aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

‘हिमाल चढ्दा पाइला पाइलामा जोखिम छ, कहिले के हुन्छ थाहा नै हुँदैन’

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • शुक्रबार, २५ चैत्र २०७८
‘हिमाल चढ्दा पाइला पाइलामा जोखिम छ, कहिले के हुन्छ थाहा नै हुँदैन’

काठमाडौं । सोलुखुम्बुमा जन्मेका चतुर तामाङको बाल्यकाल घाँस दाउरा गर्दैै बित्यो । सामान्य परिवारमा जन्मिएका तामाङले एसएलसीसम्मको अध्ययन गाउँमा नै पढे । त्यसपछिको पढाइका लागि भने उनलाई आर्थिक अभाव भयो । काम खोज्दै उनी काठमाडौं आए । 

उनले सुरुमा पर्वतारोहणमा जानेहरुको भारी बोक्ने काम गरे । भारी बोक्दै विस्तारै पर्वतारोहण यात्रामा उनले अरु कामहरु पनि सिक्दै गए । उनी भन्छन्, ‘काम खोज्दै गर्दा पहिले त पर्वतारोहणमा भारी बोक्दै हिँडियो । एक/दुई पटक भारी बोकेपछि अरु कामहरु पनि सिक्दै गए । किचनको काम पनि गरे ।’

शुरुमा काम पाउन समस्या रहेको उनले बताए । मान्छे चिनेन भने कामै नपाइने अबस्थाका शिकार तामाङ पनि पीडित भए । एक दिन उनले पर्वतारोहण यात्रामा शेर्पा बनेर खाना पकाउने टेन्टहरु टाङने, विदेशी पर्यटकहरुसँग हिड्नुपर्ने काम पाए । एक वर्षसम्म उनले त्यही काम गरे । काम गदै जाँदा उनले अंग्रेजी भाषा पनि सिके । 

त्यसपछि उनले हिमालयन ट्रेकिङ कम्पनीमा सात वर्ष काम गरे । त्यति बेलाको समयमा नेपालमा अक्टोबरदेखि मार्च,अप्रिल र मेसम्म मात्र ट्रेकिङको चहलपहलको सिजन हुने भएकाले त्यति वेलासम्म मात्रै कामको चहलपहल धेरै हुन्थ्यो । वर्षाको समयमा पानी पर्ने र काम पनि नहुने हुँदा उनी काम खोज्दै भारतको लदाखसम्म पुग्थे । 

उनी भन्छन्, ‘लदाखमा ५ हजार मिटर माथिको हिमालहरुमा पर्वतारोहण गर्नुपर्र्ने थियो । त्यसबेलादेखि मलाई हिमालमा आफू फिट रहेछु भन्ने महसुस पनि भयो । पर्वतारोहणमा गएका टुरिस्ट र त्यहाँका मान्छेहरुले तिमी हिमालमा फिट हुन्छौ भने र उनीहरुले नै माउन्टेनियरिन कोर्स गर्न लगाए । उक्त कोर्स गर्नका लागि सिफारिस पत्र पनि लेखेर दिए । त्यसपछि २००१ देखि २००२ सम्म दार्जेलिङमा आधारभुत र माउन्टेनियरिन कोर्स गरे र हिमाल चढ्न थाले ।’

सुरुका दिनहरुमा पर्वतारोहण तिर लागेकोले उनलाई हिमाल देख्दा कसरी चढ्ने होला भन्ने जिग्यासा हुने गथ्र्याे । उनी भन्छन्, ‘हिमालको टुप्पोमा पुग्दा कस्तो हुन्छ होला भन्ने लाग्थ्यो । हिमाल चढ्ने इच्छा त थियो ।’ उनले त्यो इच्छा पुरा गर्ने अठोट लिए । नभन्दै तामाङले ४ हजार मिटरको दुई÷तिन वटा हिमाल आरोहण गरे । 

