
काठमाडाैं । पाँचपोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २१ कि.मि.को दुरीमा तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन २०१९ साउन ३० गतेका दिन आयोजना हुने भएको छ ।
समुन्द्री सतहदेखि करिब ४ हजार १ सय मि.को उचाइमा पर्ने यस स्थानमा पाँच वटा पोखरीहरू रहेका छन् । यो पोखरी संसारकै उच्च स्थानमा रहेको पोखरीहरू मध्ये उचाइको हिसाबले नवौं स्थानमा पर्ने आयोजकले बताए ।
पाचँपोखरीमा भदौ पुर्णिमाको दिन विशेष मेला लाग्ने गर्दछ । उक्त मेला हेर्न सिन्धुपाल्चोक र आसपासका विभिन्न जिल्लाहरूबाट हजारौको संख्यामा धार्मिक पर्यटकहरूले पाचँपोखरी दर्शन गर्ने गरेको छन् ।
प्रतियोगितामा विभागिय टोलीहरूमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र व्यक्तिगत गरी करिब १ सय ५५ जना खेलाडी सहभागी रहने आयोजकले जनाएको छ ।
उस प्रतियोगितामा पुरूष र महिलाहरूको छुट्टाछुट्टै प्रतिष्पर्धा गराउने र प्रत्येक समुहका प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने धावकहरूलाई ५० हजार, ३० हजार, २० हजार, १० हजार र ५ हजार पुरस्कारको व्यवस्था लगरिएको छ ।
सिन्धुपालचोकबाट सहभागी हुने खेलाडीहरू मध्येबाट प्रथम, दोस्रो, र तेस्रो हुने धावकहरूलाई १५ हजार, १० हजार, र ५ हजार नगतसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिदने भएको छ ।
कार्यक्रममा सहभागी हुनको लागि पाँचपोखरी थाङ्पाल गाउँपालिका, खेलकुद विकास समितिमार्फत फारम वितरण गरिएको छ भने म्याराथनको फेसबुक पेजमा गएर अनलाइन फारम भर्न पनि सकिने छ ।
नेपाल सरकारले २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने निर्णय गरिरहदा पाँचपोखरी थाङ्पाल गाउँपालिकाका बासिन्दाले पाँचपोखरीलाई १०० नयाँ पर्यटकीय गन्तव्यहरू मध्येमा पर्न सफल भएको आयोजकको भनाई छ ।
प्रतिक्रिया दिनुहोस