
बैतडी । सुदूरपश्चिम प्रदेशमा आज थप आठ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ७१६ जनाको नमूना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आरटी पीसीआरमार्फत दुई र एन्टिजेन विधिमार्फत छ जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा एक÷एक जनामा पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिमार्फत कञ्चनपुर र बझाङका तीन÷तीन जनामा सङ्क्रमण देखिएको हो ।
गएको २४ घण्टामा प्रदेशभर तीन जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा छ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१० को ज्यान गइसकेको छ ।
भारतसँग सीमा जोडिएका नाकामा एन्टिजेन परीक्षण कार्य जारी रहेको छ । गड्डाचौकी,गौरीफन्टा, झुलाघाट, पुलघाट र जोलजीवी नाकामा गएको २४ घण्टामा ६२८ जनाको एन्टिजेन परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस