
महाराष्ट्र । भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारले अरु २० प्रदेश सांसदहरुलाई पनि सङ्क्रमण भएको जानकारी दिए ।
उनले कोरोनाभाइरसको महामारी तीव्ररुपमा फैलिएकाले आम नागरिकस्तरबाट पनि उच्च सतर्कता अपनाइनु पर्नेमा जोड दिए । सरकारले लागु गरेका नियमहरुको पालना नगर्दा र हेलचेक्र्याई गरेकाले महामारी बढी फैलिइएको उनको भनाइ छ ।
उनले भने, “कृपया सरकारको आग्रहलाई पालना गरिदिनु होला, आफ्नै पनि सतर्कता अपनाउनु होला, नत्र अवस्था भयावह हुनसक्छ ।” महामारी नियन्त्रणका लागि अपनाउनु पर्ने नयाँ उपायका बारेमा छलफल गर्न सरोकारवाला तथा विज्ञको बैठक बोलाइएको र उनीहरुसँग पटकपटक परामर्श भइरहेको जानकारी पनि उनले दिए । भारतको महाराष्ट्र प्रदेश कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो । अहिले ओमिक्रोनका सङ्क्रमित पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएका छन् ।
त्यस्तै, भारतमा कोरोनाभाइरसबाट थप झण्डै २३ हजार नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ७७५ नयाँ सङ्क्रमित भएका हुन् । सोही अवधिमा कोरोनाका कारण ४०६ को मृत्यु भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये एक हजार ४३१ जनालाई भने ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीले जनाएका छन् ।
भारतमा अहिलेसम्म २३ राज्यमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको र यो फैलिने क्रम तीव्र भएको उनीहरुको भनाइ छ । ओमिक्रोनबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । त्यसपछि धेरै केन्द्रीय राजधानीसमेत रहेको दिल्ली राज्यमा ओमिक्रोनका सङ्क्रमित भेटिएका छन् ।
भारतमा पछिल्लो एक दिनमा आठ हजार ९४९ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ४२ लाख ७५ हजार ३१२ पुगेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले एक लाख चार हजार ७८१ जना सङ्क्रमित अवस्थामै रहेका छन् । एएनआइ
प्रतिक्रिया दिनुहोस