aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

करिब ५० लाख खर्चेर पशुपतिनाथ क्षेत्र झिलिमिली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ फागुन २०७८
करिब ५० लाख खर्चेर पशुपतिनाथ क्षेत्र झिलिमिली

काठमाडौं । पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारी स्वरुप झिलिमिली बनाइएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिनुभएसँगै महाशिवरात्रिका बेला अहिले यस क्षेत्रलाई  रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले सजाइएको हो  ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाउने काम गरिएको छ । सो कार्यका लागि करिव रु  ५० लाख खर्च भएको बताइएको छ । यसैगरी पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्र पनि बनाइएको छ ।  भोलि फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ ।  

महाशिवरात्रि नजिकिएसँगै पशुपति क्षेत्रमा चहलपहल निकै बढेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए । उनले भने, “हामीले यस क्षेत्रलाई रङ्गीचङ्गी र झिलिमिली बनाएका छौँ, अहिले यहाँ स्वदेश तथा विदेशबाट दर्शनार्थी आउने क्रम बढ्नाका साथै दैनिक चहलपहल पनि बढेको छ ।” खाली भित्तामा भगवान्का आकर्षक चित्र कोरिएपछि यो क्षेत्र झनै मनमोहक र अर्कषक बनेको पशुपति क्षेत्र विकास कोषका सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिए । 

महाशिवरात्रिका लागि आएका साधु र सन्तले पशुपतिका कुना कुनामा भीड बढेको छ । हंस मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको कोषले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस