
काठमाडौं । पछिल्ला केहि महिनायता नेपालको पर्यटकीय गतिविधिमा सुधार आएको छ । सन् २०२२ को जनवरी, फेब्रुअरी मार्च महिनामा नेपालमा ७८ हजार ७ सय ४७ जना पर्यटक नेपाल भित्रिएका छन् । यसमध्ये पनि गत मार्च महिनामा कोरोना महामारी पछिकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका हुन् ।
अध्यागमन विभागका अनुसार सन् २०२२ को मार्च महिनामा ४२ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस महिना हवाई मार्ग भएर कूल ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएका हुन् । अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए ।
यस वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिड १९ महामारीपछि सबैभन्दा बढी रहेको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले आर्थिकन्युज डटकमलाई बताए । उनी भन्छन्, ‘गत मार्च महिनामा नेपालमा पर्यटन भित्रिएको संख्या कोभिड पछिकै सर्वाधिक हो । यससंगै अहिले नेपालमा पर्यटक भित्रिनेको संख्या उल्लेख्य मात्रामा बढेको छ । यस अप्रिल महिनाको सुरुवातादेखि नै दैनिक दुई हजारको रेसियोमा पर्यटक नेपाल भित्रिरहेका छन् ।’
विभागका अनुसार गत मार्च महिनामा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । यस महिना भारतबाट १५ हजार १३ जना पर्यटक नेपाल आएका हुन् । त्यस्तै, गत मार्च महिनामा नै अमेरिकाबाट ४ हजार ८९८ जना, चीनबाट ४ हजार ३१ जना, युकेबाट ४ हजार २९ जना र बंगलादेशबाट दुई हजार १५२ जना पर्यटक नेपाल भित्रिएका छन् ।
महानिर्देशक भट्टराईका अनुसार नेपाल आउने पर्यटकहरुलाई कोरोना कारण विभिन्न नियमहरु लगाइएको थियो । सरकारले उक्त नियम बन्देजहरु खुल्ला तथा परिवर्तन गरेको छ । जसका कारण पनि नेपालमा पर्यटक भित्रिने क्रम बढेको हो । यससंगै अहिले पर्यटकिय सिजन भएकाले पनि यो संख्या बढ्दो रहेको छ । अहिले नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन् ।
अहिले पर्यटकहरु आउनेको संख्या बढ्संगै बुकिङ पनि बढिरहेको बताउँदै उनले भने, ‘लामो समयपछि नेपालमा भित्रिने पर्यटकको संख्यामा उल्लेख्य मात्रामा बढेको छ । यहि रेसियोमा पर्यटक आएमा नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य सुधार हुनेछ ।’
अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरी महिनामा १६ हजार ९७५ पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै, फेब्रुअरी महिनामा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । नेपाल भित्रिने पर्यटकको संख्या बढेसंगै होटल व्यवसायीहरु पनि उत्साहित बनेका छन् । कोरोनाका कारण लामो समयसम्म थला परेका होटल व्यवसाय क्षेत्रमा पछिल्लो केहि महिना चहलपहल बढेको हो । पछिल्ला केहि महिनायता नेपालमा पर्यटकहरु आउने बढेका कारण पाँच तारे होटलहरु भरिएका हुन थालेको होटल एशोसिएसन अफ नेपालका महासचिव साजन शाक्य स्वीकार्छन् ।
गत मार्च महिनादेखि पर्यटक भित्रिने क्रम बढेको बताउँदै महासचिव शाक्य भन्छन्, ‘गत मार्च महिनामा होटलहरु रुम ४० प्रतिशत भरिएका थिए । जसमा सबैजसो पर्यटक थिए । यसमध्ये पनि भारत, अमेरिका, बंगलादेश, युरोपियन देशका पर्यटकहरु धेरै रहेका थिए ।’
अप्रिल महिनाको शुरुवातदेखि नै होटलहरुमा पर्यटक भरिएको भएको उनको बताए । शाक्यले आर्थिक न्युजसंग भने, ‘यस अप्रिल महिनामा नेपालमा सञ्चालित पाँच तारे होटलहरुको रुम ७० प्रतिशतसम्म भरिएका छन् । आगामी जुन महिनासम्मका लागि होटलहरुको बुकिङ राम्रो रहेको छ ।’
प्रतिक्रिया दिनुहोस