aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

नयाँ वर्ष र क्रिसमसले भारतका होटलहरुमा ४०० प्रतिशतले होटल बुकिङ बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ मंसिर २०७८
नयाँ वर्ष र क्रिसमसले भारतका होटलहरुमा ४०० प्रतिशतले होटल बुकिङ बढ्यो

एजेन्सी । अग्रेजी नयाँ वर्ष र क्रिसमसको सिजनका कारण भारतको आन्तरिक पर्यटन उद्योगमा निकै उत्साह देखिएको छ । भारतका अधिकांश लोकप्रिय पर्यटक गन्तव्यको अग्रिम बुकिङ ४०० प्रतिशतले बढेको छ ।  कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन आएपछि पर्यटन क्षेत्र, टुर–ट्राभल र इभेन्ट म्यानेजमेन्ट उद्योगमा चिन्ता बढेका बेलामा भारतको अन्तरिक पर्यटन बजारमा यस्तो उत्साह देखिएको हो ।

इन्डियन एसोसिएसन अफ टुर अपरेटर्सले विदेशी पर्यटकका लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धले ठूलो असर पारेका बेलामा आन्तरिक पर्यटन उद्योग पुनः ट्रयाकमा फर्किन थालेकाले पर्यटन व्यवसायमा थप उर्जा आएको बताएको छ ।

डिसेम्बरमा आन्तरिक हवाई भाडा ३० प्रतिशत र अन्तर्राष्ट्रिय हवाई भाडा ५० प्रतिशतले बढे पनि क्रिसमस र नयाँ वर्षको लागि अग्रिम बुकिङ चार गुणाले बढेको छ । गुलमर्ग, गोवा, उदयपुर, जयपुर, मसूरी, शिमला, नैनीताल, कोर्बेट, ऋषिकेश र पोर्ट ब्लेयरको लागि बुकिङ छिटो छ । अहिले पर्यटक पहलगाम जान थालेका छन् र त्यहाँ पनि ८० प्रतिशत बुकिङ भइसकेको स्थानीय पर्यटन व्यवसायीहरुले बताएका छन । करिब ६० प्रतिशत हाउसबोटहरू पनि बुक भइसकेका छन् । जम्मू कश्मीरमा पारिवारिक पर्यटकको चाप बढी छ । 

इन्डियन एसोसिएसन अफ टुर अपरेटर्स महाराष्ट्रका अध्यक्ष जितेन्द्र केजरीवालले घरेलु बजारमा पहिलेजस्तो कोरोनाको डर नरहेको भन्दै पर्यटनमा फड्को मारेको बताए । भातरका अन्तरिक पर्यटन गन्तव्यमध्ये हिमाचल प्रदेश, सिक्किम, असम, अरुणाचल प्रदेश र मेघालय बढी पयर्पटक जाने गन्तव्यहरु हुन । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ५ प्रतिशतभन्दा बढी छ भने रोजगारी सिर्जनामा १२ प्रतिशतभन्दा बढी छ ।
 

प्रतिक्रिया दिनुहोस