विषय’ भनेर विश्वभरी नै सतर्क रहन भनेको छ । अहिले कोरोनाको ओमिक्रोन भेरियन्टले विश्वलाई चिन्तित बनाएको छ । तीव्र संक्रामक र घातक देखिएको यो भेरियन्टले नेपालमा पनि थप त्रास सिर्जना गरेको छ ।
के छ नेपालको तयारी ?
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले बताए । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो ।
उनले ओमिक्रोन भित्रिन नदिन सरकारले उच्च सतर्कता अपनाउँदै यसको नियन्त्रणका लागि व्यापक कदम चाल्न र खोप अभियानलाई थप तीब्रता दिन थालिएको बताए । उनले भने, ‘कोरोना भाइरसको नयाँ भेरियन्टले हामी सबैलाई चिन्ताको विषय बनेको छ । यो भेरियन्टको प्रभावकारी व्यवस्थापनका लागि व्यापक नियन्त्रण, निगरानी, खोप लगाउने कार्यमा वृद्धि र कोभिडसम्बन्धी उपयुक्त व्यवहारलाई सक्रियताका साथ लागू गर्न आवश्यक छ ।’
साथै उनले नेपालमा हालसम्म यो भाइरसका संक्रमित नभेटिएको समेत जानकारी दिए । उनले भने, ‘नयाँ भेरियन्टबाट हालसम्म नेपालमा कुनै पनि संक्रमित फेला परेका छैनन । तर, नयाँ भेरियन्ट देखिएपछि नेपालमा पनि जुनसुकै बेला यसको संक्रमण देखिन्छ भनेर तिव्र तयारी गरिरहेका छौं ।’ नेपालमा अहिलेसम्म नदेखिए पनि फैलन सक्ने सम्भावना रहेको उनले बताए । अधिकारी भन्छन्, ‘तर हामी फैलिन नदिनका लागि तयारी अवस्थामा रहेका छौँ ।’
त्यस्तै, सहप्रवक्ता अधिकारीका भन्छन्, ‘हामीले पहिलोदेखि नै भन्दै आएका छौं की नयाँ भेरियन्ट जुनसुकै बेला पनि नेपाल आउन सक्छ । यसलाई मध्यनजर गरेर नै हामीले रोकथामको प्रयास गरिरहेका छौं ।’ साथै उनले अन्य देशहरुमा विदेशबाट फर्केकालाई अनिवार्य पिसिआर परिक्षण गर्ने, क्वारेन्टाइ बस्ने र स्वास्थ्यका मापदण्ड पालना गर्ने लगायत विशेष निगरानी गर्ने समन्वय भएको जानकारी दिए ।
उनका अनुसार नयाँ भेरियन्ट जहाँ पनि जन्मिन सक्ने र त्यो चाडै फैलन सक्ने भएकोले सतर्कता अपनाउन पर्छ । कोरोना संक्रमणको संख्या घट्यो भन्दैमा जोखिम कम भयो भनेर भिडभाड गर्ने, जनस्वास्थ्यका मापदण्डको उल्लङघन गर्ने कार्य भइरहेको छ । सरकारको पहिलो प्राथमिकता भनेको तिव्र मात्रामा खोप अभियान चलाउने र जनस्वास्थ्यका मापदण्ड पालना गराउने नै रहेको उनले बताए ।
नयाँ भेरियन्टको निगरानी बढाउने, परिक्षणको दायरा बढाउने, यो भेरियन्ट नेपाल भित्रिएको छ या छैन भनेर तिव्र परिक्षा गरेर पत्ता लगाउने व्यवस्था गर्ने तयारी थालेका उनले जानकारी दिए । ‘स्वास्थ्यकर्मी तयारी राख्ने, स्वास्थ्य संस्थामा बेडहरु तयारी अवस्थामा राख्ने लगायत कामहरु स्वास्थ्य मन्त्रालयले थालिसकेको छ’ उनले भने ।
उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकामा रहेका सहायता कक्षले विदेशबाट आउने व्यक्तिमा ओमिक्रोन भाइरसको सङ्क्रमण छ वा छैन भनेर निगरानीलाई तीव्र पारेको छ । यस्तै विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने गरिएको र ती व्यक्तिमा कस्तो लक्षण देखिएको छ, सोको पनि निगरानी गरिएको उनले बताए ।
त्यस्तै, नयाँ भेरियन्टलाई खोपले पनि काम नगर्ने भन्ने हल्ला मात्र रहेको अधिकारीले बताए । उनले भने, ‘बाहिर यस्तो हल्ला चलेको मात्र हो । नयाँ भेरियन्टबारे विभिन्न तथ्य आउन बाँकी नै रहेको छ । यसको थप गहिराइबारे पत्ता लागिसकेको छैन ।’ ओमिक्रोन भाइरस नयाँ भएकाले यो कति दु्रतगतिमा फैलिन सक्दछ र यसले कस्तो असर पार्दछ भनेर अध्ययन हुन बाँकी रहेको उनको भनाई छ ।
साथै, उनले खोप लगाउन बाँकी रहेका सबैले नजिकको खोप केन्द्रमा गएर खोप लगाउन समेत आग्रह गरे । उनले भने, ‘देशभर खोप अभियान चलिरहेको छ । खोप लगाउन बाँकी जतिपनि हुनुहुन्छ सबैले नजिकको खोप केन्द्रमा गएर खोप लगाउनु होला ।’
यता, कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रिकाबाट संक्रमण फैलिएको भन्दै नेपालले दक्षिण अफ्रिका र अफ्रिकी मुलुकबाट आउने सबैलाई प्रतिबन्ध लगाएको छ । यसअघि यी देशबाट आउने यात्रुलाई ७ दिन क्वारेन्टाइनमा राख्न निर्देशन दिइएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपाल र दक्षिण अफ्रिकाबीच सिधा उडान नभए पनि अन्य अफ्रिकी मुलुक हुँदै यहाँ आउने यात्रुलाई एक साता क्वारेन्टाइनमा बस्नुपर्ने बताएको छ । सो भेरियन्टको रोकथामका लागि आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय समितीको बैठकमा पनि छलफल भएको हो । उक्त बैठकमा अफ्रिकाबाट आउने नेपाली पासपोर्ट बाहक र डिप्लोम्याटहरुलाई स्वास्थ्य मापदण्डअनुसार होटल क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस