
काठमाडौं । नेपाल टेलिकमले विन्टर अफर अन्तर्गत प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराउने भएको छ । कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ । पहिले २८ दिनका लागि रु. ५९९ मा लिन सकिने “सजिलो अनलिमिटेड प्रिपेड ५९९” मात्र उपलब्ध भइरहेकोमा अब “सजिलो अनलिमिटेड प्रिपेड ७९९”, “सजिलो अनलिमिटेड प्रिपेड ९९९” र “सजिलो अनलिमिटेड प्रिपेड १४९९” प्याक समेत उपलब्ध हुने भएको छ ।
यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायका सेवाहरु उपलब्ध गराइएको छ । डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरुको मुख्य विशेषता भएको कम्पनीले जनाएको छ ।
सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराइने छ । यस अन्तर्गत रु. २९९ मा अब २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत चलाउन सकिने छ ।
यसैगरी, नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताहरुका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहने छ । पहिलो पटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउने छन् । साथै फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने वेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने छ ।
यी बाहेक पहिलेदेखि नै उपलब्ध अधिकांश अफरलाई निरन्तरता दिइएको छ । अफर प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस