
काठमाडौं । दुई महिनादेखि कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको न्यारो बडी विमान नेपाल ल्याइएको छ । गएको पुस १३ गतेदेखि बिग्रिएर ग्राउन्डेड भएको उक्त न्यारो बडी विमान भाडाको इन्जिन जडान गरेर दुई महिनापछि नेपाल ल्याइएको हो ।
निगमको न्यारोबडी ए ३२० विमान ९एन–एकेडब्ल्यू० पुस महिनामा काठमाडौँ–दोहा नियमित उडानका क्रममा पार्किङ वेमा इन्जिनमा समस्या देखिएपछि ग्राउन्डेड रहेको थियो । उक्त न्यारो बडी नेपाल ल्याउन निगमले ग्लोबल टेन्डरमार्फत कम्पनी छनोट गरेर तीन महिनाको लागि भाडाको इन्जिन जडान गरेर नेपाल ल्याएको निगमले जनाएको छ । निगमले नेदरल्याण्ड्सको एमटियू मेन्टिनेन्स लिज सर्भिसेज बिभी कम्पनीमार्फत विमानको इन्जिन भाडामा लिएर जहाज नेपाल ल्याइएको बताइएको छ ।
दोहास्थित कतार एयरवेजका इञ्जिनीयरिङ टिमले विमानको बायाँतर्फको इन्जिनमा इन्टरनल डिफेक्ट पहिचान गरेर निगमलाई इन्जिन फेर्न सुझाएको थियो । इन्जिनको उत्पादनकर्ता डिडब्ल्यूरआइएईसँग निगम व्यवस्थापनले गरेको परामर्शपछि इन्जिन मर्मत गर्न सकिने अवस्था रहेकाले तीन महिनालाई इन्जिन भाडामा लिएर निगमले उक्त जहाज नेपाल ल्याइएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।रासस
प्रतिक्रिया दिनुहोस