
काठमाडौं । ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउनेलाई सात दिन होटेल क्वारेन्टिन अनिवार्य गरिएको छ । यो मापदण्ड कार्यान्वयन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागले शुक्रबार सूचना जारी गरेको छ ।
१३ मंसिरको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण भएका देशबाट नेपाल आउँदा कडाइ गर्ने निर्णय गरेको थियो । त्यसै आधारमा अध्यागमनले ती देशको सूची बनाएको छ । होटेल क्वारेन्टिन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्नेछ । परीक्षणमा रिपोर्ट नेगेटिभ आए घर गएर थप सात दिन आइसोलेसनमा बस्नुपर्ने उल्लेख छ । छिमेकी भारतसहित एसियाली देशहरूमा पनि ओमिक्रोन फैलिँदै गएकाले कडाइ गरिएको विभागका निर्देशक मुकेशकुमार केसीले बताए ।
अध्यागमनको सूचीमा अफ्रिकी मुलुकसहित अमेरिका, बेलायत, क्यानडा, स्पेन, इटाली, डेनमार्क, अस्ट्रिया, बेल्जियम, साइप्रस, फ्रान्स, जर्मनी, ग्रिस, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, सिंगापुर, स्विट्जरल्यान्ड, टर्की, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया र माल्दिभ्स छन् । प्रभावित अफ्रिकी देशका नागरिकलाई यसअघि नै सरकारले अनअराइभल भिसामा रोक लगाइसकेको छ । नेपालमा पनि अफ्रिकी मुलुकबाट आएका दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू निको भइसकेका छन् । नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस