aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पहिले प्रयोग गरिएका क्वारेन्टिन पुनः सञ्चालनको तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ माघ २०७८
पहिले प्रयोग गरिएका क्वारेन्टिन पुनः सञ्चालनको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै  त्यसका लागि तयारी अवस्थामा रहेको जनाएको छ । कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका  निःशुल्क सञ्चालन गरिएका  आइसोलेसन र क्वारेन्टिन  स्थलहरु यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । 

प्रमुख शाक्यले भने, “हामीले त्यसका लागि गृहमन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ,” “हामीले नेपाली सेना र अस्पतालहरुलाई तयारी अवस्थामा रहन भनेका छौँ । हामी पनि तयारी अवस्थामा छौँ । आवश्यक प¥यो भने तुरुन्तै निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरु सञ्चालन गर्न सक्छौँ ।”  

प्रमुख शाक्यले  कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह पनि आग्रह गरेका छन् ।     पहिलो र दोस्रो चरणको कोरोना सङ्क्रमणका बेला सिसिएमसीले स्थानीय सरकारसँग सल्लाह र समन्वय गरे पनि अहिले नभएको उनको आरोप छ ।    महानगरवासीलाई थप केही जटिल भयो भने कामपाको ३२ वटै वडामा सञ्चालित स्वास्थ्य क्लिनिक र स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । 

सङ्घीय सरकारको निर्देशन र मापदण्डअनुसार महानगरपालिका क्षेत्रभित्रका अग्रपङ्क्तिमा खटिएका, ज्येष्ठ नागरिकलगायतका लागि  खोपको तेस्रो मात्रा पनि कामपाले व्यवस्थापन गरेकाले खोप लगाउन योग्य सबैलाई अपिल  गरिएको छ ।

प्रतिक्रिया दिनुहोस