aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

युट्युबमार्फत चरित्र हत्या गर्ने परियार र चिलुवाल पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ फागुन २०७८
युट्युबमार्फत चरित्र हत्या गर्ने परियार र चिलुवाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीले युट्युब च्यानलमार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत भ्रामक समाचार सम्प्रेषण गरी चरित्र हत्या गर्ने नागार्जुन नगरपालिका–८ भीमढुङ्गाका हरि परियार र लमजुङ राइनास नगरपालिका घर भई तारकेश्वर शेषमती बस्ने २७ वर्षीय निशान चिलुवाललाई आज पक्राउ गरेको हो । 

पक्राउ परेका परियारले ‘नेपाल मिडिया’ र चिलुवालले ‘विशाल नेपाल’ नामक युट्युब च्यानलमार्फत गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेकाले पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिनुभयो ।

उनीहरुले विद्युतीय ऐन, २०६३ अन्तर्गतको कसुर गरेकाले पक्राउ गरिएको प्रवक्ता अर्यालले बताउनुभयो । पक्राउ दुवैलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस