aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

‘ह्यायात होटलको मुख्य समस्या नै हिसाब गोलमाल हो’

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • सोमबार, ०७ चैत्र २०७८
‘ह्यायात होटलको मुख्य समस्या नै हिसाब गोलमाल हो’

काठमाडौं । तारागाँउ विकास समिति अन्तर्गतको ह्यायत रिजेन्सी होटलमा रहेको सरकारको शेयर फिर्ता गराउन नव नियुक्त सदस्य सचिव नारद कुमार लुइँटेल लागि परेका छन् । तारागाँउ रिजेन्सी होटलमा सरकारको ४० प्रतिशत संस्थापक शेयर रहेकोमा हाल ९ प्रतिशत मात्र रहेकाले बाँकी शेयर फिर्ता गराउन सदस्य सचिव लागि परेका हुन् । 

उनका अनुसार थोरै लगानीमा तीन थरिका लगानीकर्ताबाट ह्यायात रिजेन्सीको सुरुवात भएको थियो । सदस्य सचिव लुइटेँल भन्छन्, ‘हामीले पहिले थोरै लगानीमा कम्पनीको सुरुवात गरेका थियौ । तीन थरिका लगानी कर्ता भयौ । एउटा तारागाउँ विकास समिति, नेपाली सर्वसाधारण र भारतीय संयुक्त ग्रुप र सर्वसाधारणको पनि शेयर थियो ।’

तर, कम्पनी निरन्तर घाटामा गएका कारण सरकारको ४० प्रतिशत संस्थापक शेयर रहेकोमा उक्त शेयर घटेर अहिले ९ प्रतिशतमा आइपुगेको उनी बताउँछन् । उनी भन्छन्, ‘कम्पनी घाटामा गयो हामी पैसा लगानी गर्दै गर्यौ । यो प्रक्रिया केही समय चल्दै गयो । केही समयपछि हामीलाई बैंकले ऋण पत्याएन । त्यसपछि बैंकलाई नै हामीले शेयर दियौ ।’

‘निरन्तर घाटामा गएका कारण जसरी भएपनि होटल चल्नुपर्छ, भनेर सबैले शेयर घटाएको जस्तो गरे । तर, पछि ऋण तिर्न नसकेर बैंकलाई दिएको शेयर उनीहरुले किने । अहिले उनीहरुको ९० प्रतिशत शेयर पुर्याए । हाम्रो शेयर घटाएर ९ प्रतिशतमा आयो’, उनले भने । 

उनका अनुसार यसअघि निरन्तर रुपमा घाटामा गएको ह्यायात रिजेन्सीबाट थोरै आम्दानी हुन लागेको छ । उनले भने, ‘तीन वर्ष अघिसम्म कम्पनी सधै घाटामा गएको भनिएको थियो । तर अहिले भने उक्त होटलबाट थोरै फाइदा लिन थालेका छौ ।’

‘कम्पनी साँच्चि नै घाटामा नै गएको होकी बढी खर्च देखाएर घाटामा गएको हो । खर्च नै नभइकन खर्च भयाे भनेर खाएका छन् । नभएको खर्च देखाएर कम्पनी घाटामा गएको हो भने हामी त्यो मान्दैनौ । हामीलाई शेयर फिर्ता चाहिन्छ, र हिसाब किताब हेर्नुपर्छ भन्ने हाम्रो माग हो । कम्पनी निरन्तर घाटामा गएको र ह्यायतहोटलले हकप्रद शेयर जारी गरेका कारणले हाम्रो शेयर घटेर गएको हो’, लुइँटेलले सुनाए । 

तारागाँउ विकास समिति ह्यायात रिजेन्सीमा रहेको ४० प्रतिशत शेयर पुरानै रुपमा हुनुपर्ने माग राख्दै आएको उनी सुनाउँछन् । उनले भने, ‘हाम्रो नितान्त उद्देश्य ह्यातमा रहेको ४० प्रतिशत शेयर पुरानो रुपमा हुनुपर्छ भन्ने हो । बाँकी रहेको हाम्रो जग्गा पनि फिर्ता हुनुपर्छ । यसका साथै शेयर प्रतिनिधित्व र होटलको हिसाब किताब पारदर्शी हुनुपर्छ । म यस विकास समितिमा सदस्य सचिव भएर आएको पनि त्यहि कामको लागि हो ।’

