
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टलेसंकटमा धकेलिएकोे पर्यटन क्षेत्र पुनः चलायमान हुन थालेको छ । कोरोनाको तेस्रो लहरको असहज परिस्थितिमा पनि विदेशी पाहुना आउन थालेसंगै पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखिएको हो ।
कोरोना संक्रमण घटेसंगै विदेशी पर्यटक आउन थालेको भन्दै पर्यटन व्यवसायी उत्साहित बनेका छन् । कोरोनाको नयाँ भेरियन्ट कम भएसंगै विदेशी पाहुनाहरु आउन थालेको होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाह बताउँछन । उनी भन्छन्, ‘कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै तंग्रिदै थियो । फेरि नयाँ भेरियन्टले पुनः संकटतिरै धकेल्छ की भन्ने त्रासमा हामी व्यवसायी रहेका थियौं । तर, संक्रमण छिटै नै घटेसंगै पर्यटकहरु आउन थालेका छन् । अहिले व्यवसाय चलायमान हुन थालेकामा खुशी छौं ।’
ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन व्यवसायी निकै सशंकित भए पनि यसको प्रभाव कम रहेको अध्यक्ष शाहले बताए । उनले भने, ‘ओमिक्रोन भेरियन्टका कारण हामी निकै त्रासमा थियौं । कोभिड विरुद्धको खोप आधाभन्दा बढी जनसंख्याले लगाइसकेकाले यसको प्रभाव कम देखियो । यसले गर्दा अब पर्यटन क्षेत्र विस्तारै चलायमान हुने देखिन्छ ।’
पर्यटन बोर्डको पछिल्लो तथ्यांकले पनि नेपालमा विदेशी पर्यटकको आगमन अघिल्लो वर्षको तुलनामा बढ्न थालेको देखाउँछ । यो पर्यटकीय सिजन भएकोले पर्यटकको आगमन पनि बढ्न थालेको पर्यटन बोर्डको भनाई छ ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को जनवरी महिनामा १६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यस महिना हवाई मार्गबाट १६ हजार ९७५ विदेशी पर्यटक नेपाल आएका हुन् । अघिल्लो वर्ष सन् २०२१ को सोही महिनामा आठ हजार ८७४ विदेशी पर्यटक नेपाल आएका थिए । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ९१.३ प्रतिशत बढी हो ।
विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको यो सुधारले पर्यटन क्षेत्रलाई केही हदसम्म सकारात्मक ऊर्जा प्रदान गरेको पर्यटन बोर्डको भनाई छ । कोरोना महामारीको असहज परिस्थितीमा पनि पर्यटक आगमन हुनुलाई सकारात्मक मान्नुपर्ने बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन् ।
उनी भन्छन्, ‘कोरोना महामारीको असहज परिस्थितिका बीच हजारौं पर्यटक भित्रिनु भनेको सकारात्मक पक्ष हो । यसले अबनेपालमा वास्तविक पर्यटक आउन थालेको संकेत गर्छ । पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा पैदा भएको छ ।’
पर्यटन बोर्डका अनुसार सन् २०२२ को जनवरी महिनामा सार्क मुलुकबाट सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । यस अवधिमा यो मुलकबाट पाँच हजार ५०५ जना पर्यटक आएका छन् । जसमा छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै तीन हजार ९१६ र बङ्गलादेशबाट एक हजार २३१ पर्यटक नेपाल भित्रिएका छन् ।
त्यस्तै, युरोपबाट तीन हजार ५२७ जना पर्यटक नेपाल भित्रिएका छन् भने एसिया तथा अन्य मुलुकबाट एक हजार ११४, अमेरिका र क्यानाडाबाट तीन हजार ६१८ जना पर्यटक नेपाल आएका छन् । यस्तै, यस अवधिमा अष्ट्रेलिया र न्यूजिल्याण्डबाट एक हजार २४० र अन्य मुलुकबाट एक हजार ९७५ पर्यटक नेपाल आएका छन् ।
सन् २०२१ मा एक लाख ५० हजार ९६२ र सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस