aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

नेपालको मौसम पूर्वानुमान यसरी बन्दै छ भरपर्दो

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • बुधबार, २३ चैत्र २०७८
नेपालको मौसम पूर्वानुमान यसरी बन्दै छ भरपर्दो

काठमाडौं । हाल नेपालमा ७ सयभन्दा बढी मौसमी मापन केन्द्रहरु स्थापना भएका छन् । जल तथा मौसम पूर्वानुमान विभागका अनुसार देशभरि रहेका ७ सयभन्दा बढी मापन केन्द्रहरुबाट विभागले मौसमी अवस्थाको बारेमा जानकारी दिने गरेको छ ।  

जल तथा मौसम पूर्वानुमान विभागका सूचना अधिकारी रामप्रसाद अवस्थीका अनुसार मौसम पूर्वानुमानका लागि संख्यात्मक मौसम भविष्यवाणी मोडल प्रयोग हुने गरेको छ । उनी भन्छन्, ‘हामीले अहिले मौसम पूर्वानुमानका लागि विभिन्न संख्यात्मक मौसम भविष्यवाणी मोडलहरु प्रयोग गरेका छौं ।  अहिले प्रयोग भएको मौसम अनुसन्धान र पूर्वानुमान मोडेल (डब्लुआरएफ) मोडल हो । यो एउटा गणितिय मोडल हो । त्यसमा अवलोकन गरेका डाटाहरु राखेर सुपर कम्युटर प्रयोग गरेर पूर्वानुमान गरिन्छ । अहिलेको पूर्वानुमान ७२ घण्टाको मात्र छ ।’

मौसमको भाविष्यवाणीमा अहिले मुख्य रुपमा वर्षाको पूर्वानुमान नै रहेको छ । संख्यात्मक मौसम भविष्यवाणी मोडल अहिले परिक्षणको क्रममा रहेको छ । त्यसमा वर्षा वायु र तापक्रमको पूर्वानुमान हुन्छ, उनले भने । 

मौसम पूर्वानुमानमा विभिन्न प्यारामिटरमा रहेर वायुमण्लीय अवस्थाको विश्लेषण गर्नुपर्ने उनले बताए । अवस्थीले भने, ‘नेपालमा स्थापना भएका प्रविधिहरु रेडियसन हुन । जमिनको माथिल्लो भागको वायु, तापक्रम र प्रेसरको तथ्याङक संकलन गर्नका लागि प्रयोग हुन्छ । त्यसले ३० किलोमिटरसम्मको डाटा दिन्छ ।’

त्यस्तै, समग्र मध्य तथा सुदुरपश्चिमको मौसम गतिविधिको रेखदेख र अनुगमन गर्नका लागि सुर्खेत स्थित रानिमत्ता डाँडामा अर्को मौसम रडार स्टेशन पनि सञ्चालनमा ल्याएको उनले जानकारी दिए । उनले भने, ‘सुदुरपश्चिम क्षेत्रमा वर्षा र वाढीको पूर्वसूचना वैज्ञानिक र भरपर्दो बनाउन मौसम रडार सञ्चालनमा ल्याएका छौ । पाल्पा र उदयपुरमा पनि दुई वटा प्रविधिहरु निर्माणको चरणमा रहेका छन् ।’

‘२ सय किलोटिर वरिपरिको वायुमण्डलीय अवस्थाको बारेमा जानकारी दिने हुदा मौसम पूर्वानुमान गर्नका लागि सजिलो हुन्छ । छोटो समयमा हुने गड्याङगुडङ र चट्यानको मौसमबारे पूर्वानुमान गर्न रडारको उपकरण नै प्रयोग हुने गर्छ’, उनले सुनाए । 

उनका अनुसार मौसमी पूर्वानुमानमा एक महिना अगाडी नै वर्षाको मौसमको प्रकृतिबारे पूर्वानुमान गर्ने गरिन्छ । ‘सरदर वर्षा हुन्छ की, सरदरभन्दा बढी वर्षा हुन्छ । कुन अवस्थामा रहन्छ भन्ने बारे अलिकति विश्लेषण गरेर ऋतुगत पूर्वानुमान पनि गर्छौ । हामीले तीन प्रकारले मौसमको पूर्वानुमान गरिहेका छौै’, अवस्थीले बताए । 

पहिलेको तुलनामा अहिले मौसमको पूर्वानुमान महत्व र जिज्ञासा बढ्दै गएको उनी सुनाउँछन्, ‘उनी भन्छन्, ‘अहिले मौसमको पूर्वानुमानबारे सबैले बुझेको छ जस्तो लाग्छ । सामान्य नागरिकदेखि नीतिगत तहमा बस्ने मानिसहरुलाई पनि मौसमको पूर्वानुमान अथवा सूचनाहरु चाहिन्छ । पहिलेको तुलनामा अहिले मौसमको पूर्वानुमान महत्व र जिज्ञासा बढ्दै गइरहेको छ । सबैलाई चासोको विषय पनि हो । तर मौसम बारेको सूचना कुन हदसम्म्म पुगेको छ भन्ने भने अर्को प्रश्न नै बनेको छ ।’

