काठमाडौं ।नेपाल दूरसञ्चार कम्पनी(टेलिकम) १८ वर्ष अघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिव ४ लाख २२ हजार रहेकोमा, २०७८ मंसिर मसान्त सम्ममा कम्पनीको ग्राहक आधार २ करोड २७ लाख नाघिसकेको छ । यसको अर्थ, हाल मुलुकको करिव ७५ प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ ।
यसैगरी कोरोनाबाट सिर्जना भएको असहज परिस्थितिका बाबजुद आ.व. २०७७÷७८ मा कम्पनीको कुल आय ४२ अर्व २१ करोड रुपैयाँ पुगेको छ भने, कम्पनीको खुद मुनाफा ७ अर्व १३ करोड भएको छ । चालु आ व को पौष मसान्तसम्म कम्पनीले २१ अर्ब ४३ करोड रुपैयाँ राजश्व प्राप्त गरेको छ, जुन गत आ.व. को पहिलो अर्धवार्षिक अवधिको तुलनामा ५.७५ प्रतिशतले बृद्धि भएको छ । मुलुकको अर्थतन्त्रमा कम्पनीले पु¥याएको योगदान हेर्ने हो भने आ.व. २०७७ ÷७८ मा कर तथा गैह्रकर गरी कम्पनीले २७ अर्व ७३ करोड रुपैयाँ रकम योगदान गरेको थियो भने यस आ. व. मा समेत उक्त योगदान बढ्ने अपेक्षा गरिएको छ ।
भ्वाइस सेवातर्फ; २०७८ मंसिर महिनाको अन्त्यसम्ममा कम्पनीको ग्राहक आधार २ करोड २७ लाख भन्दा बढी रहेको छ । सो मध्ये जीएसएम मोबाइल सेवाका ग्राहक २ करोड १६ लाख ४५ हजार, सीडीएमए सेवाका ४ लाख ३८ हजार र पीएसटीएन सेवाका ग्राहक ५ लाख २९ हजार रहेका छन् । त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक १ लाख ७४ हजार तथा एफटीटीएच.डाटा सेवाका ग्राहक १ लाख ५९ हजार रहेका छन् । २०७८ कार्तिक महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस रिपोर्ट अनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा ५४ प्रतिशत रहेको छ ।
इन्टरनेट डाटा सेवातर्फ २०७८ मंसिर महिनाको अन्त्यसम्ममा कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता कुल २ करोड २० लाख ९७ हजार भन्दा बढी पुगेका छन् । सो मध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता २ करोड १६ लाख ४५ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता १ लाख ३१ हजार ७ सय, एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता १ लाख ५९ हजार र वाइम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५ सय रहेका छन् । जीएसएम ४जी तर्फ हालसम्म करिव ८१ लाख ७४ हजार ग्राहक पुगिसकेको छ र निरन्तर विस्तारको क्रममा रहेको छ ।
४ जी एलटीइ आयोजना सम्बन्धमाः कम्पनीले दूरसञ्चार सेवालाई अझै बढी सर्वसुलभ तथा गुणस्तरीय बनाइ आफ्नो बजार हिस्सालाई मजबुत गरी ब्याबसायिक उदेश्य हासिल गर्न सेवा बिस्तार र सेवाको गुणस्तरमा विशेष जोड दिंदै आइरहेको छ । यसै सन्दर्भमा कम्पनीले वायरलेस ब्रोडब्याण्ड अर्थात् ४जी सेवालाई देशब्यापी रुपमा संचालन एवं विस्तार गरिरहेको छ । हालसम्म ७७ जिल्ला तथा ७२० स्थानीय तहसम्म यसको पहुँच पुगेको छ भने कुल ४,१८६ स्थान मध्ये ३,८१६ (९१ प्रतिशत) स्थानमा आयोजनाको कार्य पुरा भैसकेको छ । कोर नेटवर्क तर्फ कुल भौतिक प्रगति ९५ प्रतिशत छ । यसै आयोजना अन्तर्गत ६४० नयाँ टावरमध्ये ५०१ टावरको जडान सम्पन्न भई सो मध्ये ४५१ टावरबाट सेवा संचालनमा आइसकेको छ ।
४ जी नेटवर्क विस्तारसँगै ४ जी डाटाको खपतमा उल्लेखनीय बृद्धि भएको छ र डाटा सेवामा २ जी, ३ जी सेवामा भन्दा ४ जी सेवाको हिस्सा बढ्दो क्रममा रहेको छ । ४ जी अर्थात् भीओएलटीइ सेवा परीक्षणको रुपमा संचालन गरी ग्राहक आधार १० लाख भन्दा बढी पुगिसकेको छ । जसमा सक्रिय ग्राहक १ लाख ६० हजार भन्दा बढी छ ।
