aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

यी विमान कम्पनीले बुझाएनन् करोडौं शुल्क, नतिरे क-कसको बैंक खाता रोक्का हुन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ चैत्र २०७८
यी विमान कम्पनीले बुझाएनन् करोडौं शुल्क, नतिरे क-कसको बैंक खाता रोक्का हुन्छ ?

काठमाडौं । पटकपटक ताकेता गर्दा पनि केही एयरलाइन्सले बक्यौता रकम नतिरेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कारबाही गर्ने भएको छ । प्राधिकरणले हाल सञ्चालनमा नरहेका तर बाँकी बक्यौता नतिर्ने विभिन्न सात एयरलाइन्सलाई कारबाहीको तयारी गरेको हो । ती एयरलाइन्सलाई सात दिनभित्र बक्यौता रकम बुझाउन प्राधिकरणले सोमबार सार्वजनिक सूचना निकालेर ताकेता गरेको छ । 

बक्यौता रकम नबुझाउने एयरलाइन्सलाई कानूनी दायरामा ल्याइने प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले सात दिनभित्र एयरलाइन्सले बक्यौता रकम नबुझाए कार्बाही गरिने बताएका छन । उनका अनुसार बक्यौता बुझाउने सातदिने समय सकिएपछि बक्यौता रकम नबुझाउने सम्बन्धित एयरलाइन्सका सञ्चालकलाई विदेश भ्रमण रोक्नेदेखि बैंक खाता रोक्का गरिनेछ । महानिर्देशक अधिकारीले भने, “यो सूचनापछि तुरुतै प्रवेशाज्ञा रोक्का हुन्छ । विदेश भ्रमण र नेपाल भरका बैंक खाता रोक्का गरिनेछ ।”

बक्यौता नतिर्ने एयरलाइन्स कम्पनीमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डप रहेका छन् । यीमध्ये नेकोन एयरको चार करोड ७२ लाख २५ हजार ३४३ रुपैयाँ रहेको छ । 

नेकोन एयरका सञ्चालकहरुमा अध्यक्ष तथा प्रबन्ध सञ्चालक दिपमण राज भण्डारी, उपाध्यक्ष मुकुन्द भक्त श्रेष्ठ, सञ्चालक दिपकराज कोइराला, रविन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी रहेका छन् । त्यस्तै, शिवानी एयरको ५५ लाख ५१ हजार ५३ रुपैयाँ बक्यौता रहेको छ । शिवानी एयरको सञ्चालकमा मणिन्द्र लाल रंजितकार रहेका छन् । गोरखा एयरको २० लाख ३५ हजार २९ रुपैयाँ बक्यौता रहेको छ । उक्त एयर का सञ्चालकहरुमा प्रज्वल श्रेष्ठ, डा. उज्वल श्रेष्ठ, गिन्नीबाबा श्रेष्ठ र सूर्य प्रसाद श्रेष्ठ रहेका छन् । 

त्यसैगरी, माउन्टेन एयरको ६ लाख १० हजार ८३४ रुपैयाँ बक्यौता रहेको छ । माउन्टेन एयरका सञ्चालकहरुमा प्रज्ञान शमसेर जबरा, सिद्धिदा राणा र शिवेन्द्र बहादुर बस्नेत रहेका  छन् । कस्मिक एयरले ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । जसका सञ्चालकहरुमा क्या. रविन्द्र प्रसाद प्रधान रहेका छन् । 

त्यस्तै स्काइलाइन एयरवेजको ७ लाख ८० हजार ४ सय रुपैयाँ बक्यौता रहेको छ । जसको सञ्चालकमा कार्यकारी अध्यक्ष आंङ छिरिङ शेर्पा, उपाध्यक्ष मिङ दोर्जे शेर्पा, सञ्चालक पेम्बा छिरिङ शेर्पा, प्रवन्ध सञ्चालक तेन्जिङ नोर्बु शेर्पा, सञ्चालक यादव खरेल, विक्रम पाँडे, केदार बहादुर प्रधानाङगं, उत्तम कृष्ण खरेल रहेका छन् । 

त्यसैगरी एयर काष्ठमण्डपले सात लाख ३८ हजार ४४७ रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेका छ । एयर काष्ठमण्डपको सञ्चालकहरुमा प्रज्वल श्रेष्ठ, उज्वल श्रेष्ठ र कतारका हमाद अलीजावर रहेका छन् । प्राधिकरणका अनुसार ताकेतापछि कर्णाली एयरले बक्यौता तिरेको छ । बक्यौता नतिर्ने अन्य एयरलाइन्सलाई कारबाही गरिने प्राधिकरणले जनाएको छ ।

 प्राधिकरणको बक्यौता नतिरेमा सरकारी बाँकी सरह असुल उपर गर्ने कानुन अनुसार सञ्चालकको जायजेथाबाट असुलउपर हुन सक्ने प्रावधान रहेको छ । विमानस्थल सेवा शुल्क नियमावली अनुसार ती सञ्चालक तथा कम्पनीले भविष्यमा हवाई सेवा, विमान स्थल तथा प्राधिकरणसँग सम्बन्धित कुनै पनि प्रकारको सेवा लिन नपाउने जनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस