
एजेन्सी । गुगल, माइक्रोसफ्टपछि अब ट्विटरमा पनि भारतीय मूलका सीईओ छन् । विश्वका धेरै ठूला कम्पनीहरूमा भारतीय मूलका सीईओहरू नियुक्त भएका छन् । माइक्रोसफ्टमा सत्य नाडेला, गुगलको मूल कम्पनी अल्फाबेटमा सुन्दर पिचाई, एडोबमा शान्तनु नारायण, आईबीएममा अरविन्द कृष्ण, वीएमवेयरमा रघु रघुराम, पराग अग्रवाल अब ट्विटरका सीईओ बनेका छन् ।
ट्विटरका सह–संस्थापक ज्याक डोर्सीले कम्पनीको सीईओ पदबाट राजीनामा दिएका छन् । उनको स्थानमा भारतीय मुलका पराग अग्रवाल कम्पनीको नयाँ सीईओ हुनेछन् । हालसम्म उनी कम्पनीमा प्रमुख प्रविधि अधिकृतको पदमा कार्यरत छन् । उनी १० वर्षअघि कम्पनीमा आवद्ध भएका थिए । ३७ वर्षीय पराग अहिले विश्वका शीर्ष ५०० कम्पनीको सबैभन्दा कान्छो सीईओ बनेका छन् । ट्विटरले उनको जन्म मिति भने खुलाएको छैन । तर उनको जन्म सन् १९८४ मा भएको बताइएको छ ।
आईआईटी बम्बेमा अध्ययन गरेका पराग अग्रवालले स्ट्यानफोर्ड विश्वविद्यालयबाट डक्टरेट पनि गरेका छन् । २०१९ मा, ट्विटरले एडम मेसियरको स्थानमा उनलाई प्रमुख प्रविधि अधिकारीको रूपमा नियुक्त गरेको थियो । ट्विटर आउनुअघि परागले माइक्रोसफ्ट रिसर्च र याहूमा काम गरेका थिए ।
ट्विटरका संस्थापक ज्याक डोर्सीले ट्वीटर स्टाफलाई आफ्नो अन्तिम पत्रमा यस्तो लेखेका छन्, ‘ मैले ट्विटर छोड्ने निर्णय गरेको छु किनकि मलाई विश्वास छ कि कम्पनी अब आफ्ना संस्थापकहरूबाट अलग हुन तयार छन । ट्विटरको सीईओको हैसियतले परागप्रति मेरो गहिरो विश्वास छ । विगत १० वर्षमा उनको काम परिवर्तनकारी छ । उनले आफ्नो सीप, हृदय र आत्माले काम गर्नुहुन्छ, जसको लागि म उहाँप्रति हार्दिक आभारी छु। अब उनको ट्विटरको नेतृत्व गर्ने छन ।
प्रतिक्रिया दिनुहोस