‘ह्यायात होटलबाट नाफा भएको भए त्यो पैसाले अझै हामी गाउँ/गाउँमा आन्तरिक पर्यटकहरुको विकास र विस्तार गर्नुका साथै होमस्टेहरुको पनि प्रवद्र्धन गर्न सक्ने थियौ । हाम्रो मुख्य उद्देश्य ह्यायात होटल सञ्चालनमा रहेको सम्पत्तिको सदूपयोग गर्नु हो’, उनले भने । 

यसका साथै ह्यायात होटललाई कल्चर सेन्टर बनाउन लिजमा दिएको जग्गा समेत फिर्ता लिन लागेको उनले जानकारी दिए । उनी भन्छन्, ‘जुनकाममा लागि ह्यायातलाई जग्गा लिजमा दिएका थियौ । त्यो काम गर्न नसकेपछि उक्त जग्गा फिर्ता लिने प्रक्रियामा छौ ।’

‘हुनत अहिले त्यो जग्गामा नारद लाग्यो भन्ने आरोप पनि छ । मुआब्जा नदिएको जग्गाको विवाद रहेछ । यसअघि पनि अध्यक्ष तथा कार्यकारी प्रमुख भएर काम गरेको थिए । मेरो कार्यकाल भन्दा अघि दर्ता भएको मुद्दा मेरो कार्यकालमा पेशी, मिति केही पनि तोकिएन अहिले चार पाँच महिना अगाडी झगडाको कारण देखाउ भन्ने आदेश आएको रहेछ । म त्यो कुनै पनि काममा संलग्न थिइन । सरकारले अधिग्रहण गरेको त्यो जग्गा कसैले खान र लान सक्दैन’, उनले भने ।
 
उक्त जग्गा ७५ जिल्लाको जनजाति झल्किने क्षेत्र (कल्चर सेन्टर )बनाउने भनेर ह्यायातलाई दिएका थियौ । अहिले होटलले पनि प्रयोग नगरेर खाली नै बसिरहेकाले अरु कसैले सहि रुपमा सदुपयोग गरोस् भनेर जग्गा फिर्ता लिन लागेका छौ । यसका लागि उक्त काम नगरेकाले फिर्ता दिन्छौ कि काम गर्छौ भनेर मन्त्रालयमा छानबिन समिति पनि बनाएका छौ । 

उनका अनुसार तारागाँउ विकास समितिको सम्पत्ति ३६० रोपनी भन्दा बढी रहेको छ । उनले भने, ‘हाम्रो अहिलेको ठूलो सम्पत्ति भनेको ह्यायतहोटललाई दिएको ३०४ रोपनी जग्गा हो । न्युरोडमा एउटा रमागृह भन्ने घर छ । त्यस बाहेक ह्यायतहोटल पछाडि ४ रोपनी जग्गा छ ।’

‘यससँगै नेपाल सरकारको पर्यटन मन्त्रालय अन्तर्गतको सम्पत्ति ककनीमा भएको २८ रोपनी र रिसोर्ट पनि तारागाउँ विकास समितिलाई दिएको छ । र पोखरामा १७ रोपनी छ भने नगरकोटमा ७ रोपनी जग्गा र रिसोर्ट रहेको छ’, उनले सुनाए ।  ।

हाल ककनी, नगरकोट र पोखरामा भएका सम्पत्तिहरु तारागाँउ विकास समितिले नै सञ्चालन गरिरहेको छ । उक्त सम्पत्ति मितिले नै सञ्चालन गरेको भएपनि अपेक्षा अनुसार राम्रो नभएको उनले सुनाए । उनी भन्छन्, ‘ककनी, नगरकोट र पोखरामा भएका सम्पत्तिहरु हामीले नै सञ्चालन गरिरहेका छौ । अपेक्षा अनुसार राम्रो भएको छैन । सुधार गरिरहेका छौ ।’ 

हाल तारागाँउ विकास समितिले देशभरिका होमस्टेहरुको प्रवद्र्धन र व्यवस्थापन गरिरहेको छ । उनले भने, ‘ककनी पोखरा र नगरकोटमा रिसोर्ट पनि सञ्चालन गरिरहेका छौ । पर्यटकिय क्षेत्रलाई प्रवद्र्धन गर्यो भने निजी क्षेत्र पनि पनि आउँछन्  र यसले रोजगारी पनि सिर्जना गर्छ भनेर ४२ वर्ष अगाडी देखिनै सञ्चालन गरेका ती रिसोर्टहरुलाई निरन्तरता दिइरहेका छौ ।’

