aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

पर्यटन व्यवसायमा फेरि त्रास, अनअराइभल भिसा पनि रद्द हुन थाले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ मंसिर २०७८
पर्यटन व्यवसायमा फेरि त्रास, अनअराइभल भिसा पनि रद्द हुन थाले

काठमाडौं । गत २ वर्षदेखि विश्वभरी फैलिएको कोभिड १९ को महामारीका कारण समग्र विश्वको अर्थतन्त्रलाई नै प्रत्यक्ष असर पारेको छ । महामारीले प्रत्यक्ष असर गरेको क्षेत्र मध्ये सबैभन्दा बढी मारमा परेको क्षेत्र हो, पर्यटन । विश्वभरी नै महामारीका कारण गरिएको बन्दाबन्दीका कारण पर्यटकको अवगमन नै ठप्न भयो । जसका कारण पर्यटन व्यवसायी थला परे ।  

लकडाउन खुलेसँगै विस्तारै लयमा फर्किएका पर्यटन व्यवसायी कोरोना महामारीको अर्को नयाँ भेरियन्टको हल्लाले पुन संकटमा पर्ने होकी भन्ने त्रासमा छन् । पुरानै लयमा फर्कन नपाउँदै पुनः व्यवसाय थलिने हो की भन्ने डरमा रहेको पर्यटन व्यवसायीहरु गुनासो गर्न थालेका छन् । 

यो वर्षको पहिलो चार महिनामा करिब २५ हजार पर्यटक नेपालमा भित्रिएको ट्रेकिङ एजेन्टस् एसोसिएनका अध्यक्ष खुमबहादुर सुवेदी बताउँछन् । महमारीलाई एकपट्टि राखेर आफ्नो व्यवसायलाई केहि लयमा लैजान दुई हजार ट्रेकिङ व्यवसाय लागि रहेका बेलामा फेरि नयाँ भेरियन्टको हल्लाले पर्यटन व्यवसाय सिथिल हुने सम्भावना बढेको उनी बताउँछन् । 

आउँदो सिजन मार्च अप्रिलका लागि भने राम्रै बुकिङ आइरहेका बेलामा फेरि नयाँ भेरियन्टको हल्लाका कारण धेरै पर्यटकहरुले चिन्ता व्यख्त गर्न थालेको गुनासो आउन थालेको अध्यक्ष सुवेदी बताउँछन् । उनले भने, ‘मार्च–अप्रिल सिजनका लागि हामी सबै ट्रेकिङ व्यवसायहरु पर्यटकलाई नेपालमा ल्याउन सबै तयारी गरेर बसेका थियौं तर, फेरि नयाँ भेरियन्टका कारण अन्तराष्ट्रिय फ्लाइटहरु धमाधम बन्द हुन थालेकाले हाम्रो तयारी खेर जाने भयो ।’  

कोरोना भाइरसको महामारी संक्रमण नसकिँदै अफ्रिका लगायत विश्वका विभिन्न देशमा अहिले नयाँ भेरियन्ट देखा परेको छ । यता चार महिना लकडान पछि होटल खोल्न अनुमति पाएपनि होटल व्यवसायहरु अझै लयमा फर्किन सकेका छैनन् । यसअघि पनि कोभिडको महामारीले थलिएको होटल व्यवसाय फेरी मारमा पर्ने अवस्था देखिएको छ ।  

अन्तराष्ट्रिय समाचारहरुका आधारमा नेपालका पर्यटन व्यवसाय निर्धारण हुने नेपाल होटल संघकी अध्यक्ष सिर्जना राणा बताउँछिन् । उनी भन्छिन्, ‘पहिलेपनि अर्कै भेरियन्ट भनेर हल्ला चलेको थियो पछि त्यो हरायो अहिलेलाई यहि हो भनेर कन्फर्म गर्न सकिदैन । नयाँ भेरियन्ट नै हो भने चै त्यसलाई मध्यनजर गरेर सावधानी अपनाउनु पर्छ । हाम्रो पर्यटनको लागि यो एकदमै दुरभाग्य हुन्छ ।’ 

क्वारेन्टाइनको व्यवस्था गरेर पर्यटकहरुलाई सहजीकरण गर्दै विस्तारै होटल सञ्चालन भइरहेको अवस्थामा यो खरबले पुनः त्रास भएको उनले गुनासो गरिन् । उनले अहिले पनि अनअराइभल भिसा क्यान्सिल भइरहेको सुनाईन् । नयाँ भेरियन्ट कम्फर्म भयो भने पर्यटन क्षेत्रका लागि अर्को दुर्भाग्यको कुरा हुने उनी बताउँछिन् । 

राणा भन्छिन्, ‘पर्यटकहरु आउने सिजनमा नयाँ भेरियन्टको हल्लासँगै विदेशी पर्यटकहरु पनि कम आइरहेको । साथै होटल बुकिङको अवस्था पनि राम्रो छैन । तर, विदेशी पर्यटकहरु कम आए पनि आन्तरिक पर्यटकहरुले होटल सञ्चालनमा केही राहत मिलेको छ ।’  

पर्यटक क्षेत्रका लागि आन्तरिक पर्यटक पनि जरुरी रहेको उनले बताईन् । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले सरकारी कर्मचारीहरुका लागि ल्याएको घुम्ने विदाले पनि पर्यटन क्षेत्रमा राहत पुग्ने उनले भनाई छ । आन्तरिक पर्यटकले उपत्यका बाहिरको होटल व्यवसायहरुमा केही सहजता देखिए पनि काठमाडौंमा भने खासै चहलपल नदेखिएको उनीले जानकारी दिईन् । तर, उपत्यकाका होटलहरुलाई भने विवाहको सिजनले केही मात्रामा बुकिङ आउँदा हौसला बढेको उनले सुनाईन् ।  

अहिलेको अवस्थामा आन्तरिक पर्यटकको योगदान पनि एकदम न्युन रहेको राणाको भनाइ छ । उनी भन्छिन्, ‘महामारीका कारण सिथिल बनेको अर्थतन्त्रमा आर्थिक अभावका कारण पनि स्वदेशी तथा विदेशी पर्यटकको पर्यटन क्षेत्रमा न्युन रहेको छ । खल्तीमा पैसा भए त घुम्न जान्छन् ।’

उनका अनुसार यस्तो यो बेला हामिले एकदमै काम गर्नुपर्छ, नेपाललाई हामिले कसरी अन्तराष्ट्रिय बजारमा चिनाउने, हाम्रो मार्केटिङ के हुने यो अहिले नेपाललाई चिनाउने एकदमै मौका हो । होटलको गुणस्तर बनाउने आउँदो दिनको टुरिजमलाई पहिले भन्दा कसरी राम्रो बनाउने अहिलेको परिस्थतिमा कस्तो मापदण्ड अपनाउने र पर्यटकहरु आउँदा उनीहरु कति सुरक्षित छ भन्ने सन्देश कसरी दिने भन्ने कुरालाई मध्यनजर गर्नुपर्ने उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस