aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

युगाण्डामा दुई वर्षपछि विद्यालय खुल्ला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ पुस २०७८
युगाण्डामा दुई वर्षपछि विद्यालय खुल्ला

काम्पाला । युगाण्डामा सोमबारदेखि विद्यार्थीहरूले विद्यालयमै उपस्थित भएर अध्ययन गर्न थालेका छन् । विश्वमै सबैभन्दा लामो समयसम्म विद्यालय बन्द भएर सोमबारदेखि भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हो ।   

युगाण्डामा कोरोनाभाइरसको महामारीका कारण झन्डै दुई वर्ष विद्यालय बन्द भएकोमा सोमबारदेखि खुल्ला भएको अधिकारीहरूले जनाएका छन् । युगाण्डामा सन् २०२० को मार्चदेखि ८३ हप्तासम्म विद्यालय बन्द भएको हो ।  

विद्यालय खुल्ला भएपछि दशौँ लाख विद्यार्थीहरू खुशी भएर विद्यालय फर्किएका छन् । “विद्यालयमै उपस्थित भएर पढ्न पाउँदा मलाई धेरै खुशी लागेको छ, विगतमा विद्यालय बन्द हुँदा मैले विद्यालयमा उपस्थित भएर पढ्न पाएको थिएन भने मेरा साथी, शिक्षकशिक्षिका र मेरो पढाइ गुमाएको थिएँ,” १० वर्षीय विद्यार्थी नाविलाह सेन्कुगौले भने । 

विद्यालयमा उपस्थित भएका विद्यार्थी तथा शिक्षकशिक्षिकाले मुखमा मास्क लगाउनुका साथै पटकपटक हात धोएका थिए । विश्वका धेरै देशमा कोरोनाभाइरसको महामारी फेरि फैलिन थालेका बेला युगाण्डामा विद्यालय खुलेका हुन् । 

युगाण्डामा अहिलेसम्म एक लाख ५३ हजार ७६२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने तीन हजार ३३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । एएफपी

प्रतिक्रिया दिनुहोस