‘अहिले पछिल्लो समयमा भने विशेष रुपमा होमस्टे प्रवद्र्धनको काम गरिररहेका छौ । तारागाउँ विकास समितिले रिसोर्ट र होमस्टेहरुको सञ्चालन र प्रवद्र्धन गर्ने कामहरु गरिरहेको छ । यससँगै होमस्टे प्रवद्र्धन गर्न पूर्वाधारहरु बनाइदिने कामपनि गरिरहेका छौ’, उनले भने । 

होमस्टे सञ्चालन गर्न चाहनेहरुका लागि कसरी सञ्चालन गर्ने भन्ने बारेमा तालिमहरु दिने गरेको समेत उनले जानकारी दिए । उनी भन्छन्, ‘अहिले हामी होमस्टेको प्रद्र्धनमा नै लागिरहेका छौ । होमस्टे सञ्चालन गर्नेहरु सबैलाई भेला गरेर कार्यशाला गोष्ठी सञ्चालन गर्छौ ।’

उनका अनुसार वि.स २०३४ सालमा तारागाँउ विकास समितिको स्थापना भएको हो । यसको अध्यक्ष अंगुरबाबा जोशी थिइन । ‘सुरुवातमा हामीले हेटौडा सिमेन्ट र रडको डिलर लिएर सञ्चालन गरेका थियौ । हस्तकलाका सामानहरु पनि बेच्ने गरेका थियाै’, उनले सुनाए । 

‘पञ्चायतकाल पछि बहुदल आएसँगै हामीले यसलाई परिस्कृत गर्दै गएर विशेष गरी ग्रामीण पर्यटनको प्रवद्र्ध गर्ने उद्देश्यले यस तारागाँउ विकास समितिको विकास गर्दै गएका छौ । कार्यक्रमहरु पनि त्यसै अनुरुप चलिरहेको उनी बताउँछन् । 

उनका अनुसार समितिको अनुमति बिना न्युरोडमा रहेको भवनमा अस्थायी संरचना बनाएको थियो । उनले भने, ‘मेरो कार्यकालमा उक्त भवनमा थपिएको संरचना सम्पन्न भएको थिएन । अब त्यो संरचनालाई हामी भत्काउन पनि सक्छौ । त्यसमा भाडा थप गर्न पनि सक्छौ ।’

‘ह्यातको विषयमा भने सरकारले उक्त भवन बनाउँदा जुन सहमति दिनुपर्ने थियो त्यो सहमति नलिई भवन बनायो । पछि हामीले छानबिन गरेपछि भने उनीहरुले जरिवाना तिर्र्छौ भन्न थाले । उक्त विषयमा पनि हाम्रा मान्छे गएर भत्ता बुझ्ने बाहेक केही काम गरेनन्’, उनले सुनाए । 

उनका अनुसार हाल समितिले ककनीमा नयाँ पिकनिक हल र पोखरामा पनि एउटा हल बनाएको छ । मेरो नयाँ योजना भनेको होटल म्यानेजमेन्ट क्षेत्रका दक्ष मान्छेहरु ल्याएर उनीहरुलाई टार्गेट दिने हो उनले भने ।

उनी भन्छन, ‘ह्यायतहोटलको छानबिनका साथै समग्र तारागाँउ विकास समितिलाई पनि कसरी अगाडी बढाउन सकिन्छ भनेर मन्त्रालयको अनुगमनसँग होमस्टेको विषयमा समिति बनिरहेको छ । एक हप्तामा एउटा प्रतिवेदन दिन्छ । त्यसपछि ह्यायतहोटललाई के गर्ने भन्ने केही निष्कर्ष निस्किएला । 

‘ककनी र पोखरामा भएका उक्त संरचनाहरुको सही तरिकाले कसरी उपयोग गर्ने भन्ने विषयमा सरकारी कर्मचारी र पर्यटन मन्त्रालयका कर्मचारीहरु पोखरा भ्रमणमा जान्छन् । यस विकास समितिको न्युनतम लागतमा उक्त भ्रमणका लागि पहल गर्र्छौ’, उनले भने । 