उनको पर्वतारोहण यात्रा सन् १९९५ सालबाट सुरु भएको हो । त्यसबेला उनी १९ वर्षका थिए । सुरुमा उनले भारतको ६ हजार मिटरभन्दा माथिका स्तोक खांग्री, काङ यान्छे, यलोङनोङ, छोमोथाङ, (कान्जी पिक), सम्शेर र लुङसेर खांग्री, पर्यलुङगी  हिमाल आरोहण गरे । उनी भन्छन्, ‘मेरो पर्वतारोहणको यात्रा भारतबाट नै सुरु भएको हो । भारतका ती हिमालहरु आरोहण गरेपछि आधारभूत कोर्स गरे । आधारभुत कोर्स सिकेपछि भने मैले गाइडिङ पनि गर्न थाले । यससँगै २००२ मा नेपालको मेरापिक हिमाल आरोहण गरे ।’

उनले यो क्षेत्रमा काम गरेको २७ वर्ष भएको छ । यस अवधिमा उनले एउटै हिमाल १०६ पटकसम्म पनि आरोहण गरेका छन् । युरोपको सबैभन्दा ठूलो माउन्ट एल्ब्रस हिमालमा १०६ पटक आरोहण गरेको उनी सुनाउँछन् । हालसम्म उनले नेपालको सगरमाथा हिमाल ५ पटक, ल्होत्से २ पटक, कन्चनजंघा, चोयु, मनास्लु ७ पटक, अमाडब्लम ३ पटक, आइसल्यान्ड पिक १६ पटक, मेरा पिक १७ पटक आरोहण गरेका छन् । यस बाहेकका स–साना हिमालहरुमा पनि उनले धेरै पटक आरोहण गरेका छन् । 

हिमाल आरोहणमा नेपालको तुलनामा विदेशको हिमालहरुमा सुविधा धेरै हुने गरेको उनी बताउँछन् । तामाङ भन्छन्, ‘नेपालमा हिमालको फेदमा केवलकारहरु छैनन । हिउँमा कुद्ने टगहरु हुँदैनन । यहाँ आधार शिविरसम्म सबै भारी आफैले बोक्नुपर्छ । तर, विदेशमा  आधार शिविरबाट भारी गाइडहरुले बोकिदिन्छन् । विदेशमा त्यति धेरै भारी बोक्नु पर्दैन ।’

सुरुवाती दिनहरुमा हिमाल आरोहण गर्ने उनको सोख भएपनि अहिले पेशा बनिसकेको छ ।सुरुमा त हिमाल आरोहण गर्ने सोख थियो अहिले पेशा भयो । ६ हजार भन्दामाथिका धेरै हिमाल पनि आरोहण गरेको तामाङ सुनाउँछन । उनले भने, ‘सगरमाथा पनि आरोहण गरेर यो कामलाई छोड्छु भन्ने योजना थियो । तर पछि छोड्न सकिन अहिले निरन्तर रुपमा काम गरिरहेको छु । धेरै मान्छेलाई टुप्पोमा पुर्याइयो । मान्छेहरु खुशी हुन्छन् ।’

उनका अनुसार पर्वतारोहणमा काम गर्दा धेरै जोखिम छ । यस क्षेत्रमा भाषाले गर्दा पनि समस्या हुने गर्छ । रसियन भाषा बोल्नेहरुसँग धेरै आरोहण गर्नुपर्ने हुन्छ । आफुलाई रसियन भाषा आँउने भएकाले उनीहरुलाई आरोहण गराउँदा आफू हिमालको चुचुरोसम्म नै जाने गरेको उनले बताए । ‘उनीहरुले सुरुमा नै माथिसम्म जानी की नजाने भनेर सोध्छन् । आधार शिविरमा नै बस्न मन लाग्दैन । उनीहरु सँगै माथिसम्म नै जान्छु’, उनले सुनाए । 

नेपालमा पर्वतारोहणको काम गरेर धेरैले रोजगारी पाएका छन् । एकजना विदेशी आयो भने नेपाललाई नै फाइदा हुने हो । ट्रेकिङ क्षेत्रको भविष्य राम्रो छ भनेर यस क्षेत्रमा रोजगारी खोज्नेहरु पनि छन् । हिमाल आरोहण गर्नेहरुको आधार शिविरदेखि चुचुरोसम्म अक्सिजन सहितका सामानहरु भएका झोला बोक्ने छुट्टै मान्छे आवश्यक पर्छ । जसमा नेपालीले काम गर्ने अवसर पाउँछन् । 

