
एजेन्सी । भारतको दोस्रो ठूलो आईटी कम्पनी इन्फोसिसका सीईओ सलिल पारेखको तलबमा यो वर्ष ठूलो वृद्धि भएको छ । सलिल पारेखको तलब प्याकेज वार्षिक ४९ करोडबाट बढेर ७१.०२ करोड भारु पुगेको छ । पारेखले तलबमा ४३ प्रतिशत वृद्धि पाएका छन् ।
सीईओको तलब बृद्धि गर्दै सफ्टवेयर कम्पनीले सलिलको नेतृत्वमा इन्फोसिसले ठूलो बृद्धि गरेको बताएको छ । सलिल पारेखको कार्यकाल ५ वर्ष थपिएको घोषणापछि उनको तलब वृद्धिको यो निर्णय भएको हो ।
इन्फोसिसले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा प्रमुख कार्यकारी अधिकृत सलिल पारेखको तलब वृद्धि भएको जानकारी दिइएको छ । इन्फोसिसले हालै सलिल पारेखलाई आगामी ५ वर्षका लागि प्रबन्ध निर्देशक (एमडी) र सीईओ पदमा पुनः नियुक्त गरेको छ। सलिल पारेखको नयाँ कार्यकाल जुलाई १, २०२२ देखि मार्च ३१, २०२७ सम्म चल्नेछ ।
सलिल पारेखसँग आईटी उद्योगमा काम गर्ने ३० वर्षभन्दा बढीको अनुभव छ । सलिल पारेखले जनवरी २०१८ मा इन्फोसिसको प्रबन्ध निर्देशक र सीईओको पदभार ग्रहण गरे । इन्फोसिसमा आबद्ध हुनुअघि सलिल पारेख क्यापजेमिनीसँग २५ वर्षसम्म आबद्ध थिए ।
इन्फोसिसले गत महिना मात्र चौथो क्वाटरको नतिजा प्रस्तुत गरेको थियो। कम्पनीले चौथो त्रैमासमा रु ५,६८६ करोड नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो । तर, तेस्रो त्रैमासिकको तुलनामा चौथो त्रैमासमा कम्पनीको नाफा २ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस