aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

२५ देखि ५० बेड सम्मका होटलको वातावरणीय मूल्यांकन कानुन लागू नगर्न माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ पुस २०७८
२५ देखि ५० बेड सम्मका होटलको वातावरणीय मूल्यांकन कानुन लागू नगर्न माग

काठमाडौं । होटल संघ नेपालले बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेसँग भेटी दिगो पर्यटनको लागि सुझाव प्रस्ततुत गरेको छ ।  कोभिड–१९ को मध्य समय असार १, २०७६ मा संशोधन भएको वातावरण ऐन २०७६ मा २५ देखि ५० बेड सम्मका होटलहरुले संक्षिप्त वातावरणीय अध्ययन गरिनुपर्ने कानून लागू नगर्न माग गरेको छ ।  

उक्त स्तरोन्नति र सकारात्मक दूरदृष्टि राखेता पनि व्यापक परामर्श र व्यवहारिकता नहेरी गरिएको यस व्यवस्थाले साना तथा मझौला व्यवसायीहरुलाई चेपुवामा पारी विविध समस्या खडा गरेको धारणा व्याख्त गरेको छ । त्यस्तै अहिलेको जटिल परिस्थितिमा खर्चका कारण उक्त कार्य गर्न गराउन केही समय लाग्ने भएकोले नेपाल राष्ट्र बैंक लगायतका निकायहरुबाट उपलब्ध हुनुपर्ने इजाजतहरु वातावरणीय अध्ययनलाई अघि नबढाउन समेत आग्रह गरेको छ । साथै इजाजत प्रक्रिया लगायतका कार्यहरु स्थगित हुन पुगेको हुँदा यसलाई सहजिकरण गरिदिन आग्रह गर्दै यसलाई संशोधन गरी पहिलाकै व्यवस्था गरिदिन समेत माग गरेको छ । 

 सुझाव प्रस्तुत गर्दै होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले बागमती प्रदेश पर्यटनको केन्द्र भएको हुँदा विशेष पर्यटन नीति तथा योजना बनाई विशेषगरी पर्यटन पुनरुत्थान गर्ने सहयोगी कार्यक्रमहरु शीघ्र कार्यान्वयन  गरिनुपर्ने र यसबाट अन्य प्रदेशहरुले पनि सोही बमोजिमको अनुसरण गर्ने बताइन ।

 साथै नयाँ आउने प्रदेश नीति तथा नियम र संशोधन गरिने अन्य विषयहरुमा यस संघको प्रत्यक्ष सहभागिता तथा छलफल हुन सके दिगो पर्यटनलाई टेवा पुग्ने नै छ । उपत्यका पर्यटन कार्यालयलाई स्रोत साधन सहित मजबुत बनाइनु पर्ने मेरो भनाई राख्दै आगामी दिनमा प्रदेश सरकारको पूर्ण सहयोगको अपेक्षा राखेको अध्यक्ष राणाले बताइन । 

कार्यक्रममा संघका महासचिव साजन शाक्यले कोभिड–१९ ले अतिप्रभावित पर्यटन तथा होटल उद्योगलाई बचाउनका लागि प्रदेश पर्यटन नीति तथा कानुन पर्यटन मैत्री हुनुपर्ने बताए । 

कार्यक्रमको सराहना गर्दै मुख्य मन्त्री पाण्डेले प्रदेश सरकार व्यवसाय मैत्री नीयम तथा कानुनको अवलम्वन गर्दै अगाडि बढिरहेको र यसबाट पर्यटन क्षेत्रलाई ठूलो राहत पुग्ने बताए । साथै उनले यस क्षेत्रको जर्गेना हुन सके, बढी भन्दा बढी लगानी हुन सके, रोजगारी र राजस्वको दयरा बढ्ने पनि बताउँदै पर्यटन क्षेत्रलाई फराकिलो बनाउँदै अघि बढ्ने आश्वासन दिए ।

 उक्त अवसरमा उपत्यका पर्यटन कार्यालयका प्रमुख टंक भट्टराईले कार्यालय नीति तथा नियमको पूर्ण परिपालना गरी अगाडि बढ्ने भएको हुँदा यस्ता किसिमका समस्याहरु कार्यालयमा अवगत हुने हुँदा व्यवसायीको समस्या आफैंमा सकारात्मक हुँदा हुँदै पनि कानुनको पालना  गर्ने क्रममा कार्यालय दृढ रहेको बताए ।

कार्यक्रममा पर्यटन व्यवसायी संगठन नेपालका अध्यक्ष, पश्चिम ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तथा पर्यटकीयस्तरका होटलहरुका सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस