
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी निर्वाचनसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिलाउनुपर्ने बताएका छन् । उनले नेपालका राजनीतिक दलहरुले पनि कोरोना भाइरसविरुद्धको खोपको विषयलाई प्राथमिकताका साथ अघि सार्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले संयुक्त रुपमा आयोजना गरेको कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषय अन्तरक्र्रियामा उहाँले निर्वाचनसम्म नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए । “सबै जनताले खोप लगाए, सबै कोरोनाबाट बच्न सक्दछन्”, उनले भने, “जसले गर्दा राजनीतिक दललाई पनि फाइदा हुन्छ, त्यसैले अझ सक्रिय भएर खोपको सन्देश लिएर जनता समक्ष जाऔं ।” उहाँले खोप नलगाउने जनतालाई खोप लगाउन आग्रह गर्नुपर्ने बताउनुभयो । उहाँले सीमित साधनस्रोतका बाबजुद नेपालले कोरोना भाइरस रोकथाम र नियन्त्रण गरेको बताए ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले अर्को महिनाबाट पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने जानकारी दिए । उनले खोप खरिदका लागि पत्रचार गरिसकिएको बताए । उनले आगामी वैशाखभित्र सबै १२ वर्षदेखि माथिका सबैलाई खोप लगाइसक्नेसमेत जनाए । यसअघि सरकारले १८ वर्षभन्दा माथि उमेर समूहलाई चैत मसान्तभित्र खोप लगाउने बताएको थियो । उनले कोरोना भाइरसविरुद्धको लडाइँमा अहिलेसम्मको अनुभवले अब क्षति नगर्नेसमेत बताए । “हामीले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जुन किसिमको काम ग¥यौं, त्यसको अनुभवले अब कोरोनाविरुद्ध लड्न सजिलो भएको छ”, उनले भने ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलले कोरोना भाइरस रोकथाम सबैको सहयोगबाट मात्र सम्भव भएको बताए। विश्व स्वास्थ्य सङ्गठन, नेपालका प्रमुख डा राजेश पाण्डवले कोभिड—१९ले मानिसलाई जीवन परिवर्तन गर्नसक्ने धेरै पाठ सिकाएको बताए । उनले कोभिड–१९ को कारणले हामीले यस्ता महामारी रोक्नका लागि आपत्तकालीन प्रतिकार्य योजनासहित तयार अवस्थामा बस्नुपर्नेमा जोड दिए । उनले कोभिड–१९ को खोप वैज्ञानिकले अहिलेसम्मकै सबैभन्दा छिटो विकास गर्न सफल भएको धारणा राखे । उनले कोरोना महामारीले परिवारसँग पुनर्रमिलन, परिवारलाई हेरचाह गर्न र शारीरिक, मानसिक, तथा आर्थिक समस्याको सामना गर्न सिकाएको बताए ।
प्रतिक्रिया दिनुहोस