
काठमाडौं । नेपालमा कोरोना संक्रमित हुनेको सङ्ख्या तीव्र रूपमा बढ्दो छ । पछिल्ला केही हप्तायता दैनिक १० हजार भन्दा बढी कोरोना संक्रमित थपिरहेका छन् । संक्रमितको संख्यामात्र होइन परीक्षण गरिएकामध्ये सङ्क्रमण पुष्टि हुने दर पनि उच्च छ ।
शनिवार मात्रै २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा १० हजार दुई सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यससँगै हाल नेपालभर ७२ हजार ८६२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । तर, अधिकांश सक्रिय कोरोना संक्रमित भने होम आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार सक्रिय सङ्क्रमितमध्ये हाल ७१ हजार २६१ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । त्यस्तै संस्थागत आइसोलेसनमा एक हजार ६०१, आईसीयूमा २१० र भेन्टिलेटरमा ३७ जना रहेका छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्दा कोरोनाको पहिलो र दोस्रो लहर भन्दा यस पटक फैलिएको कोरोनाको दृश्य फरक छ । यसअघि देशभरका अस्पतालहरूमा कोरोना संक्रमितहरु बेड नपाएर कुर्सीदेखि भुईँसम्म लडिरहेका दृश्य देखिएको थियो । त्यति मात्रै होइन कतिपय सङ्क्रमितहरूले अक्सिजन नपाएर ज्यान गुमाएका थिए । तर, यसपालि भने अस्पतालमा त्यस्तो दृश्य देखिँदैन । अहिले अस्पतालमा कोरोना सङ्क्रमितका लागि छुट्याइएको बेडमा आधा पनि संक्रमित छैनन ।
अहिले कोरोना संक्रमित हुनेको सङ्ख्या धेरै भए पनि अस्पताल भर्ना हुनेको सङ्ख्या न्यून रहेको वीर अस्पतालका डा. अच्युत कार्की बताउँछन् । उनी भन्छन्, ‘पहिलो र दोस्रो लहरको कोरोना संक्रमणदर हुँदा अस्पतालमा बिरामीहरूको चाप धेरै थियो । तर, अहिले धेरैजसो संक्रमित होम आइसोलेसनमा रहेका छन् ।’
उनका अनुसार पछिल्लो केहि हप्ता यता थपिएका कोरोना सङ्क्रमितहरूको सङ्ख्या हजारौँ भए पनि उनीहरूमा सामान्य र मध्यम खालको लक्षण देखिएको छ । जसले गर्दा अस्पताल भर्ना हुने कोरोना संक्रमित घटे । होम आइसोलेसनमा बस्ने संक्रमितको सङ्ख्या बढेका हुन् ।
डा. कार्कीले अहिलेका कोरोना संक्रमित धेरैजसो २० देखि ४० वर्षसम्म उमेर समूहका रहेको बताए । उनले भने, ‘यस समूह अन्तर्गत पनि जो सक्रिय छन् उनीहरू मात्र कोरोना संक्रमित भएका छन् । उनीहरूमा ओमिक्रोनसंग मिल्दा जुल्दा लक्षण रहेका छन् ।’
उनका अनुसार ओमिक्रोन भेरियन्टले फोक्सोभन्दा पनि माथिल्लो श्वासप्रश्वास प्रणालीमा सङ्क्रमण गराउँछ । नाक, घाँटी, छाती, श्वासनलीमा बढी सङ्क्रमण गराउँछ । ओमिक्रोनको मुख्य लक्षण रुघा लाग्ने, खोकी लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने, ज्वरो आउने गर्छ । खोप लगाएकालाई भने त्यति गाह्रो बनाउँदैन ।
त्यस्तै, धेरै जनामा सङ्क्रमण भए पनि गम्भीर हुने संक्रमितको सङ्ख्या निकै कम रहेको दोहोर्याउँदै उनले भने, ‘वीर अस्पतालको पछिल्लो हप्ताको तथ्यांक हेर्ने हो भने दैनिक १५ देखि २० जना कोरोनाका संक्रमितको अस्पताल भर्ना भएका छन् । अस्पताल भर्ना हुनेमा दिर्घरोगी र वृद्धवृद्धा धेरै रहेका छन् । यससँगै ९ देखि १० जना दैनिक कोरोना मुक्त भएका छन् । अहिलेका संक्रमित गम्भीर छैनन, चाडै नै कोरोनामुक्त भइरहेका छन् ।’