उनका अनुसार ककनीमा रहेको सम्पत्तिको विषयमा भने के गर्ने भन्ने अझै अन्यौल रहेको छ । उनी भन्छन्, ‘हामीले पूर्ण रुपमा सञ्चालन गर्न र महिनाको कर्मचारी खर्च अनुसारको आम्दानी गर्न सक्ने÷नसक्ने एउटा टार्गेट गर्छौ । सञ्चालन गर्न सकेनौ भने पर्यटन मन्त्रालयसँग समन्वय गरेर उक्त सम्पत्तिलाई लिजमा दिन्छौ । त्यसबाट भएको आम्दानीलाई अरु ठाउँमा लगानी गर्ने र संरचनाहरु बनाउने भनेर लागि परेका छौ ।’ 

‘तर पहिलो प्राथमिकता भनेजग्गा लिजमा नदिई तारागाँउ विकास समितिका अरु संरचना बनाउने भन्ने नै छ । एक दुई वर्षमा नाफामा जान सक्छौ भनेर लागि परेका छौ’, उनले भने ।

ह्यायात होटलले हिसाब किताबमा पारदर्शिता देखाउन नसकेको उनको आरोप छ । उनी भन्छन्, ‘हायात होटलको मुख्य समस्या नै हिसाब गोलमाल हो । सरकारलाई तिर्ने करको हिसाब र विदेशमा पठाउने हिसाब फरक छ । एउटै खर्चको हिसाब तीन चोटी देखाएको छ ।’

चार वर्षको कार्यकालमा एक पटक पनि ह्यातको बोर्ड मिटिङमा आफू उपस्थित नभएको उनी सुनाउँछन् । सदस्य सचिव लुइँटेल भन्छन्, ‘मेरो चार वर्षको कार्यकालमा पनि मैले एक दिन पनि ह्यातको बोर्ड मिटिङमा उपस्थित भइन । हाम्रो एजेन्डा लागु हुन्छ भने मात्र जानी भनेर बसेका थियौ । अहिले आउनु भएको अध्यक्ष जानु भएछ । मन्त्रालयसँग समन्वय गरेर हाम्रो माग को सुनुवाई नहुन्जेल नजाने भनेर बसेका छौ ।’

‘शेयरको विषयमा ४० प्रतिशत पुगोस र हायात होटलको हिसाब किताव सरकारले हेर्न सक्ने वातावरण बनाउ र बोर्डमा हाम्रा मान्छे जाँदा हायात होटलले पैसा कमाएको छ भन्ने वातावरण बनोर भन्ने नै हाम्रो लक्ष्य हो । हाम्रो सम्पत्ति कसरी फिर्ता गर्न सकिन्छ भनेर लागि परेका छौ । मेरो नियुक्ती पनि त्यहि कामको लागि हो’, उनले सुनाए । 

उनी भन्छन्, ‘अहिले पर्यटनको धेरै नै सम्भावना छ । होमस्टेको माध्यमबाट धेरैले रोजगारी पाएका छन् । ठाउँ÷ठाउँमा महिलाहरुले पनि रोजगारी पाएका कारण उनीहरुको आर्थिक स्तर पनि माथि उठेको छ । अहिले हामी तारागाँउलाई ग्रामीण पर्यटनको अगुवा संस्था र सरकारले पनि पैसा दिन नपर्ने हाम्रै आम्दानीले विकसित गर्ने भनेर लागेका छौ ।’

उनका अनुसार तारागाँउ विकास समितिले वार्षिक रुपमा नाफामा गएको बेला ह्यायतहोटलले ३ करोड रुपैयाँ न्युरोडको घरबाट १ करोड रुपैयाँ र बाँकी लिजको जग्गाबाट ५ करोड रुपैयाँसम्म आम्दानी हुने गर्छ । त्यसलाई अझै व्यवस्थित गर्न सकेमा वार्षिक आम्दानी १० करोड रुपैयाँसम्म पनि पुर्याउन सकिन्छ । 

‘यस विकास समितिमा ह्यातको विषयमा कुरा उठाएको मैले हो । कतिलाई चित्त नबुझेर कसरी यसलाई बदनाम गर्न सकिन्छ, भनेर केही लागेका थिए । यस पटकको कार्यकालमा ह्यातको विवादलाई सल्टाउँछौ भन्ने मलाई आत्म विश्वास छ’, उनले भने । 

प्रतिक्रिया दिनुहोस