
काठमाडौं । नेपाल पर्वतारोहण संघको २१ औँ वार्षिक साधारणसभा स्थगन भएको छ । भोलि चैत ९ गते बुधबारका लागि तय गरिएको साधारणसभा उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशलाई सम्मान गर्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको संघले जनाएको छ ।
उच्च अदालत पाटनले आज अल्पकालीन आदेश जारी गर्दै संघको साधारणसभा नगर्नु नगराउनु भनी आदेश दिएको हो । संघको नियमित वार्षिक साधारणसभा नगर्नु नगराउनु भनी संघका विरुद्ध अन्तरिम आदेशको माग गर्दै सोलुखुम्बुका काजी शेर्पा र सोलुखुम्बु घर भई हाल काठमाडौँ बस्ने आङनोर्बु शेर्पाले दायर गरेको उत्प्रेषण मुद्दामा उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएकाले साधारणसभा स्थगन गरिएको सङ्घले विज्ञप्ति निकालेर सबै सदस्यहरुलाई जानकारी गराएको छ ।
साधारणसभाको सम्पूर्ण तयारी तथा व्यवस्थापन भइसकेपछि अन्तिम अवस्थामा आएर साधारणसभा स्थगन गर्नुपरेकोमा संघले सदस्यहरुमा क्षमा मागेको छ ।
प्रतिक्रिया दिनुहोस