हिमाल आरोहणमा विदेशका हिमालहरुमा भन्दा नेपालको हिमालमा सुविधा हुने गरेको उनी बताउँछन् । ‘नेपालको हिमालमा डोरी, भर्याङ सबै राखेर बाटो तयार पारिदिन्छ ।  तर विदेशको त्यस्तो हुँदैन हिमाल चढ्न गयो भने एक जनाले बनाएको बाटोबाट डोरी निकालेर पर्खिनुपर्ने हुन्छ । नेपालमा जस्तो सुविधा छैन’, उनले सुनाए । 

हिमाल आरोहणको क्रममा सबै देशका नागरिकहरुसँग काम गरेको उनको अनुभव छ ।  ‘सुरुवाती दिनहरुमा अमेरिकन, अष्ट्रेलियन र ब्रिटिसहरुसँग धेरै काम गरे । त्यसपछि जर्मन, लगायत धेरै देशका नागरिकहरुसँग काम गरेको छु । पछिल्लो चरणमा नेपालका हिमालमा भने रसियन र भारतीय बढी छन् । एल्ब्रस हिमालमा भने सबै देशका नागरिकहरु आउँछन् ।’

हिमाल आरोहण गर्ने क्रममा चुनौतीहरु धेरै नै आइपर्छन् । दुर्घटना नभइकन सबै समिट गरेर आए भने राम्रो हो तर बीचमा कोहीकाे मृत्यु भयाे भने नराम्रो लाग्ने गरेको उनले बताए । उनले भने, ‘काम गरेको २७ वर्षको दौरानमा २०१९ मा भने ल्होत्सेको आरोहण गरेर आउने क्रममा एक जनालाई अक्सिजनको अभाव भयो । क्याम्प ४ मा आएपछि उनको मृत्यु भयो । उनी विदेशी नागरिक थिए । मेरो यात्राको सबैभन्दा नराम्रो अनुभव हो यो ।’

नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा लागि आफुुले धेरै नै योगदान गरेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘नेपालको पर्यटन क्षेत्रका लागि मैले सरकारलाई कर तिरेको छु । एक सयभन्दा बढीलाई रोजगारी दिएको छ । एउटा टुरिष्ट आउँदा होटलदेखि लिएर हिमालसम्म सबैले रोजगारी पाएका छन् ।’ 

उनको आफ्नै चतुर्स ट्रेक एण्ड एक्स्पिडिसन कम्पनी छ । उक्त कम्पनी १२ जना कामदारहरु रहेका छन् । हिमाल आरोहणका लागि ठूलो संख्यामा विदेशीहरु आएको बेला ६० जना सम्म काम गर्ने मान्छे हुन्छ । उनको कम्पनीबाट वर्षमा ५० जनाले रोजगारी पाएका छन् । भारी बोक्नेहरुले पनि काम पाएका छन् । उनका अनुसार नेपालमा वार्षिक रुपमा ५० जना विदेशीहरु उनकोे कम्पनी मार्फत हिमाल आरोहण गर्छन् ।  रसियाको हिमाल आरोहणका लागि १५० भन्दा बढी पर्यटकहरु आउने गर्छन् । 

नेपालको हिमाल आरोहणको अफसिजनमा उनी रसिया जान्छन् । रसियामा पनि उनले धेरैलाई पर्वतारोहण क्षेत्रमा रोजगारी दिएका छन् । नेपाल र रसियाको हिमाल आरोहणको सिजन फरक फरक हुने भएकाले उनले दुई तिर काम गरिरहेका छन् । नेपालमा वर्ष भरि नै हिमाल आरोहण नहुने भएकाले उनी आधा समय रसियामा पर्वतारोहणको काम गर्छन् । सेम्टेम्बरदेखि नोभेम्बरसम्म उनी नेपालमा हुन्छन् भने नोभेम्बरदेखि मार्चसम्म रसियाको एल्ब्रस हिमालमा र अप्रिलदेखि जुनसम्म नेपालमा हुन्छन् । 

