
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छिन । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भइरहेका बेला रेलसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट पारित नभएर निष्क्रिय बनेको थियो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले गत मङ्सिर १५ गते सरकारले खरिद गरेको रेल तत्काल सञ्चालन नगर्दा रेलको इञ्जिनमा समस्या आउने र रेलको संरचनामा थप हानीनोक्सानी हुनसक्ने भन्दै तत्काल रेलसम्बन्धी कानुन व्यवस्था गरी सञ्चालन गर्न कारणसहित अध्यादेश पेश गरेकी थिइन ।
त्यसबखत सङ्घीय संसद्को अधिवेशन नभएको र रेलसम्बन्धी कानुन व्यवस्था गर्न आवश्यक भएकाले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ गत मङ्सिरमा जारी भएको थियो ।
प्रतिक्रिया दिनुहोस