
एजेन्सी । पश्चिमी युरोपको देश बेल्जियममा खोप ठगीको अनौठो घटना बाहिर आएको छ । यहाँ ८ पटक खोप लगाइदिने एक युवक पक्राउ परेका छन् । चकित पार्ने कुरा के छ भने युवक ९ औं पटक खोप केन्द्र पुगेका बेला पक्राउ परेका हुन् । हालसम्म उनको शरीरमा खोपको कुनै साइड इफेक्ट देखिएको छैन ।
बेल्जियमको गरिब वालुन प्रान्तको २ लाख जनसंख्या भएको चारलेरोई सहरका एक युवक पैसा लिएर अरुको सट्टामा खोप लगाउने क्रममा पक्राउ परेका हुन । बेल्जियमको मिडिया लेभेनियरको रिपोर्टका अनुसार अभियुक्तले खोप नलगाई खोप प्रमाणपत्र चाहने मानिसहरूलाई सम्पर्क गर्थे र यस्ता व्यक्तिहरुबाट मोटो रकम लिएर युवक आफैं उनको ठाउँमा खोप लगाउन जाने गर्थे । लगातारको खोपका कारण ९औं पटक आएपछि स्वास्थ्यकर्मीले चिनेपछि प्रहरीलाई खबर गरेका थिए । बेल्जियम प्रहरीले अभियुक्तको नाम र खोप लगाउन आरोपितलाई पैसा दिनेको नाम भने खुलाएको छैन।
बेल्जियममा कोरोना संक्रमण रोक्न धेरै प्रयास भइरहेको छ । इनडोर बजार, सिनेमा हल, थिएटर र कन्सर्ट हलहरू डिसेम्बर २६ देखि बन्द हुनेछन्। खेलकुद कार्यक्रमहरू जारी रहनेछन्। तर, दर्शकको उपस्थितिमा भने प्रतिबन्ध लगाइनेछ । बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डे क्रुले कडा प्रतिबन्धका कारण कोरोना नियन्त्रणमा ल्याए जनवरी १०, २०२२ देखि विद्यालयहरू पुनः खोलिने विश्वास व्यक्त गरेका छन्। हालसम्म २० लाख १७ हजार कोरोना संक्रमित यहाँ आएका छन् । ४ लाख ३५ हजार सक्रिय केस छन् । करिब २७ बिरामीको मृत्यु भइसकेको छ भने ७४३ जनाको अवस्था गम्भीर छ ।
प्रतिक्रिया दिनुहोस