aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

नेपालमा पनि मोबाइल नम्बर पोर्टेबिलिटी गर्ने तयारी, के हो पोर्टेबिलिटी ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ फागुन २०७८
नेपालमा पनि मोबाइल नम्बर पोर्टेबिलिटी गर्ने तयारी, के हो पोर्टेबिलिटी ?

काठमाडौं । नेपालमा रहेका तीन वटा मोबाइल कम्पनीको मोबाइल नम्बर पोर्टेबिलिटी गर्ने चर्चा चल्न थालेको छ । चार वर्ष अघि टर्कीको एक कम्पनीले मोबाइल नम्बर पोर्टेबिलिटीको अध्ययन प्रतिवेदन नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको थियो । उक्त प्रतिवेदनका आधारमा प्राधिकरणले आफ्नो वार्षिक कार्यक्रममा समेत राखेको छ । तर, विदेशी कम्पनीले अध्ययन गरेर प्रतिवेदन बुझाएको चार वर्ष बित्न लाग्दा समेत यो काम भने हुन सकिरहेको छैन ।     

अहिले नेपालमा तीन वटा मोबाइल सेवा प्रदायक सञ्चालनमा छन् । भर्खरै प्राधिकरणले काठमाडौं उपत्यकाभित्र तीन वटा दूरसञ्चार कम्पनीको सेवाको मापन गरेको तथ्याङ्क समेत सार्वजनिक गरेको छ । तर तीन वटैको सेवामा गुणस्तरीयता नभएको प्राधिकरणले जनाएको छ ।    

मोबाइल नम्बर पोर्टेबिलिटीका लागि आवश्यक पर्ने कार्यविधि समेत बनाइसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । उक्त कार्यविधि मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको प्राधिकरणले जनाएको छ ।    

भारतमा २०२१ को डिसेम्बर महिनामा ८.५४ मिलियन मोबाइल नम्बर पोर्टेबिलिटी गरिएको थियो । नेपालमा पनि दूरसञ्चार प्राधिकरणले हाल मोबाइल नम्बर पोर्टेबिलिटी सेवा सञ्चालनमा ल्याउन आवश्यक तयारी गर्न लागेको छ । यसका लागि ग्लोबल बोलपत्र आव्हान गर्ने र यो सेवा सञ्चालन गर्ने कम्पनी छनोट गर्ने तयारीमा रहेको प्राधिकरणले जनाएको छ ।   

के हो मोबाइल नम्बर पोर्टेबिलिटी ?  

हाल नेपालमा सञ्चालनमा रहेका तीन वटा टेलिकम छन् । एनसेलको सेवा लिन एनसेलकै सिम र नम्बर योग गर्नुपर्ने बाध्यता छ । यस्तै नेपाल टेलिकमको सेवा लिन टेलिकमकै सिम र नम्बर प्रयोग गर्नुपर्ने हुन्छ ।    

मोबाइल नम्बर पोर्टेबिलिटीको सुविधा भएको खण्डमा कुनै पनि कम्पनीको सिम प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको नम्बरमै अर्को सेवा प्रदायकको सेवा लिन सक्छन् । यसको अर्थ आफ्नो पुरानै नम्बरमा अनुकूलता अनुसार सेवा प्रदायक परिवर्तन गर्न सकिन्छ । 

तर तपाईँ उक्त कम्पनीको सेवाप्रति सन्तुष्ट हुनुहुन्न र आफूले चलाइरहेकै नम्बरमा अर्को कम्पनीको सेवा लिन चाहनुहुन्छ भने यस्तोमा मोबाइल नम्बर पोर्टेबिलिटीले तपाईँको समस्या समाधान गर्दछ ।    

नेपालका सबै स्थानमा सबै कम्पनीको सेवा गुणस्तरीय छैन । यस्तो अवस्थामा मोबाइल नम्बर पोर्टेबिलिटी गरिएमा फाइदा हुने गर्छ । यदि यस्तो अवस्थामा मोबाइल नम्बर पोर्टेबिलिटी भएको खण्डमा जुन स्थानमा जुन कम्पनीको नेटवर्क राम्रो हुन्छ त्यही कम्पनीको सिमलाई मोबाइल नम्बर पोर्टेबिलिटी गरिएमा त्यहाँ जाँदा त्यहाँ राम्रो नेटवर्क नभएको कम्पनीको सिममा पनि नेटवर्क राम्रोसँग लाग्छ । यदि पुन त्यो सिममा पुरानै कम्पनीको सेवा लिन चाहेमा पुन मोबाइल नम्बर पोर्टेबिलिटी रद्द पनि गर्न पाइन्छ ।  

 

प्रतिक्रिया दिनुहोस