‘हामीले पूर्वानमान गरेका सूचना व्यक्तिगत रुपमा सबैमा पुगेको छ की  छैन भन्ने विषयमा हामीले पनि विश्लेषण गर्नुपर्ने छ । तर कतिपय अवस्थामा भने जानकारी पुगेर पनि सूचनाको प्रयोग नगरेको पनि पाइन्छ’, उनले भने । 

उनका अनुसार नेपालमा मौसम पूर्वानुमानका लागि वायुमण्लीय अवस्थाको बारेमा थाहा पाउनुपर्छ । त्यसका लागि मौसमी अवलोकन पारामिटर नै मुख्य कुरा हो । हामीसँग ७ सयभन्दा बढी मौसमी मापन केन्द्रहरु रहेका छन् । ती केन्द्रको डाटाको आधारमा मौसमको पूर्वानुमान हुने गर्छ । 

मौसम एउटा देशमा मात्रै सिमित नहुने भएकाले क्षेत्रिय रुपमा पनि हेर्नुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘मौसम पूर्वानुमानका लागि भारत र चीनको तथ्याङक लगायत एसिया क्षेत्र र विश्वव्यापी सर्कुलेसन पनि चाहिन्छ । त्यसका लागि एउटा युएन एजेन्सी छ । उक्त एजेन्सी अनुसार विश्वभरिको मौसम नियमनका लागि लागि सम्झौता हुन्छ ।’ 

‘त्यसमा सबै राष्ट्रहरुले सहमति जनाएका हुन्छन् । दुई तीन घण्टामा डाटाहरु दिने पूर्वानुमानको पनि जानकारी दिने गर्छन् । त्यसकै आधारमा पनि हामीले मौसमको पूर्वानुमान गर्छौ । यसका साथै डाटाको आधारमा वायु, तापक्रम र प्रेसरको आधारमा मौसमको पूर्वानुमान गर्ने गर्छौ’, उनले भने ।

उनका अनुसार मौसम पूर्वानुमान गर्ने उपकरणहरु नेपालभरि रहेका छन् । हाइड्रोलोजिकल स्टेशनहरु पनि विभिन्न नदिनालाहरुमा २ सय वटा रहेका छन् । पहिले मानिसले नै नापेर गर्नुपर्ने अवस्था थियो । अहिले ३ सय वटा अटोमेसिनहरु रहेका छन् । त्यहाँबाट हरेक १०/१० मिनेटमा मौसम सम्बन्धी डाटा र पानीको तहको डाटा आउने गर्छ । त्यसैलाई विश्लेषण गरेर काम गर्छौ’, उनले सुनाए । 

अवस्थीका अनुसार वर्षा, तापक्रम र वायुको तीन दिने पूर्वानुमान हुने गर्छ । ‘बाढी पूर्वानुमानको हकमा पनि ७२ घण्टा अगाडी नै नदीको सतह बढ्ने खतरा छ । बाढी आउने छ भन्ने सूचनाहरु दिने गर्छौ । बाढी जोखिम क्षेत्रहरु पहिचान गरेर त्यहाँ बस्ने मानिसहरुलाई नेपाल टेलिकम र एनसेएलको नम्बरका सबैलाई एसएमएस पनि पठाउने गरको छौ । ११५५ नम्बरको टोल फ्रि नम्बर पनि रहेको छ । यसका साथै मौसम पूर्वानुमान महाशाखाबाट पनि सूचना लिन सकिने छ’, उनले सुनाए । 

नेपालमा मौसम पूर्वानुमानलाई पहिलेको तुलनामा विस्वसनीय मान्दै गएको उनले दावी छ । उनी भन्छन्, ‘नेपाल एउटा विकोसोन्मुख देश हो । पहिलेको तुलनामा अहिले धेरै कुरामा सुविधा सम्पन्न भएका छौै । पहिलेको मौसम पूर्वानुमानको प्रविधिको तुलनामा अहिले आधुनिकिकरणमा पनि विकास र विस्तार भएका कारणले गर्दा मौसम पूर्वानुमानलाई विस्वसनीय मान्न थालेका छन् ।’ 

