
काठमाडौं । मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदका लागि दाबेदार पदाधिकारीले दौडधुप गरिरहेका छन् ।
हालका महानिर्देशक राजकुमार क्षेत्रीको उमेरहदका कारण अनिवार्य अवकाश भएपछि प्राधिकरण नेतृत्वविहीन छ । तीन महिनाअघि प्राधिकरणको महानिर्देशक बनेका उहाँले सेवाबाट अवकाश लिएपनि महानिर्देशक पद लम्याउन लागि परेका छन । आफूलाई चार वर्षका लागि सरकारले नियुक्त गरेकाले पूरै कार्यकाल पाउनुपर्ने दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन ।
अदालतले अल्पकालीन आदेश दिएर आगामी पुस ३० गते छलफलका लागि दुबै पक्षलाई बोलाएको छ । क्षेत्रीले रासससँग कुरागर्दै प्राधिकरण ऐन बमोजिम महानिर्देशक पद चार वष हुने प्रावधान रहेकाले पूरा कार्यकालको लागि आफूले दाबी गरेको बताए ।
उनले प्राधिकरणका ३२ वर्ष सेवा गरेर गत पुस २४ गते शनिबार मात्रै उमेरहदका कारण अवकाश भएका थिए। सेवाबाट अवकाश लिएपछि पनि महानिर्देशक पद जोगाउन क्षेत्रीले सर्वोच्चदेखि शक्ति केन्द्रसम्म दौडधुप गरेको विभिन्न सञ्चार माध्यममा आइरहेको छ । तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अहिले प्राधिकरणकै १२औँ तहका कर्मचारी प्रेमनाथ ठाकुरलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ । प्राधिकरणमा अन्य सिनियर अधिकृत हुँदा जुनियरलाई जिम्मेवारी दिएको पनि बजारमा चर्चा छ ।
महानिर्देशकका अर्का दाबेदार प्राधिकरणकै १२औँ तहका उपमहानिर्देशक प्रतावबाबु तिवारी महानिर्देशक पद प्राप्त गर्न हरसम्भव प्रयास गरिरहेको जनाइएको छ । यसका लागि उनले अभियाननै चलाए । स्वभावलै निवर्तमान महानिर्देशक क्षेत्रीपछि तिवारीको दाबेदारी देखिन्छ । तिवारी महानिर्देशक बनेमा पूरै कार्यकाल नेतृत्वमा रहने जनाइएको छ । एयर ट्राफिक अफिसरका रुपमा सेवा प्रवेश गरेका उनले प्राधिकरणमा २५ वर्ष सेवा गरिसकेका छन । उनी यसअधि त्रिअविको महाप्रबन्धक तथा प्राधिकरणको प्रवक्ताको जिम्मेवारीमा रहेर पनि काम गरे । उनले हवाई सुरक्षा सुदृढ गर्ने र प्राधिकरण सुधार्ने योजना पनि अघि सारेका छन ।
महानिर्देशकका लागि प्राधिकरणकै अर्का प्रत्यासी हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईको पनि आगामी फागुन १६ गते उमेर हदका कारण अनिवार्य अवकाश हुँदैछ । उनले पनि आफू प्राधिकरणको सिनियर कर्मचारी भएकाले स्वभाबैले महानिर्देशक पद दाबी गरिएको बताए ।
“प्राधिकरणको १२औँ तहको सिनियर कर्मचारी हुँ अवको डेढमहिनापछि अवकास पाउने भएकाले उक्त अवधिसम्म भए पनि स्वभाविक रुपमा नेतृत्वको पाउनुपर्छ भन्ने हो दाबी हैन” उनले भने ।
त्यस्तै महानिर्देशक पदका लागि अघिल्लो पटकदेखि नै लबिङ गरिरहनुभएका प्राधिकरणका आयोजना प्रमुखको जिम्मेवारीमा रहेका प्रदीप अधिकारी पनि पदका लागि आफू उपयुक्त रहेको बताउनुभएको छ । उहाँ पनि ‘लबिङ’ गर्दै शक्ति केन्द्रदेखि विभिन्न तहसम्म माहोल आफ्नो पक्षमा बनाउन लागिरहेको बताइएको छ ।
महानिर्देशक पदमा तपाई किन भनि सोधिएको जिज्ञासामा अधिकारीले भने “प्राधिकरणमा स्थिर नेतृत्वका लागि मेले नेतृत्व खोजेको हुँ खाली तीन महिना दुई महिना महानिर्देशक हुने पदाधिकारीले कसरी प्राधिकरणको हितमा काम गर्नसक्छन् ।” सिभिल इञ्जिनीयरको रुपमा सातौँ तहबाट सेवा प्रवेश गरेका अधिकारीले आठौँ र खुला प्रतिस्पर्धाबाट ११औँ तहमा एकैपटक नाम निकालेका थिए । उनको पालामा निर्माणाधीन, भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको प्रगति भएको थियो । दुबै राष्ट्रिय गौरबका आयोजना हुन ।
भैरहवा र पोखरासँगै निजगढ अन्तरराष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर आधार तयार गर्न पनि आफ्नो भूमिका रहेको अधिकारीको दाबी छ । पर्यटन मन्त्रालयले प्राधिकरणको महानिर्देशक कस्लाई बनाउने भन्नेबारे अहिलेसम्म मुख खोलेको छैन । पर्यटन मन्त्रालयका प्रवक्ता टोपराज पाण्डेले प्राधिकरणको महानिर्देशकका विषयमा कुनै टुङ्गो लागिनसकेको प्रतिक्रिया दिए ।
प्राधिकरणमा आउने महानिर्देशकलाई चुनौतीको चाङ छ । संसद्मा विचाराधीन रहेको प्राधिकरण विभाजन गर्ने प्रयोजनका निम्ति बनेको दुई विधेयकलाई निष्कर्षमा पु¥याउनु निकै ठूलो चुनौती छ । उक्त विषयमा प्राधिकरणका कर्मचारीले असन्तुष्टि जनाउँदै आन्दोलन समेत पनि गरेका थिए ।
हालै प्राधिकरणको २३औँ वार्षिकोत्सवमा पर्यटनमन्त्री प्रेमबहादुर आले र पर्यटन सचिव महेश्वर न्यौपानेका सामु कर्मचारी टे«ड युनियनका प्रतिनिधिले प्राधिकरण विभाजनसम्बन्धी विधेयक फिर्ता हुनुपर्ने जिकिर गर्नुभएको थियो । त्यस विषयमा छलफल गर्ने मन्त्रालयले बचन दिएको थियो । संसद्को राष्ट्रिय सभाबाट विधेयक पारित भई हाल प्रतिनिधिसभामा विचाराधीन अवस्थामा छ । रासस
प्रतिक्रिया दिनुहोस