aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

'क्लिन फिड' सम्बन्धी दफा पास, पुरानाले एकवर्ष र नयाँले तत्काल लागू गर्न पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० साउन २०७६
'क्लिन फिड' सम्बन्धी दफा पास, पुरानाले एकवर्ष र नयाँले तत्काल लागू गर्न पर्ने

काठमाडौं । क्लिन फिड कार्यान्वयनमा आउने भएको छ । शुक्रबार क्लिन फिड सम्बन्धी दफा संसदिय समितिबाट पास भएको हो  । प्रतिनिधी सभाको विकास तथा प्रविधि समितिको बसेको बैठकमा क्लिन फिड र विज्ञापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलले क्लिन फिड र विज्ञापन सम्बन्धी बनेको विधेयक कार्यान्वयन गर्ने दफा पास गरेको छ ।

 समितिले पुराना सेवा प्रदायकहरुले ऐन कार्यान्वयनमा आएको एक वर्षभित्र क्लिन फिड कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको छ भने नयाँ सेवा प्रदायकहरुले भने ऐन लागू भएकै दिनदेखि क्लिन फिड लागु गर्नुपर्नेछ ।  

सरकारद्वारा प्रस्तुत विज्ञापन नियमनसम्वन्धी विधेयकको दफा ६ मा भनिएको छ, ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ ।’

राष्ट्रिय झण्डा, राष्ट्रिय गान, चिन्ह, निशाना छाप र विभूतिको अवमूल्यन हुनेगरी विज्ञापन बनाइ प्रकाशन एवं प्रसारण गर्न नपाइने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा जारी विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ माथिको दफावार छलफलका क्रममा सांसदहरुले यसअघि व्यवस्था गरिएको राष्ट्रिय गान, चिन्ह, निशाना छाप र विभूतिको प्रयोग गरेर विज्ञापन बनाउने विषयलाई भने हटाउनुपर्नेमा जोड दिए ।

विधेयकमा संशोधन दर्ता गराएका सांसद दिव्यमणिराज भण्डारीले राष्ट्रिय उत्पादनलगायत राष्ट्रिय महत्वका विषयमा विषयमा विदेशमा विज्ञापन गर्दा झण्डा, चिन्ह, गान लगायतको प्रयोग गर्न नपाउने व्यवस्था उपयुक्त नहुने भएकाले अवमूल्यन गर्न नपाइने प्रावधान मात्र राखिनुपर्ने बताए ।

    
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले विद्यालय र विश्वविद्यालयको पाठ्यपुस्तकमा चाउचाउ जस्ता खानाको विज्ञापन गरेर नकारात्मक प्रभाव परेकाले पुस्तकमा विज्ञापन नै राख्न नपाउने व्यवस्था विधेयकमा गरिएको जानकारी दिए । जुवा खेलाउने विषयको विज्ञापन निषेध गरिएको बताए ।  उनले चिठ्ठा सामाजिक कामका लागि पनि प्रयोग गरिने भएकाले कानून बमोजिम विज्ञापन गर्न पाउने व्यवस्था गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस