aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बुद्धजयन्ती मनाउने तयारी पूरा, अन्तर्राष्ट्रिय ध्यान केन्द्रको उद्घाटन प्रधानमन्त्रीले गर्ने

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • बुधबार, २८ बैशाख २०७९
बुद्धजयन्ती मनाउने तयारी पूरा, अन्तर्राष्ट्रिय ध्यान केन्द्रको उद्घाटन प्रधानमन्त्रीले गर्ने

भैरहवा । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माण कार्य सम्पन्न भएको छ । ३८ हजार वर्गमिटरमा फैलिएको उक्त ध्यान केन्द्र सर्कुलर डोम सेट शैलीमा निर्माण भएको छ । ध्यान केन्द्रको बाहिरी परिसरमा गौतमबुद्धका मुर्तिहरुले सजाइएको छ भने मुल गेटको दुवैतर्फ पोखरी निर्माण गरिएको छ । 

पाँच हजार जना अट्ने ध्यान केन्द्रको चारैतिर सेन्सर ढोकाहरुको व्यवस्था, साउड प्रुफ, तापक्रम मेन्टिनेन्स, प्रयाप्त प्रकाशको व्यवस्था मिलाइएको छ । २५६६ औं बुद्धजयन्तिको अवसरमा उद्घाटन गरिने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको निर्माण तथा रङरोधनको काम अन्तिम चरणमा पुगेको छ । पाँच हजार जना अट्ने ध्यान केन्द्रको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको छ । 

आगामी जेठ २ गते बुद्धजन्तिको अवसरमा ध्यान केन्द्रको उद्घाटनको लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नागरिक पर्यटन, संस्कृति तथा उड्डयन मन्त्री प्रेमबहादुर आले, गृहमन्त्री बालकृष्ण खाड, भिक्षुभिक्षुणी, राज्यका उच्च पदस्थ व्यक्तित्वको उपस्थिति रहेने लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनीमा २५६६ औं बुद्धजयन्तिको अवसर पारेर छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तेस्रो मुलुकबाट भिक्षु भिक्षुणी आउने कार्यक्रम रहेको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वदेश तथा विदेशका  उच्च पदस्थ व्यक्तिहरु आउने कार्यक्रम रहेको बताए । जेठ २ गते बिहान ८ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे पश्चात उक्त ध्यान केन्द्रमा बुद्धजयन्ति तथा लुम्बिनी दिवस २०७९ मनाउने कार्यक्रम रहेको शाक्यले बताए । विश्वमा कोभिड १९ को प्रभाव अझै नसकिएकोले बौद्ध सम्मेलय यस वर्ष गर्न नसकिएको शाक्यले बताए ।

बुद्धजयन्ति कार्यक्रम सधै लुम्बिनीमा मात्रै सिमित भयो भन्ने गुनासाहरु आउने गरेकोले यस पटक गौतमबुद्धको घर कपिलवस्तु तिलौराकोट र मवली रामग्राम नवलपरासीमा पनि विशेष पुजा आजा सहितको कार्यक्रम तय गरिएको विकास कोषका व्यवस्थापन महाशाखा प्रमुख ज्ञानिन राईले बताए ।

विगत २ वर्ष देखि कोभिड १९ का कारण मनाउन नसकिएको बुद्ध पूर्णिमा यस पटक भव्य रुपमा मनाउन लागिएकोले नेपाल र भारतका उच्चपदस्थ व्यक्ति,भिक्षु, भिक्षुणी र पत्रकारको उपस्थिति रहेने प्रचार प्रसार संयोजक सिद्धिचरण भट्टराईले बताए । बुद्धजयन्ति सफल पार्न विभिन्न उपसमिति बनाइएको छ । सबै उपसमितिले आफ्नो जिम्मेवारी लिइ सकेकोले कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न हुने संयोजक भट्टराईले विश्वास लिए ।

अन्तराष्ट्रिय ध्यान केन्द्र ४० ओटा आरसिसि पिल्लर, मेटल ट्रस्ट स्टक्चर, दुई मिटर चौडाइको भित्र बाहिर गर्ने ढोका लगाइएको  छ । ध्यान केन्द्रमा रोलर पार्टिसनको व्यवस्था गरिएकोले आवश्यकता अनुसार ५ सय, १ हजार,२ हजार र ३ हजार जना एकै पटकमा बस्न र ध्यान गर्न सकिने व्यवस्था रहेकोछ । यस ध्यान केन्द्रको डिजाइनलाई शान्तिको प्रतिक डिजाइन पनि भन्ने गरिन्छ । अन्तर्राष्ट्रिय बौद्ध सभाहलमा ध्यान गर्दा आनन्दको अनुभूति प्रदान होस भनी ध्यान केन्द्रको छानो गोलाकार र रुफ इलिभेसनमा डिजाइन गरिहको छ । भुइ र पिल्लरहरुमा ढलानपछि मोजाइक प्रयोग गरिएको छ । 

प्रतिक्रिया दिनुहोस