५ जी सेवा परिक्षणकोलागि नेपाल दूरसंचार प्राधिकरणबाट स्वीकृति प्राप्त भई परिक्षण सम्बन्धी कार्यविधि बमोजिम सेवा परिक्षणको लागि आपूर्तिकर्ताहरुसंग समन्वय भईरहेको छ । एफटीटीएच आयोजना सम्बन्धमाः कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने फाइबर टू होम (एफटीटीएच) सेवाको योजनालाई चालु आर्थिक वर्षमा निरन्तरता दिदै सेवा विस्तार तीव्र रुपमा गरिरहेको छ । हालसम्म यो सेवा ६३ जिल्लामा पुगिसकेको छ ।
नेपाल टेलिकमले चा.लु. आ.ब. ०७८÷७९ लाई एफटीटीएच बर्ष घोषणा गरी करिब ४ लाख लाइनको वितरण योग्य नेटवर्क विस्तार तथा स्थानान्तरण र नयाँ गरी २ लाख २६ हजार एफटीटीएच लाइन वितरण गर्ने लक्ष्य लिएको छ । चालु आ.व. को पौष मसान्त सम्मको ६ महिनाको अवधिमा करिब १ लाख ९९ हजार वितरण योग्य नेटवर्क तयार गरिसकिएको छ । सेवा वितरण तर्फ यसै आ.व.मा करिब ६१ हजार ८ सय थप ग्राहकलाई एफटीटीएच मा आबद्ध गरिसकेको छ ।
मध्य पहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, मधेश प्रदेश र बाग्मती प्रदेशका जिल्ला, नगरपालिका र गाउँपालिकाहरुलाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको छ । सो क्षेत्रमा हालसम्म १ हजार १ सय १२ किमी (५९.१६ प्रतिशत) कार्य सम्पन्न भएको, २६ स्थानमा हाइ क्यापासीटी डीडब्लूडीएम प्रणाली जडान भई २४ स्थानमा संचालनमा ल्याइसकेको तथा सम्पूर्ण ४७ स्थानमा कोर राउटर जडान कार्य सम्पन्न भइसकेको छ्र ।
कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने मध्य पहाडी लोकमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउने गरी हालै सम्झौता भई कार्य अगाडि बढाइएको छ । उक्त क्षेत्रमा हालसम्म १०० किमी फाइबर विस्तार भएको, २२ स्थानमा डीडीएम प्रणाली जडान भई १६ स्थानमा संचालनमा ल्याउने कार्य जारी रहेको र कोर राउटर जडान कार्य समेत शुरु भएको छ ।
नेपाली नागरिकहरुलाई वित्तीय पहुँच सहज रुपमा पु¥याउने उदेश्यले नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा सहायक कम्पनी स्थापना गरी ‘नमस्ते पे’ सेवा संचालनमा ल्याइसकेको छ । प्रथम चरणका सेवाहरुको रुपमा बैंकबाट वालेटमा टपअप गर्ने, दूरसञ्चार सेवाको रिचार्ज गर्ने, बिद्युत तथा खानेपानीको महसुल तिर्ने लगायतका सेवाहरु उपलब्ध भइसकेका छन् । हाल यसका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरु थप गर्ने कार्य भइरहेको छ ।
आगामी दिनमा बस तथा हवाईजहाज टिकट खरिद गर्ने, इन्टरनेट, टिभी, स्कुल कलेजको बिल तिर्ने लगायतका सेवाहरु थप्ने कार्य योजना रहेको छ । कम्पनीका कर्मचारीहरुको वृत्ति विकास तथा सेवा सुबिधा सम्बन्धी व्यवस्था समाबेश भएको कम्पनीको नयाँ कर्मचारी बिनियामवाली, २०७८ कार्यन्वयनमा आएको छ । कम्पनीको नयाँ सांगठनिक संरचना तथा कर्मचारी दरबन्दी स्वीकृत भएको र यससँगै बिगत चार वर्षदेखि रोकिएको पदपूर्तिको प्रक्रिया अघि बढेकोले कर्मचारीहरुलाई बृत्तिबिकासको अवसर प्राप्त भएको छ ।
आगामी दिनमा दरबन्दी बमोजिम कर्मचारीहरुको पदस्थापन गर्ने, कार्य सम्पादनको आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, तालिम÷ वर्कसप÷ सेमिनार आदिमा सहभागी गराउने, पदपूर्तिको लागि समय तालिका बमोजिम बिज्ञापन गर्ने र कर्मचारीलाई प्रबिधिमैत्री बनाउने कार्ययोजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस