aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पर्यटनमन्त्री ज्यू, यी तीन क्यासिनोको इजाजत रद्द कहिले हुन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ माघ २०७८
पर्यटनमन्त्री ज्यू, यी तीन क्यासिनोको इजाजत रद्द कहिले हुन्छ ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत हप्ता बक्यौता नतिर्ने क्यासिनोहरुलाई बक्यौता तिर्न सात दिने अल्टिमेटम दियो । अल्टिमेटमको सात दिन नबित्दै मन्त्रालयले दरबारमार्ग स्थित याक एन्ड यती होटलको इजाजत नै रद्द गर्‍यो ।    

याक एन्ड यति होटलले ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ नेपाल सरकारलाई तिर्न बाँकी रहेको पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागको दाबी छ । उक्त रकम नतिरेको भन्दै मन्त्रालयले होटलको इजाजत नै रद्द गरेको हो । 

तर, यता याक एन्ड यती होटलका प्रवक्ता रमन कुमार कर्ण याक एन्ड यती होटलको इजाजत रद्द गर्ने निर्णय नितान्त पूर्वाग्रही रहेको बताउँछन् । उनी भन्छन्, ‘एक्कासि मन्त्रिको निर्देशनमा होटेल नै बन्द गर्ने निर्णय आउनु कल्पना भन्दा बाहिरको कुरा हो । याक एन्ड यती होटलको इजाजत रद्द गर्ने निर्णय नितान्त पूर्वाग्रही हो । अब यसबारे दुई वटा विकल्प छ । जुन या त हामी अब अदालत जानु पर्यो या मन्त्रालयले यो निर्णय फिर्ता गर्नुपर्‍यो ।’  

उनका अनुसार अस्तित्व मै नभएको क्यासिनोको लाइसेन्स मन्त्रालयले खारेज गर्नु अशोभनीय देखिन्छ । उनी भन्छन्, ‘कुन कानुनमा हामी चुकेका छौ देखाइदिनु पर्‍यो । कानुन अनुसार यो काम भएन भनेर भन्दिनु पर्‍यो । अस्तित्व मै नभएको क्यासिनोको नविकरण मन्त्रालयले कसरी गर्‍यो । वर्षौँ पहिले इजाजत रद्द भएको क्यासिनोलाई लिएर अहिले बक्यौता तिर्न भनिएको छ ।’   

त्यस्तै, पर्यटन विभागले नेपालगन्जस्थित ड्रिमल्याण्ड होटलको क्यासिनो बन्द गर्न निर्देशन दिएको छ । पर्यटन विभागका निर्देशक मोहनबहादुर जिसीले विज्ञप्ति जारी गर्दै रोयल्टी बापत ३८ करोड १० लाख ४५ हजार  ६६४ रुपैयाँ नबुझाएपछि होटेल बन्द र मिनी क्यासिनोको लाइसेन्स रद्द गरिएको जानकारी दिए ।   

ह्याप्पी आवर प्रालिको नाममा विभागबाट स्तर वर्गीकरण नै नभएको नेपालगन्ज उपमहानगरपालिका वडा नं १० स्थित ड्रिमल्याण्ड होटलमा आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेल खेलाइएको भन्ने बुझिन आएकाले बन्द गर्न निर्देशन दिइएको विभागको भनाई छ । 

विभागका अनुसार याक एन्ड यति र नेपालगन्जको क्यासिनो सहित पाँच क्यासिनो कम्पनीले ८७ करोड १५ लाख १५ हजार रुपैयाँ बक्यौता तिरेका छैनन् । यीमध्ये क्यासिनो सञ्चालनको इजाजत पत्र लिएका दुई कम्पनी र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेल सञ्चालनको इजाजत लिएका तीन कम्पनी पर्छ । 

बक्यौता नबुझाउने क्यासिनो इजाजत पत्र लिएको कम्पनी होटेल याक एन्ड यतिसँगै ओरियन्टल होटल्स लिमिटेड (¥याड क्यासिनो)ले १८ करोड ७६ लाख रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, ह्याप्पी आवरले २१ करोड ५५ लाख रुपैयाँ, रक इन्टरनेसनलले ११ करोड ४५ लाख ८२ हजार ८४८ रुपैयाँ र सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार रुपैयाँ बुझाउन बाँकी रहेको विभागले जनाएको छ । 

यसरी बक्यौता नतिर्ने दुई क्यासिनोको इजाजत रद्द गरेपछि अब बाँकी रहेका तीन क्यासिनोको के हुन्छ भन्ने सर्वत्र चासोको विषय बनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बक्यौता नतिर्ने दुई क्यासिनोको इजाजत रद्द गरेसँगै अब बाँकी तीन क्यासिनोबारे के निर्णय गर्छन् त्यो भने हेर्न बाँकी रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस