aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

कस्ता व्यक्तिलाई आवश्यक छ बुस्टर डोज खोप ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ मंसिर २०७८
कस्ता व्यक्तिलाई आवश्यक छ बुस्टर डोज खोप ?

काठमाडौं । बुस्टर डोज भन्नाले कुनै पनि कीटाणुले प्रवेश गरेपछि शरीरमा भएको एन्टिबडी कम भयो भने लिइने डोज हो । कोरोना विरुद्धको दुवै मात्रा खोप लगाइसकेपछि बनेको एन्टिबडी कम भएको अवस्थामा बुस्टर डोज लगाउनु पर्ने विज्ञहरूको भनाई छ ।   

बुस्टर डोज खोप लगाउन हुन्छ हुँदैन, यो लगाउँदा कस्तो फाइदा हुन्छ भन्ने धेरैको जिज्ञासा रहेका कारण राष्ट्रिय खोप सल्लाहकार समिति पनि गठन गरिएको डा. विवेक कुमार लालले जानकारी दिए । उनका अनुसार उक्त समितिले विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध प्रमाणहरूलाई विचार गर्दै नेपालको परिवेशलाई हेरेर खोपहरूको बारेमा नेपाल सरकारलाई सल्लाह दिनेछ । सोही अनुसार सरकारले कदम चाल्नेछ ।    

विश्व स्वास्थ्य सङ्गठनले सबै उमेर समूहलाई लक्षित गरेर बुस्टर डोज लगाउने हालसम्म सिफारिस नगरेको डा. लालको भनाई छ । उनी भन्छन्, ‘हामीसँग उपलब्ध भएका खोपहरू विभिन्न प्रकारका छन् । केही मानिसहरूमा जुन आवश्यक पर्ने रोग प्रतिरोधी क्षमता विकास हुनुपर्ने हो त्यो विकास भएन भने उनीहरूलाई थप मात्रा खोप दिन सकिन्छ ।’

उनका अनुसार यदि कोही व्यक्ति क्यान्सरबाट ग्रसित छन्, कसैले अङ्ग प्रत्यारोपन गरेका छन्, एचआईभी एड्सबाट ग्रसित छन्, जसले रोग प्रतिरोधी क्षमतालाई दबाउने खालको औषधि सेवन गरिरहेका छन् उनीहरूलाई एक मात्रा खोप दिन विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको छ । 

त्यस्तै, भेरोसेल खोप लगाएका मानिसहरू जो ६० वर्ष माथिका छन् उनीहरूले दुवै मात्रा लगाएको तीन महिनापछि बुस्टर डोज खोप लगाउन सकिने डा. लालको भनाई छ । यी समुदायलाई नै लक्षित गरेर बुस्टर डोज खोप लगाउने सरकारको तयारी रहेको समेत उनले जानकारी दिए । 

यता खोपको दोस्रो मात्रा लगाइएको ६ महिनापछि बुस्टर डोज लगाउन आवश्यक रहेको फिजिशियन, परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालका डा. सुनिल शर्मा आचार्य बताउँछन् । 

साथै उनले ओमिक्रोन भेरियन्टबारे आत्तिने भन्दा पनि सचेत हुनुपर्ने बताए । सरकारले पहिले पनि लक्षित जनसख्यालाई खोप लगाएको थियो । सम्भव भएसम्म दोस्रो मात्रा लगाएका सबैलाई बुस्टर डोज लगाउन सकिने उनले सुझाव दिए ।    

 

प्रतिक्रिया दिनुहोस