त्यस्तै, जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे पनि कोरोनाको दोस्रो भेरियन्ट जति घातक थियो यो अमिक्रोन त्यति धेरै घातक नभएको बताउँछन् । पाण्डे भन्छन्, ‘कोरोनाको दोस्रो भेरियन्ट जति घातक थियो यो अमिक्रोन त्यति धेरै घाताक देखिएको छैन । यसका लक्षणहरू पनि सामान्य नै रहेका कारण धेरै संक्रमितहरु गम्भीर हुनबाट बचेका छन् ।’
उनका अनुसार डेल्टा भेरियन्टले सिधै फोक्सोमा असर गर्ने भएको हुनाले धेरै मानिसहरू अस्पताल भर्ना हुन बाध्य भएका थिए । तर, ओम्रिक्रोनले फोक्सोमा भन्दा पनि घाटीमा बढी सङ्क्रमण गराउँछ । यसकारण घाटी सामान्य रूपमा दुख्ने, ज्वरो सामान्य आउने यसका प्रमुख लक्षण भएकोले गम्भीर प्रकृतिको सङ्क्रमण कम देखिएको छ ।
धेरैजसो मानिसले कोरोनाको खोप लगाइसकेका हुनाले खोपका कारण पनि संक्रमितहरु गम्भीर हुनबाट बचेका जनस्वास्थ्यविद् पाण्डेको भनाई छ । साथै उनले अहिले कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिए पनि दिर्घरोगी र बालबच्चासम्म नपुगेको समेत बताए । उनले भने, ‘ओमिक्रोन सुरु भएदेखि अहिलेसम्मको अवस्था हेर्दा चलायमान वर्गबाट दिर्घरोगी र बालबच्चासम्म फैलिसकेको देखिँदैन । जब चलायमान वर्गले यस्ता वर्गमा पुराउँछन् तब थप सतर्कता पुर्याउनु पर्ने हुन्छ । दिर्घरोगी र बालबच्चासम्म सङ्क्रमण फैलियो भने अस्पतालका बेड भरिन थाल्छन् ।’
त्यस्तै, सरकारले अहिले बढी सङ्क्रमण फैलिएको एरियामा कन्ट्रयाक ट्रेसिङ लगायत कामहरू नगरेको उनको भनाई छ । उनले भने, ‘सरकारसंग कोरोना फैलिएको क्षेत्रमा के गर्ने भन्ने योजना अहिले छैन । पहिला कन्ट्रयाक ट्रेसिङ लगायत कामहरू गरे पनि अहिले त्यस्तो भएको छैन । कोरोना पोजेटिभ भएका संक्रमितहरु होम आइसोलेसनमा छन् की बाहिर डुलेका छन् भन्ने सरकारले निगरानी नै गरेको छैन ।’
साथै उनले सरकारले अहिलेदेखि नै अस्पताल र आईसियू बेडहरु तयारी अवस्थामा राख्नु पर्नेमा जोड दिनुपर्ने बताए । उनले भने, ‘यसअघि कोरोना सङ्क्रमण गम्भीर भएपछि अस्पताल र आईसीयु बेड खोज्दै हिँड्नु पर्ने थियो । कतिले बेड नपाएरै ज्यान पनि गुमाउन बाध्य भए । यसले गर्दा सरकारले यस्ता कुराहरूलाई तयारी अवस्थामा राख्नु पर्ने हुन्छ ।’
त्यसैगरि, अहिले थपिएका कोरोना संक्रिमत खोप लगाएका हुन् की नलगाएका हुन् भन्ने कुराको तथ्यांक सरकारसंग नभएको एक स्वास्थ्य अधिकारीले बताए । उनले भने, ‘केही महिनाअघि नेपालका अस्पतालहरूमा भर्ना भएका संक्रमितको तथ्यांक हेर्ने हो भने अधिकांश मानिसहरू खोप लगाएका थिए । तर, अहिले कस्ता व्यक्ति संक्रमित भइरहेका छन् भन्ने कुराको तथ्यांक सरकारसंग छैन । संक्रमितको भएका मानिसहरू खोप लगाएका हुन् की, नलगाएका हुन् की, रोगी हुन् या होइनन् भन्ने तथ्यांक सरकारले राखेको छैन ।’ साथै उनले यसको तथ्यांक हुने हो भने यस्ता महामारीको व्यवस्थापन गर्न सरकार र स्वास्थ्य अधिकारीलाई सहज हुने समेत बताए ।
प्रतिक्रिया दिनुहोस