
एजेन्सी । भारतका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले सस्तो मूल्यमा लग्जरी घडी किन्ने विषयमा १ करोड ६३ लाख रुपैयाँ गुमाएका छन् । उनलाई धोका दिने हरियाणाका पूर्व क्रिकेटर मृणाक सिंह हुन् । व्यापारीसँग ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा मृनाक यसअघि मुम्बईको आर्थर रोड जेलमा थुनिएका थिए ।
रिपोर्टका अनुसार मृणाक सिंहले ऋषभ पन्तलाई करोडौंको महँगो घडी सस्तोमा दिने प्रलोभनमा फँसाएका थिए । ऋषभले फ्रान्क मुलर भ्यानगार्ड सिरिजको क्रेजी कलर वाच ३६ लाख २५ हजार रुपैयाँ भारुमा र रिचर्ड मिले वाच ६२ लाख ६० हजार रुपैयाँमा किन्न चाहेका थिए। यसका लागि उनले अग्रिम भुक्तानी समेत गरेका थिए । यस विषयमा ऋषभ पन्तसँगै उनका म्यानेजर पुनीत सोलंकीले पनि मृणाकविरुद्ध ठगीको मुद्दा दायर गरेका छन् । सोलंकीका अनुसार मृणाकले बाउन्स चेकमार्फत ठगी गरेको हो ।
ऋषभ पन्तको उजुरी अनुसार, मृणाक सिंहले सन् २०२१ को जनवरीमा सस्तो मूल्यमा महँगो लग्जरी घडी उपलब्ध गराइदिने भनी ठगी गरेको थियो। मृणाकले पन्तलाई लग्जरी घडी, झोला र गरगहना किनबेचको व्यवसाय सुरु गरेको भन्दै विश्वासमा लिएर आफूबाट सामान किनेका अन्य क्रिकेटरको पनि उल्लेख गरेको उजुरीमा उल्लेख छ ।
मृणाकले ऋषभ पन्त र उनको प्रबन्धकलाई उनीहरूलाई लग्जरी घडी र अन्य चीजहरू धेरै सस्तो दरमा पाउन सक्ने बताउँछन्। घडीको अग्रिम भुक्तानी बाहेक पन्तले मृणाकलाई करिब ६६ लाख रुपैयाँ बराबरका विलासी सामान र गरगहना पनि पुनः बिक्रीका लागि दिएका थिए ।
हरियाणाका पूर्व क्रिकेटर मृणाकले यसअघि पनि ठगी गरेका थिए । यस महिनाको सुरुमा, उनी एक व्यापारीलाई ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका थिए र मुम्बईको आर्थर रोड जेलमा छन्। उनीमाथि फिल्म निर्देशक र कैयौं होटललाई ठगी गरेको आरोप पनि लागेको छ ।
प्रतिक्रिया दिनुहोस