‘पहिले मान्छे आफै बसेर चार्टरले विश्लेषण गरेर बस्नुपर्ने अवस्था थियो भने अहिले सुपर कम्प्युटरले डाटा विश्लेषण गर्ने गर्छ । नेपालमा मौसम पुर्वानुमानका २१ वटा स्टेशनहरु पनि रहेका छन् । लार्ज स्केलका डाटा ३/३ घण्टामा लिने गर्छौ । पहिले फोन र टेलिफ्याक्सको प्रविधि थियो । ती तेटवर्कले काम गरेन भने डाटा पाइदैनथ्यो । अहिले तीन/तीन घण्टामा अवलोकन गरेको डाटा हामीसँग आउँछ । इन्टरनेटको पहुँच भएको छ । १०/१० मिनेटको डाटा आउँछ । जसले गर्दा बीचमा देखिएको मौसम प्रणालीको पनि जानकारी हुने भएकाले पनि मौसम पूर्वानुमानको महत्व अहिले बढेको छ’, उनले थपे । 

मौसम पूर्वानुमानमा विभाग अहिले कृषि क्षेत्रमा नै केन्द्रीत रहेको उनी बताउँछन् । उनले भने, ‘हामीले मु्ख्य रुपमा कृषिलाई नै लक्षित गरेका छौ । कृषि मापन शाखा छुट्टै छ । मौसम पूर्वानुमान हवाई, कृषि र यायातात लगायत सबैका लागि हुने गर्छ । कृषिका लागि आम मानिसका लागि भन्दा फरक जानकारी चाहिन्छ ।’

‘कृषिका लागि गएको हप्ता के भयो, यो हप्ता के हुन्छ  र आगामी हप्तामा के हुन्छ ? भन्ने जानकारी चाहिन्छ । यसका लागि सात दिने पूर्वानुमानको रिपोर्ट डाटा बनाउँछौ । कृषिका लागि मौसमको मात्र सूचनाले हुँदैन मौसमको सूचनामा आधारित रहेर कृषि विज्ञहरुले नेपाल कृषि अनुसन्धान केन्द्र र जल तथा मौसम पूर्वानुमान महाशाखासँग समलेर हरेक हप्ता कृषि सल्लाह र बुलेटिन निकाल्ने गरेका छन् । कृषि सल्लाह र बुलेटिनबाट नै जानकारी दिने गरेका छौ’, उनले सुनाए ।  

उनका अनुसार कृषकसम्म नै जानकारी पुर्याउनका लागि पहिले जिल्लामा कृषि विकास कार्यालय थियो । तर अहिले प्रदेश र स्थानीय तह गएपछि कृषकलाई जानकारी दिन कृषि ज्ञान केन्द्र रहेको छ । तर जानकारी कति जान्छ भनेर संघीय सरकारले प्रदेश सरकारलाई नियन्त्रण गर्न सक्दैन । कृषि ज्ञान केन्द क्रियाशिल हुन नसकेको अवस्था छ, उनले भने । 

प्राकृतिक रुपमा हुने जोखिममा नेपाल पनि जोखिम कै अवस्थामा रहेको उनी सुनाउँछन् उनी भन्छन्, ‘भौगोलिक बनोटका आधारमा पनि नेपाल संवेदनशिल नै रहेको छ । कमजोर भु–बनोट पहाड र हिमालहरु रहेका छन् । ग्रामिण भेग पनि धेरै रहेको छ । हिमपातका घटनाहरु पनि बढदै गएका कारण जोखिम पहिलेको तुलनामा बढेको अवस्था छ ।’

मौसम पूर्वानुमानका प्रविधिहरुलाई आधुनिकिकरण गर्दै लैजाने विभागको योजना रहेको उनले सुनाए । ‘हिमाली क्षेत्रहरुमा स्टेशन नेटवर्कहरु कम छ । हिमाली क्षेत्र जलवायु परिवर्तनका कारणले बढी संवेदनशिल भएको छ । तापक्रम बढ्दै गएका कारण हिमताल फुट्ने जोखिम छ । त्यसका लागि आधुनिक उपकरणहरु जडान गरेर नेटवर्क बनाउने योजना रहेको छ’, उनले सुनाए ।
  
उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय हवाइ मार्गहरु पनि बढिरहेका छन् । त्यसलाई पनि लक्षित गरेर सेवा प्रदान गर्ने । मौसम पूर्वानुमानको सेवा नभएका आन्तरिक हवाइमार्गहरुमा पनि सेवा विस्तार गर्ने रहेको छ । मौसम पूर्वानुमानको सूचनालाई कसरी प्रसार गर्ने र उक्त सूचना प्रसार गर्न स्थानीय तहसम्म कसरी पुग्ने भन्ने बारे लागि परेका छौ । तीन दिने मौसमी पूर्वानुमानलाई सात दिने पूर्वानुमान बनाउने योजनामा पनि छौ ।’ 
 

प्रतिक्रिया दिनुहोस