aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कर्मचारीलाई बिदा दिँदै सौराहाका होटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ माघ २०७८
कर्मचारीलाई बिदा दिँदै सौराहाका होटल

चितवन । कोभिडको तेस्रो लहरसँगै यहाँका होटलमा पर्यटक आउन छाडेपछि व्यवसायीले मजदूर कर्मचारीलाई बिदा दिन थालेका छन् । सरकारले कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित नगर्न आदेश गरेपछि होटलहरूमा बुक भएका कार्यक्रम स्थगित भएका छन् ।
 
सौराहाका होटलमा नयाँ वर्षसँगै गोष्ठी, सेमिनार, विवाहाका कार्यक्रम धेरै बुकिङ् भएका थिए । घुम्न आउने पर्यटकको बुकिङ् पनि राम्रो थियो । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार कोभिडका कारण अधिकांश कार्यक्रम र पर्यटकका बुकिङ् रद्ध भएका छन् । उनले भने, “अहिले होटलमा एक÷दुईवटा कोठा मात्र बुकिङ् हुने गरेका छन् ।” कतिदिन यसरी धान्ने भनेर होटल सञ्चालकहरूले मजदूर एवं कर्मचारीलाई आलोपालो बिदा दिन थालेको उनले बताए ।
 
आफ्नो होटलमा १६ जना कर्मचारी रहेकामा अहिले तीन जना बाहेकलाई बिदामा पठाएको उहाँले जानकारी दिए । १५ दिनपछि अरु तीन जना आउने र अहिले रहेकालाई बिदा दिने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ । पाहुँना नहुँदा कर्मचारी र मजदूर पाल्न कठिन भएको व्यवसायीको भनाइ छ । भूकम्प, नाकाबन्दी हुँदै कोभिडसम्म आइपुग्दा सौराहाको पर्यटन व्यवसाय निकै प्रभावित भएको छ ।
 
युनिक वाइल्डलाइफ रिसोर्टका सञ्चालक गुणराज थपलिया खोल्नुभन्दा पूरै केही समयका लागि बन्द गर्दा व्यवसायीलाई राहात मिल्ने बताउछन । उनले भने, “एउटा दुई वटा कोठा बेचेर कसरी खर्च धान्ने ? न खोलेर पर्यटक आउँछन्, न बन्द गर्न पाइएको छ रु” कर्मचारी मजदूर पाल्न नै समस्या भएको क्षेत्रीय होटल सङ्घ चितवनका महासचिवसमेत रहेका थपलियाको गुनासो छ ।

कोभिडसँगै सौराहा क्षेत्र सुनसान बनेको छ । जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे कोभिडका कारण व्यवसायी निकै मर्कामा परेको बताउछन। होटलमा मजदूर कर्मचारी पाल्न र दैनिकी चलाउनसमेत व्यवसायीलाई समस्या हुन थालेको उनको भनाइ छ । बुकिङ भएका कार्यक्रम रद्द हुँदा ठूलो नोक्सानी व्यहोर्नु परेको घिमिरेले जानकारी दिए ।
 
सरकारले २५ जनाभन्दा बढीको उपस्थितिमा कार्यक्रम गर्न लगाएको रोक फिर्ता नभएसम्म कार्यक्रम हुननसक्ने घिमिरेको भनाइ छ । होटल जङ्गल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरी धेरै कार्यक्रम रद्ध हुँदा ठूलो नोक्सान भएको बताउनुहुन्छ । जनवरीमा चार वटा र फेब्रुअरीमा ६ वटा विवाह बुकिङ भए पनि अधिकांश स्थगन भएको उहाँले जानकारी दिए ।

 पर्यटक र कार्यक्रम नहुँदा मजदूर कर्मचारी पाल्न कठिन भएको गिरीको भनाइ छ । उनले भने, “अलि अलि व्यवसाय होला जस्तो हुन्छ, समस्या आइहाल्छ ।” यसले गर्दा पर्यटन क्षेत्र प्रभावित बनेको गिरी बताउछन । सौराहामा १२० होटल रहेका छन् । ती होटलमा पाँच हजार पाँच सयसम्म पर्यटक राख्न सक्ने क्षमता रहेको छ । पछिल्ला वर्षमा होटलमा ठूलो लगानी भएको व्यवसायी बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस