aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तंग्रिदै पर्यटन व्यवसाय, चार महिनामा १ लाखबढी पर्यटक भित्रिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० बैशाख २०७९
तंग्रिदै पर्यटन व्यवसाय, चार महिनामा १ लाखबढी पर्यटक भित्रिए

काठमाडौं । पछिल्लो केहि महिनायता नेपालको पर्यटकीय गतिविधिमा सुधार आएको छ । सन् २०२२ को चार महिनामा एक लाख भन्दाबढी पर्यटक नेपाल भित्रिएका हुन् ।  

अध्यागमन विभागको तथ्याङ अनुसार सन् २०२२ को सुरुवाती चार महिनामा एक लाख ३७ हजार ९५ पर्यटक नेपाल भित्रिएका छन् । जनवरी महिनामा १६ हजार ९७५ पर्यटक नेपाल भित्रिएका तथ्यांकमा उल्लेख छ । दोस्रो महिना पर्यटक आउनेक्रम बढेको देखिन्छ । जनवरीको तुलनामा फेब्रुअरी तीन हजार भन्दा बढी संख्यामा पर्यटक नेपाल आएका छन् । यस महिनामा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।   

सन् २०२२ का अप्रिल महिनामा कोरोना महामारी पछिकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका छन् । अप्रिल महिनामा हवाई मार्ग भएर कूल ५८ हजार ३४८ जना पर्यटक नेपाल भित्रिएका हुन् । अप्रिल महिनामा पर्यटक भित्रिने संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले बढी हो । सन् २०२१ को अप्रिल महिनामा २२ हजार ४५० पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

अप्रिलपछि सबैभन्दाबढी पर्यटक भित्रिएको अर्को महिना मार्च रहेको छ । यस महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका छन् । यसमध्ये पनि सबैभन्दा बढी भारतबाट पर्यटक आएको तथ्यांकमा उल्लेख छ । जहाँबाट १५ हजार १३ जना पर्यटक नेपाल आएका छन् । 

पर्यटक भित्रिएको तंथ्याङक हेर्दा कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र तङ्ग्रिँदै गएको देखिन्छ । पछिल्ला दिनमा पर्यटन क्षेत्र चलायमान बनेको छ भने पर्यटकीय गतिविधि पनि बढिरहेका छन् । यसलाई पुष्टि गर्ने दरिलो आधार भनेकै पर्यटक आगमनको आँकडा हो ।    
 

प्रतिक्रिया दिनुहोस