‘नेपालको हिमालमा वर्षाको समयमा आरोहण गर्न सकिदैन । पानी पर्ने, हुस्सु लाग्ने पहिरो आउने गर्छ । त्यो समयमा पर्वतारोही कि पाकिस्तान जानु पर्यो की तिब्बत तीर जानु पर्यो । नेपालमा त काम नै हुँदैन । त्यसैले म यो बेला रसिया जान्छु’, उनले भने । 

नेपालमा धेरै जसो हिमाल आरोहणमा गाइड गर्नेहरु शेर्पा र तामाङ समूदायका मानिसहरु हुने गर्छन् । शेर्पा र तामाङ समुदायका मानिसहरु माथिल्लो भेगमा जन्मिएको र शारीरिक रुपमा पनि उनीहरु दह्रो हुने भएकाले धेरै जसो हिमाल आरोहणमा गाइड गर्नेहरु यस  समुदायका हुने गरेको उनको भनाइ छ । 

उनी भन्छन्, ‘हिमालमा भारी बोक्नका लागि दह्रो मान्छे हुनुपर्यो । उकालो र ओरालो हिड्न सक्नुपर्यो । हिमाली भेग र गाउँघरमा जन्मेका मान्छेहरु बढी तगडा र बलियो हुने भएकाले हिमालमा लागेका हुन् । अरुलाई त्यस्तो बानी हुँदैन ।’ उनका अनुसार शेर्पा समुदायहरु जन्मेको ठाउँ नै ४ हजार मिटरमाथिको हुन्छ । त्यसैले उनीहरुलाई ६ हजार, ८ हजार मिटर माथिका हिमालमा जान पनि गाह्रो हुँदैन । अरुले पनि ट्रेनिङ लिएर गर्न चाहेमा गर्न सक्छन् । तर संघर्ष भने गर्नुपर्छ । 

एक हप्तामा नै सगरमाथा र ल्होत्से हिमाल आरोहण गरेका उनी छैटौ पटक सगरमाथा आरोहण गर्ने योजना रहेको उनले बताए । उनले भने, ‘२०१८ मे १५ मा ल्होत्से आरोहण गरेर आधार शिविर आए । र अर्को दिन सगरमाथा आरोहणका लागि गए । एक हप्तामा नै सगरमाथा र ल्होत्से हिमाल आरोहण गरे । हिमाल आरोहणका लागि सुरुवाती दिनहरुमा शारीरिक अभ्यासहरु गरे पनि २०१३ देखि छोडिदिएको थिए । छैटौ पटक सगरमाथा आरोहण गर्ने योजना छ ।’

आफ्नो ज्ञान र अनुभव नयाँ पिडिहरुलाइ बाँड्ने र सिकाउने उनको योजना छ । २०१२  मा पहिलो पटक सगरमाथा आरोहण गरेका उनी भन्छन्, ‘हिमाल चढ्न पाइला पाइलामा जोखिम छ । कहिले के हुन्छ भन्ने थाहा नै हुँदैन ।’

राजनीतिक अस्थिरताले पनि नेपालको पर्यटन क्षेत्र फस्टाउन नसकेको उनको भनाइ छ । उनी भन्छन्, ‘पर्यटन क्षेत्रमा धेरै नै सम्भावना भएको देश राजनीतिक अस्थिरताले पनि नेपालको पर्यटन क्षेत्र फस्टाउन सकेको छैन । कोरोनाले गर्दा पनि झन् पछि परेको छ । सरकारले पर्यटनको क्षेत्रलाई उकास्न लागि खाने पानी, विद्युत र सडक लगायत पूर्वाधारको क्षेत्रमा विकास गर्नु पर्ने उनको सुझाव छ । 

‘नेपालमा पर्यटन क्षेत्रको भविष्य राम्रो छ । देशको अर्थतन्त्रलाई सुधार्ने पर्यटन पनि तेस्रो स्थानमा छ । काठमाडौंबाट निस्किएपछि हिमालमा जाँदा कति आनन्द हुन्छ  । पूर्वाधारका क्षेत्रमा सुधार गर्न सके पर्यटन क्षेत्रले देशको अर्थतन्त्रलाई माथि उकास्न सक्छ ’, उनले भने । 
 

प्रतिक्रिया दिनुहोस