
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा जुनियर कर्मचारीलाई महानिर्देशक बनाउन गिरोह नै सक्रिय भएर लागेको छ । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीको कार्यकाल गएको पुस २३ गते नै सकिएको छ ।
उनको कार्यकाल सकिएपछि ११ औं तहमा कार्यरत प्रदिप अधिकारीलाई महानिर्देशक बनाउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नै लागि परेको मन्त्रालय स्रोतले बताएको छ ।
बरिष्ठताका आधारमा प्रतापबाबु तिवारी महानिर्देशक हुन पर्नेमा ११ औं तहका कर्मचारीलाई महानिर्देशक बनाउन लागेकाले प्राधिकरण कर्मचारीले समेत विरोध जनाउदै आएका छन् । प्राधिकरणमा १२ औं तहमा हाल ६ जना कर्मचारी कार्यरत रहेका छन् ।
प्राधिकरणमा महानिर्देशकका दाबेदार प्रतापबाबु तिवारीपछि भोलाप्रसाद गुरागाई पनि छन् । तिवारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख थिए ।
त्यस्तै, यसअघि संजीव गौतम, राजन पोखरेल प्राधिकरणका १२ औं तहका बरिष्ठ भएकै आधारमा महानिर्देशक भएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन–२०५३ को दफा १९ को (१) मा उल्लेख छ–‘प्राधिकरणको कार्यसंचालनको निमित्त कार्यकारी प्रमुखको रुपमा नेपाल सरकारले सामान्यतया नेपाल सरकारको सेवामा वा प्राधिकरणको सेवामा बहाल रहेका कर्मचारीलाई महानिर्देशकको पदमा नियुक्त गर्नेछ । महानिर्देशकको पदावधि ४ बर्षको हुनेछ ।
प्रतिक्रिया दिनुहोस