aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

त्रिवि प्रतिक्षालयको शुल्क विवाद, सञ्चालक मल्होत्रा भन्छन्– लगानी कसरी उठाउनु ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ चैत्र २०७८
त्रिवि प्रतिक्षालयको शुल्क विवाद, सञ्चालक मल्होत्रा भन्छन्– लगानी कसरी उठाउनु ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिक्षालयमा बस्दा शुल्क तिर्नुपर्नेबारे अहिले चर्को विरोध भइरहेको छ । विमानस्थलको आगमनतर्फको प्रतिक्षालयमा बस्ने मानिसहरूले शुल्क तिर्नुपर्ने भएपछि चर्को आलोचना भएको हो । 

उक्त क्षेत्रको व्यवस्थापन आईएमएस एअरपोर्ट सर्भिसेजले गर्दै आएको छ । आईएमएस एअरपोर्ट सर्भिसेजले अन्तर्राष्ट्रिय आगमन हलमा सुपेरिअर र डिलक्स गरी दुईवटा प्रतिक्षाकक्ष बनाएको छ । कम्पनीलेसो प्रतिक्षाकक्षमा बस्ने व्यक्तिहरूबाट ५० देखि एक सय रुपैयाँ लिदै आएको छ ।

त्रिभुवन इन्टरनेशनल विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले आईएमएस एअरपोर्ट सर्भिसेजले करिब तीन महिनादेखि शुल्क लिइरहेको बताए । उनले आर्थिकन्युज डटकमसँग भने, ‘आईएमएसले सुविधा सम्पन्न पूर्वाधारहरु निर्माण गरेको छ । सम्झौता अनुसार निर्माण गरिएको पूर्वाधारभित्र यात्रुहरुलाई बस्न दिँदा सेवा शूल्क लिन पाउने उल्लेख छ । तर, सेवा शूल्क कति लिने भन्ने उक्त सम्झौतामा तोकिएको छैन । अहिले त्यहि विषयको वहस भइरहेको छ ।’ 

आईएमएस ग्रुपले निर्माण गरेको संरचनाको लागत उठाउन पनि शूल्क लिनुपर्ने सिटौलाको तर्क रहेको छ । तर, शूल्क निर्धारण गर्दा एक पक्षिय मात्र भयो भन्ने बुझाई रहेको उनको भनाई छ । ‘शूल्क एकपक्षिय लिएको आधारमा यहाँबाट आईएमएस ग्रुपलाई हटाउने भन्ने हाम्रो मनसाय भने होइन’, उनले भने ।

सुविधासम्पन्न प्रतिक्षलयमा बस्न चाहाने यात्रुहरुले थोरै भए पनि शूल्क तिर्नु पर्ने हुन्छ सोहि शुल्कका विषयमा दुबै पक्ष बसेर सहमति गर्न लागिएको पनि उनले जानकारी दिए । त्यस्तै, उक्त प्रतिक्षालयभन्दा बाहिर बस्ने यात्रुहरुको लागि पनि बस्नका लागि सिट, शुद्ध पानी र पानी पर्दा ओत लाग्ने स्थान सेड सहितको प्रतिक्षलयको समेत व्यवस्था गर्न लागिएको उनले बताए । 

यता, आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा सम्झौतामा भएअनुसार नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको यात्रु प्रतिक्षालयमा शुल्क लिएको बताउँछन् । उनी भन्छन्, ‘आईएमएस एयरपोर्ट सर्भिसेजले त्रिवि व्यवस्थापन विभागसँग ३० वर्षको लागि व्यवस्थापनको सम्झौता भएको छ । उक्त सम्झौतामा नै सुविधासम्पन्न प्रतिक्षालय बनाउने र शुल्क समेत लिन पाउने उल्लेख छ । सोहि अनुसार नै हामीले शुल्क लिएका हौं ।’

विश्वका अन्य विमानस्थलहरुमा यस्तो सुविधासम्पन्न यात्रु प्रतिक्षालय नभएको उनले जिकिर गरे । उनले भने, ‘हामीले यो प्रतिक्षालय निर्माण गर्नका लागि एक सय ४० करोड रुपैयाँ लगानी गरेका छौं । उक्त लगानी अबको २४ वर्षमा शुल्क नलिई कसरी उठ्छ ?’

यदि राज्यले यात्रुहरुलाई सोहि सुविधासम्पन्न प्रतिक्षालयमा बस्नका लागि निशुल्क दिन चाहान्छ भने आफ्नो लगानीको क्षतिपूर्ति दिए त्यहाबाट हट्न तयार रहेको अध्यक्ष मल्होत्राले बताए । उक्त यात्रु प्रतिक्षालयमा खानेपानीसहित एसीको पनि व्यवस्था रहेको उनले बताए । ‘विमानस्थलमा आफन्त लिन जाने व्यक्तिहरुको असुविधालाई मध्यनजर गर्दै हामीले सुविधासम्पन्न प्रतिक्षालय निर्माण गरेका हौं । त्यसमा बस्ने या नबस्ने यात्रुहरुको आफ्नो रोजाई हो ।’ 

प्रतिक्रिया दिनुहोस